बुढीगण्डकीमा भीषण बाढीः पाँच जना बेपत्ता, दर्जनौँ घर र पुल बगायो



default

नन्दराम जैशी । सुुर्खेत ।

बुढीगण्डकी नदीमा आएको लेदोसहितको भीषण बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच सिरिङ्गे हिमालको फेदीमा ठूलो पहिरो खस्दा बाढी आएको प्रारम्भिक निष्कर्ष छ । बाढीमा परी भेडीगोठमा बस्दै आएका पाँच जना सम्पर्कविहीन भएका छन् भने विभिन्न स्थानमा दर्जनौँ घर, पुल, जलविद्युत् आयोजनाका संरचना, विद्युत् पोल र सञ्चार पूर्वाधारमा क्षति पुगेको छ । आइतबार बिहान आएको बाढीले गोरखाको उत्तरी भेगका बस्तीलाई प्रभावित बनाउनुका साथै नदी तटीय क्षेत्रमा थप जोखिम सिर्जना गरेको छ ।

बाढीका कारण केही बस्तीको सम्पर्कविच्छेद भएको छ भने सडक तथा पुलमा क्षति पुग्दा उद्धार, राहत र आवागमन व्यवस्थापनमा चुनौती थपिएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धारकर्मी परिचालन गरी बेपत्ताको खोजी, जोखिममा रहेका नागरिकको उद्धार र सम्भावित थप क्षति न्यूनीकरणका काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सम्पर्कविहीन हुनेमा चुमनुब्री गाउँपालिका–६, चुन्तेत घर भएका दुई महिला र तीन पुरुष छन् ।

जसमा ६५ वर्षीय सोनाम लामा, ५९ वर्षीया मोम्मो अजि लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पोमा दोर्जे लामा रहेका छन् । उनीहरू सिरिङ्गे हिमालको फेदीमा रहेको भेडीगोठमा बस्दै आएका थिए । प्रहरी र सुरक्षाकर्मीले घटनास्थलमा गरेको प्रारम्भिक निरीक्षणअनुसार बुढीगण्डकीमा बाढी आउनुको मुख्य कारण पहिरोले नदीमा मिसिने उङ्गिलिङ खोला थुनिनु र त्यसबाट बनेको अस्थायी बाँध फुट्नु हो । चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच सिरिङ्गे हिमालको फेदीमा ठूलो पहिरो खस्दा उङ्गिलिङ खोलाको बहाव अवरुद्ध भएको थियो ।

खोलामा पानी जम्मा भएर बनेको अस्थायी बाँध भत्किएपछि पानी, लेदो र गेग्रान एकैपटक बुढीगण्डकीमा मिसिएको प्रारम्भिक निष्कर्ष छ । त्यसपछि नदीमा एक्कासि ठूलो बाढी आएको सुरक्षाकर्मीले बताएका छन् । ठूलो आवाजसहित सिरिङ्गे हिमालमा पहिरो खसेको भन्दै स्थानीय होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि प्रहरी चौकी चुनचेतबाट तत्काल प्रहरी टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर आकाश कँडेलका अनुसार प्रहरी टोली घटनास्थल पुगेर निरीक्षण गर्दा पहिरोले खोला थुनेपछि बनेको अस्थायी बाँध फुटेर बाढी आएको देखिएको थियो ।

प्रहरी टोलीले सिरिङ्गे हिमालको आसपासको क्षेत्रमा पहिरो गएको र बाढीले पाँच वटा भेडीगोठ बगाएको जानकारी दिएको छ ।प्रहरी चौकी चुनचेतबाट असई गिरु पौडेलको नेतृत्वमा खटिएको टोली पनि प्रभावित क्षेत्र पुगेको छ । नेपाली सेनाका अधिकारीले हेलिकोप्टरबाट घटनास्थलको निरीक्षण गरी पहिरोका कारण नदीको बहाव थुनिएपछि बाढी आएको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएका छन् । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले गत भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढी र अहिलेको बूढीगण्डकी बाढीको प्रकृति हेर्दा उस्तै खालको देखिएको बताए । यसबारेमा थप अनुुसन्धान जारी रहेको उनको भनाइ छ ।

व्यापक पूूर्वाधार क्षति

बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री गाउँपालिकादेखि धार्चे र आरुघाट गाउँपालिकासम्मका विभिन्न स्थानमा भौतिक क्षति पु¥याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगर क्षेत्रमा करिब ३५ घर बगाएको विवरणसमेत प्राप्त भएको छ । जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा पनि बाढीले क्षति पु¥याएको छ ।

धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना तथा आसपासका सातदेखि आठवटा घर बगाएको प्राधिकरणले जनाएको छ । माछिखोलाको तल्लो बस्तीमा बाढी पसेपछि त्यहाँका २० देखि २२ घर जोखिममा रहेका छन् । बाढीले बुढीगण्डकी ३४१ मेगावाट जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र तथा केही निर्माण उपकरणसमेत बगाएको छ । जलविद्युत् आयोजनाका संरचना र निर्माण सामग्रीमा पुगेको क्षतिले परियोजनाको काम तथा त्यससँग सम्बन्धित पूर्वाधारमा असर परेको छ ।

प्राधिकरणका अनुसार दुई वटा टेलिफोन टावर र करिब ५० वटा विद्युत् पोलमा क्षति पुगेको छ । बाढीले गोरखाका विभिन्न स्थानमा रहेका दुई वटा मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल गरी ६ वटा पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने पक्की पुलमा क्षति पु¥याएको छ । भने तीन भागमा रहेको उक्त पुलको गोरखातर्फको एक भाग बगाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल पनि बाढीले बगाएको उनले बताए ।

