महिला फुटबलमा पुलिसद्वारा हेटौँडा एकेडेमी पराजित



सुमन अधिकारी । बुटवल ।

बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ मा नेपाल पुलिस क्लबले हेटौँडा फुटबल एकेडेमीलाई पराजित गरेको छ । सो खेलमा पुलिसकी निर्मला विकेले ह्याट्रिक गरेकी हुन् । उनले दोस्रो हाफको तेस्रो, २८औँ र ३२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

सोमबार भएको खेलमा पुलिस हेटौँडा फुटबल एकेडेमी मकवानपुरमाथि ९–० को गोलमा एकतर्फी जित निकाल्दै प्रतियोगीताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । पहिलो हाफको चौथो मिनेटमा जर्सी नं. २७ की सम्झना लावतीले पुलिसका लागी पहिलो गोल गरेकी हुन् । त्यसपछि पुलिसले लगातार गोल गर्न पुग्यो ।

पुलिसका तर्फबाट सहारा लिम्बु, निर्मला उपाध्याय, अनुष्का शेर्पा, निरु थापा र पुन्जली कुसवारले १–१ गोल गरेका हुन् । जितसँगै अन्तिम चारमा पुगेको पुलिसले सेमिफाइनलमा ट्रिनेटी क्लब, वालिङसँग वैशाख ३० गते खेल्ने छ । सिद्धेश्वर खेलमैदानमा भएको खेलमा पुलिसले पहिलो हाफमै ३ गोल गर्दै हेटौँडालाई सुरुवातबाटै दबाबमा राखेको थियो ।

खेलमा ह्याट्रिक गरेकी पुलिसकी निर्मला विके प्लेर अफ द म्याच घोषित भइन् । आज प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल संकटा क्लब काठमाडौँ र गत वर्षको उपविजेता कपिलवस्तु–११ का बीच हुने सचिव दिपक गुरुङले जनाएका छन् । बीस पचहत्तर युवा परिवारको आयोजनामा भएको प्रतियोगिताको विजेताले २ लाख ५० हजार रूपैयाँँ र दोस्रो टोलीले १ लाख २५ हजार रूपैयाँँ प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रूपैयाँँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रूपैयाँँ प्रदान गरिने छ भने प्रत्येक खेलको प्लेअर दि म्याच हुने खेलाडीले ५ हजार नगन पाउने छन् । प्रतियोगिता हेर्न आउने दर्शकका लागि करिब ३ हजार क्षमता भएको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी रहेको छ । प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राइजिङ स्टार क्लब कपिलवस्तु, पद्मा स्पोट्र्स क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाडौँ, संकटा क्लब काठमाडौँ, मकवानपुर फुटबल एकेडेमी हेटौँडा र आयोजक बीस पचहत्तर युवा क्लब सहभागी रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार