विरङ्गना योगी
अहिलेपनि मेरो सम्झनामा ताजै छ । कालो कपालमा सपक्क तोरीको तेल हालेर, कालो धागोमा राता झुम्का भएको डोरी बाटेको । कालै कपालको बिच्चमा सोझो सिउँदो काटेर रातो सिन्दूरले चम्किलो मेरी आमाको अनुहार । धपक्कै बलेको सप्तरंगी जस्तै । आमा प्रत्येक वर्ष जागिरे श्रीमान्को लामो आयुको लागि निराहार ब्रत बस्नुहुन्थ्यो । यो मेरो स्मृतिको पानामा सुरक्षित छ । घुम्दै फिर्दै तीज आउन छोडेन, आइरह्यो । तर, मेरो आमाको रुपरङ र तीज पर्वप्रतिको उल्लास कम भयो । समयक्रमसँगै घट्यो तीजप्रतिको मोह । कारण, उहाँको सिन्दूर साउने भेलले बगाइदियो । जसको लामो आयुको लागि पानी नखाइ भगवानलाई जप्दै कामना गर्दै ब्रत बस्नुभयो । उसैको आयु छोटो भयो ।
‘श्रीमान् खाएको आइमाईमा नाम लेखिदियो’ समाजले । त्यसपछि शुभसाइतमा हेर्न नमिल्ने अनुहारमा दर्ता भयो, मेरो आमाको अनुहार । त्यतिमात्रै होइन घरको पूरै जिम्मेवारीले थिच्यो । परिस्थिति यस्तो बन्यो, घरमा आगो बाल्नसमेत धौ धौ भएर आफैँमा कति दिन ब्रत बसिन् होला आमा । श्रीमान् गुमाएसँगै आमाले तीज गुमाइन् । सिन्दूरबिनाको तीजले मलाई रुवाउँछ । छोरी म बस्दिँन । तिमीहरु बस भन्दै हामी छोरीहरुलाई खान्की जुटाउँदै गर्न लागेको आज १८ वर्ष गयो । तीज सधैँ आयो । मेरो आमाको खुसी आएन । त्यसपछि कहिल्यै तीज आएन । यो समाजमा (आफन्त, छरछिमेकी, दिदीबहिनी, भाउजु–बुहारी, कान्छीआमा, ठुलीआमा) बिधुवालाई हेर्ने नजर फेरिएको छैन । बरु तिनीहरुको नजरमा मोतिबिन्दु पर्न सक्छ, तिनीहरु हेर्न सक्दैनन् । एउटा महिला पूरै सजिएर बसेको, श्रीमान्को मृत्युपछि पनि ।
छोरीमान्छेका नितान्त व्यक्तिगत खुसी र श्रृंगारमा प्रश्न खडा गर्ने हाम्रा आफन्त नै हुन् । यी आफन्तहरुकै कारण, यहाँ बिधुवा र पारपाचुके भएका छोरी चेलीहरु जिउँदै पटक पटक मरिरहेका छन् । कति यिनीहरुकै तिक्तताले भरिएको वचन सहन नपरोस्, सुन्न नपरोस् भन्ने सोचेर श्रीमान्ले हड्डी निलो हुने गरी कुट्दासमेत सहेर बसेका छन्, बाध्यताले घर खाएका छन् । ‘आफ्नै श्रीमान् त हुन्, बुझ्लान् नी कुनैदिन्’ भन्ने सोचेर आफ्नो र परिवारको इज्जतका लागि चुपचाप बसेका छन् भने कति त तिनै श्रीमानको हातबाट घरका मध्यरातिमा होस् कि दिनदहाडै खुसी छिनिए जसरी छिनिएका छन्, त कति वनजंगल, बाटो, पुल, नदीकिनार, घरका ढोका हुँदै बिस्तारामै अन्तिम स्वास फेरेर कहिल्यै नफर्किने बाटोमा गएका छन् ।