त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजमा क्षति पुगेको छ । माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभ¥याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको विवरणमा उल्लेख छ । पुलहरू बगाउँदा स्थानीय बासिन्दाको आवतजावत प्रभावित भएको छ । दुर्गम क्षेत्रका बस्तीमा राहत तथा अत्यावश्यक सामग्री पु¥यानसमेत कठिनाइ हुन सक्ने देखिएको छ । सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागको टोलीलाई सडक सञ्चालनको अवस्था मूल्यांकन गर्न तथा आवश्यक स्थानमा बेलिब्रिज राख्न सकिने सम्भावनाबारे अध्ययन गर्न परिचालन गरिएको छ ।

७०३ सुरक्षाकर्मी परिचालन, ८२ जनाको उद्धार

बाढीको सूचना प्राप्त हुनासाथ उद्धार, राहत र जोखिम न्यूनीकरणका काम अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा कुल ७०३ जना सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाली सेनाबाट १७१ जना, नेपाल प्रहरीबाट १४३ जना र सशस्त्र प्रहरी बलबाट ३८९ जना उद्धारकर्मी खटिएका छन् । नेपाली सेनाबाट तीन वटा स्पेसल फोर्स टोलीसमेत परिचालन गरिएका छन् । खोज तथा उद्धारका लागि नेपाली सेनाका चार वटा हेलिकोप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएका थिए ।

आइतबार साँझ ६ बजेसम्म हेलिकोप्टरमार्फत ९ विदेशीसहित ८२ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्राधिकरणले जनाएको छ । त्यसैगरी, थप उद्धारका लागि नेपाल प्रहरीको ५० जनाको टोलीलाई विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा तयारी अवस्थामा राखिएको छ । प्रभावित क्षेत्रमा सडक र हेलिकोप्टर दुवै माध्यमबाट अत्यावश्यक राहत सामग्री ढुवानी गर्ने काम पनि भइरहेको छ । बाढी प्रभावित बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने र नदी तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमबारे जानकारी गराउने कार्यलाई प्राथमिकता दिइएको छ ।

यता जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखामा आइतबार बिहान ६ बजे बाढीको सूचना प्राप्त भएको थियो । त्यसलगत्तै गोरखा, धादिङ हुँदै चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमलगायत क्षेत्रका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएसमार्फत जानकारी गराएको थियो ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक निरन्तर बसेको थियो । बैठकबाट बाढीको अवस्था अनुगमन गर्ने, जोखिमको विश्लेषण गर्ने, आवश्यक सूचना प्रवाह गर्ने र सम्बन्धित निकायबीच उद्धार तथा राहतका काममा समन्वय गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ । यसैगरी, गोरखा, लमजुङ र तनहुँ जिल्लाका द्रुत प्रतिकार्य टोली तथा गोरखा, तनहुँ र लमजुङका प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ । बाढी आरुघाट गाउँपालिकासम्म आइपुग्दा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ । त्यसपछि नदीको बहाव क्रमश घटेको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बताए ।

आपत्कालीन केन्द्र सक्रिय, संसदीय समितिको चासो 

बुढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय बनाएको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार र आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराउन केन्द्र सक्रिय बनाइएको मन्त्रालयले जनाएको छ । नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्था व्यवस्थापनका लागि आवश्यक तयारी र समन्वय अघि बढाएको हो ।

मन्त्रालयले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा जान र सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा निःशुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ । यसैबीच, आकस्मिक बाढीबाट भएको भौतिक क्षति र केही व्यक्ति सम्पर्कविहीन भएको खबरप्रति ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति’ले चिन्ता व्यक्त गरेको छ ।

समितिका सभापति गणेश पराजुलीले जारी गरेको विज्ञप्तिमा प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै खोज तथा उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ । समितिले बाढी प्रभावित परिवारका लागि सुरक्षित अस्थायी आश्रय, स्वच्छ खानेपानी, खाद्यान्न, लत्ताकपडा र औषधोपचारको व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीलाई प्राथमिकतामा राखेर राहत र सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।

बाढीका कारण क्षति पुगेका सडक, पुल, विद्युत्, सञ्चार र खानेपानी सेवाको अवस्था तत्काल मूल्यांकन गरी वैकल्पिक पहुँचको व्यवस्था गर्न र अवरुद्ध सेवा पुनः सञ्चालनमा तीव्रता दिन पनि समितिले जोड दिएको छ । समितिले बाढीको वास्तविक कारण र जलवायु परिवर्तनसँग यसको सम्बन्धबारे वैज्ञानिक अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । हिमाली तथा नदी तटीय क्षेत्रमा बारम्बार दोहोरिने विपद्ले पूर्वसूचना प्रणाली र भू–जोखिम नक्साकंनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको समितिको भनाइ छ ।

विज्ञप्तिमा सरकार, सुरक्षा निकाय र स्थानीय प्रशासनले विपद्का बेला देखाएको तत्परताको प्रशंसा गर्दै भोटेकोशी–त्रिशूली विपद्को अनुभवबाट सिकेर एकीकृत समन्वय र भरपर्दो सूचना प्रणालीमार्फत उद्धार कार्य अघि बढाउन आग्रह गरिएको छ । समितिले विपद्को यस कठिन घडीमा सम्पूर्ण राजनीतिक दल, तीनै तहका सरकार र नागरिक समाजलाई एकजुट भएर सहयोग गर्न आह्वान गरेको छ । साथै, नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन, आधिकारिक सूचनाको पालना गर्न र अपुष्ट सूचना नफैलाउन अनुरोध गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार