केशव राना क्षेत्री । कोहलपुर ।
कीराका लागि बनाइएको ठाउँलाई ‘पाँचतारे कीराहरूको होटेल’ भन्ने गरिएको छ । यहाँ होटेलमा जस्तै स्विमिङ पुल, डिलक्स, स्विटरुम, स्टेसन, क्याबिन, झुलाहरूको व्यवस्था गरिएको छ । हामीले पशुपालन गरेको देख्दै आएका छौँ ।
कतिपयले त आफैँले पनि पशुपालन गरेका छौँ । पन्छी पालन पनि नयाँ होइन । तर कीरापालन भने कमैले सुनेको हुनुपर्छ । त्यही पनि सुविधासम्पन्न वासस्थान बनाएर । हो, तपाईंका लागि यो विषय नयाँ हुन सक्छ । अनि मनमा प्रश्न उठ्न सक्छ, ‘कीरा पनि पालिन्छ र ?’ पालिन्छ । त्यसरी घर बनाएर पालिएका कीरा हेर्न बाँकेको गाभर भ्याली पुग्नुपर्छ ।
यहाँ कीराका लागि चाहिने हरेक किसिमको वातावरण तयार पारिएको छ । सुविधासम्पन्न घर, स्विमिङ पुल, झुलालगायत पूर्वाधार बनाइएका छन् । जसको मालिक हुन्, कृष्ण चौधरी । उनी भन्छन्, ‘हामीले यसलाई कीराहरूको पाँचतारे होटेल भन्ने गरेका छौँ ।’
उनले भनेजस्तै यहाँ कीराहरूलाई बस्ने राम्रो व्यवस्था गरिएको छ । होटेलमा जस्तै चौधरीले पनि कीराहरू बस्ने ठाउँलाई डिलक्स रुम, स्विट रुमजस्ता नाम दिएका छन् । ‘कीरा पनि स्विमिङ पुल, डिलक्स, स्विट रुम, स्टेसन, क्याबिन, झुलालगायतमा रमाइरहेका छन्,’ उनी भन्छन्, ‘अहिले पुत्का मौरी, घारमौरी, सेरेना मौरी भमरा, झिमिरी, अरिंगाल आएर बसिरहेका छन् ।’
ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै होमस्टे सञ्चालन गरेर बसिरहेका कृष्णलाई कीरा पाल्न रहर किन लाग्यो ? उनी भन्छन्, ‘यो रहर मात्रै होइन, आवश्यकता पनि हो । खासगरी कीराको संरक्षण गर्नुपर्छ भनेर सचेतना जगाउने उद्देश्य हो ।’ पहिलेका घरहरू मानवमैत्री र कीरामैत्री हुन्थे । तर अहिलेका घरमा सिमेन्ट र टिन प्रयोग गर्नाले कीरालाई असर परिरहेको उनको भनाइ छ ।
‘हामी मान्छेका गतिविधिका कारण वातावरणमा असर परिरहेको छ । विगतमा गाउँघरमा रैथाने, स्थानीय वस्तुले बनेका घर हुन्थे, जुन मानवमैत्री र कीरामैत्री थिए,’ उनी भन्छन्, ‘कीरा र मान्छे मिलेर बसेको अवस्था थियो । अहिले सिमेन्टका घर बन्न थाले, टायल, खपटा, खरको सट्टा टिन लगाउन थालियो । जुन घर कीरामैत्री होइनन् ।’
घरको सुन्दरताका लागि प्रयोग हुने इनामेल, पेन्ट कीराका लागि विष भएको चौधरीको भनाइ छ । उनी भन्छन्, ‘घरमा केमिकल प्रयोग गर्दा कीरा हुर्किन पाएनन् नै यस्ता चिज मान्छेका लागि पनि उपयुक्त होइनन् ।’ मौरी प्रजातिका कीरा मात्रै लोप हुने हो भने पनि मानवीय आयु एकदमै कम हुने शोधहरूले देखाएको उनको दाबी छ । कृष्णले पालेका कीराको घरलाई ‘गाभरभ्याली सामुदायिक जिन बैंक’ नाम दिइएको छ । जसलाई २०७८ फागुन २४ गते नेपालमै पहिलोपटक आधिकारिक रूपमै घोषणा गरिएको हो । जिन बैंकलाई विस्तार गर्दै हरेक जिल्ला, विद्यालयहरूमा पु¥याउने लक्ष्य राखिएको चौधरी बताउँछन् ।
मानवीय कारणले वातावरणमा प्रतिकूल असर पर्दै गइरहेका बेला जीव, कीरा, रैथाने बोटबिरुवा, जलीय जीवको संरक्षण गर्ने उद्देश्यले जिन बैंक स्थापना गरिएको उनको भनाइ छ । अहिले करेसाबासी, बगैँचा हेर्ने हो भने पनि विदेशबाट आयातीत फलफूल प्रयोग भइरहेको छ । ‘स्थानीय उत्पादनका फलफूल र अन्नपात लोप हुँदै गएका छन्,’ उनी भन्छन्, ‘रैथाने बोटबिरुवा कीराका लागि अति पोसिलो हुन्थ्यो, मानिसका लागि पनि स्वस्थकर हुन्थ्यो । अहिले दुवैका लागि यस्ता चिजको अभाव खड्किरहेको छ ।’
विगतमा जस्तै रैथाने बोटबिरुवा, खाद्यान्न, फलफूल प्रयोग गर्न सके वातावरण सन्तुलनमा सहयोग पुग्ने उनको विश्वास छ । ‘राम्रो, छिटो प्रतिफल पाउने नाममा स्वास्थ्य र संस्कृतिसँग जोडिएको बोटबिरुवाको नास गरिरहेका छौँ,’ उनी भन्छन्, ‘यसलाई फेरि पुनःस्थापित गर्दै कृषि, वातावरणसँग जोडिएका कीराजन्य, जलसँग जोडिएका विभिन्न खाद्य परिकारका बोटबिरुवाहरू संरक्षण गर्नुपर्छ ।’
गाउँको कायापलट गर्ने कृष्ण
कृष्ण कुनै बेला पत्रकारिता गर्थे । अहिले उनलाई धेरैले गाउँ कायापलट गर्ने व्यक्तिका रूपमा चिन्छन् । आठ वर्षअघिसम्म बाँकेको गाभर अनकन्टार गाउँका रूपमा थियो । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारत एवम् तेस्रो मुलुक पस्ने गर्थे । गाउँमा रोजगारीको माध्यम नहुँदा बिदेसिनु बाध्यता थियो ।
बाँके राष्ट्रिय निकुञ्जले घेरिएको गाभर सुगम जिल्लाको दुर्गम गाउँ थियो । डाँडामा घर, एक घरदेखि अर्को घर नजोडिएको । साँच्चै पहाडकै झल्को दिने खालको । बाँकेको कोहलपुरदेखि करिब आठ किलोमिटर मात्रै टाढा रहेको गाउँमा पुग्नै कठिन थियो । न गतिलो सडक, न त यातायातका गतिला साधन नै । हरेक किसिमले पिछडिएको थियो– गाभर ।
अहिले अवस्था फेरिएको छ । र, कायापलट गर्ने प्रमुख माध्यम बनेको हो– होमस्टे । अनि होमस्टे सुरुवात गर्ने श्रेय उनै कृष्णलाई जान्छ । होमस्टे महासंघका सचिवसमेत रहेका कृष्णले २०७१ मा पहिलोपटक गाभरमा होमस्टे सुरु गरेका थिए ।
उनको होमस्टेले आयआर्जन र स्थानीय उत्पादनको प्रवद्र्धन गरेपछि उनकै बाटोमा हिँड्नेहरूको संख्या दिनहुँ बढ्दो छ । गाभरमा अहिले करिब दुई दर्जन बढी होमस्टे छन् ।