19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

रुकुम पूर्व : सरकारकाे निर्णय विपरीत विद्यालयमा परीक्षा सञ्चालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १७, २०७८  

रुकुम – नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणदर बढिरहेको बेला विद्यार्थीहरुको स्वास्थ्यलाई बेवास्ता गर्दै रुकुम पूर्वको एक गाउँपालिकाले विद्यालयहरुमा परीक्षा सञ्चालन गरिरहेकाे छ।

नेपाल सरकार र जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्देशनकाे अवज्ञा गर्दै सिस्ने गाउँपालिकाले पालिकाभरका १० ओटा विद्यालयमा कक्षा १० को ल्याकत परीक्षा सञ्चालन गरिरहेको छ।

सिस्ने गाउँपालिकामा रहेका ९ वडा सामुदायिक र १ ओटा संस्थागत विद्यालयमा हिजोबाट कक्षा १० को परीक्षा सुरु भएकाे सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो ।

सरकारले तोकेकाे स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उहाँकाे दाबी छ । कक्षा १ देखि ९ सम्मको परीक्षा आउँदाे २२ गतेदेखि सुरु गरिने निर्णय भएकाे शिक्षा शाखा प्रमुख बुढाले बताउनु भयाे।

परीक्षा दिन आएका विद्यार्थीहरुले उपस्थित नभएमा फेल भइने डरले बाध्य भएर परीक्षा दिन जानु परेको प्रतिक्रिया दिएका छन् ।

सबैतिरका विद्यालय र परीक्षाका कार्यक्रमहरु स्थगित भएको बेला स्थानीय सरकारले विद्यार्थीको स्वास्थ्य अवस्थाको जोखिमलाई बेवास्ता गरेको उनीहरुकाे गुनासाे छ ।

डीसीसीएमसीले कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न विद्यालयमा पठनपाठन र परीक्षाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।

केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले भौतिक रुपमा उपस्थित भएर गरिने पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी राईले गाउँपालिकाहरुलाई पटक-पटक अनुरोध गर्दा पनि निर्णयको नमानेको बताउनु भएकाे छ ।

आजैबाट कोरोना परीक्षणको कार्यलाई तीव्र पार्ने र सङ्क्रमित भेटिएमा स्थानीय प्रशासन ऐनकाे आधारमा रहेर विद्यालय बन्द गराउने उहाँले बताउनुभयो । यहाँकाे भूमे गाउँपालिकाले पनि आउँदाे १९ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ  भने पुथाउत्तरगंगा गाउँपालिकाले वैशाखको २० गतेबाट वार्षिक परिक्षा सञ्चालन गर्ने तयारी गरिरहेकाे छ। ujyaaloonline.com

प्रकाशित मितिः शुक्रबार, बैशाख १७, २०७८     11:52:30 AM  |