यिनै चोटबाट आजित भएर सम्बन्धविच्छेद रोजेका कति महिलाहरु, जो आफँैमा कमाउँछन्, छोराछोरी पाल्न सक्छन् । घरखर्च जोहो गर्न सक्षम छन् । तिनीहरुमाथि अर्को आशंका गर्छन्, प्रश्नको वाण हान्छन्, भन्छन्, ‘फेरि यसले कसरी पालेकी छ बच्चा ?’ सामान्य भेटघाटमा पनि पहिलो प्रश्नको रूपमा आउँछ कसरी पालेकी छस् बच्चा । तिनीहरुको बाउले खर्च दिन्छ ? प्रश्न गर्न मन लाग्छ, के बाउले मात्रै खर्च दिएर पालिने हुन् र बच्चा ? के आमाले बिहान भालेको डाँकोमा उठेदेखि बेलुका चरा गुँड बस्ने बेलासम्म गरेको मेहेनतको हिसाब हुँदैन ? सृष्टि सिर्जना गर्न सक्ने महिलाले आफ्ना लालाबाला सम्हाल्न सकिन्न र ? महिलाले कमाएको पैसा पैसा होइन ? आमाले कमाएको पैसाले छोराछोरीको शिक्षादीक्षादेखि खाना औषधि किन्दा आउँदैन र ? अचम्म लाग्छ, त्यस्ता मान्छे देख्दापनि । अहिलेको २१औँ शताब्दीको जमानामा पनि मान्छे मध्ययुगीन सोच पालेर बसिरहेको छ । ढुङ्गे युगको झल्को भेटिन्छ, उनीहरुको मानव चोलामा ।
सम्बन्धविच्छेदको प्रसङ्ग
परिवर्तनलाई आत्मासात् गरेको समाजभित्रकी एक महिला हुँ म । मैले लामो समयको वैवाहिक सम्बन्धलाई दुई सन्तानको जिम्मेवारी आफैँले बोक्ने निधो गरेर २ वर्षअघि अदालती लडाइँपछि पूर्णविराम लगाएँ । त्यो निर्णयमा म बिल्कुलै खुसी थिएँ । विवाह परिवारको खुसीको लागि गरँ । सम्बन्धविच्छेद भने आफ्नो इच्छाले । यो निर्णयमा मलाई साथ दिने मान्छे औँलामा गन्न सकिने मात्रै छन् । मेरो मजाक उडाउनेहरु घरभित्र र बाहिरसम्म यत्रतत्र छन् । मेरा आफन्त नै प्रश्न उठाएका छन्, पटकपटक । प्रगतिमा खुसी हुने निम्तो जसलाई पहिला गर्छौँ, दुर्गतिमा खुसी पनि त्यही मान्छे हुँदा रहेछन् । घरभित्रदेखि बाहिर सम्मकोलाई दिन काट्ने मसला बनेकी म आफैँमा खुसी थिएँ । किनभने मेरो आफ्नो मन, बुद्धि र विवेकले गरेको निर्णय थियो, त्यो ।
डिभोर्स शब्द नकारात्मक हो । म कदर गर्छु, यो कुरालाई । यो गर्नु राम्रो होइन । के त्यसो भए श्रीमान्कै हातबाट खसीबोका काटिएजस्तै काटिनु राम्रो हो र ? घरपरिवारबाट विभिन्न यातना दिएर मारिनु राम्रो हो त ? किन बुझ्दैन यो समाज । त्यो श्रीमती, जसको ओछ्यानमै पतिबाट ज्यान जान्छ । त्योपनि कसैकी छोरी हो । सन्तानकी आमा हो । कसैको संसार हो । खुसी हो भन्ने के उसको बाँच्ने अधिकार छैन र ? मैले यो प्रश्न गरेँ, छ बाँच्ने अधिकार त भन्नुहुन्छ । तर, बाँच्न दिनु हुँदैन । घरबारे भई बस्दा घरमै गाह्रो, डिभोर्स गर्दा समाजलाई गाह्रो । यही गाह्रैगाह्रोको बीचमा आउने चाडपर्वले झन गाह्रो ।
सिन्दूरमाथि प्रश्न, सिउँदोमाथिको प्रश्न
मैले जुन दिन सिउँदो भरेँ । आजसम्म निरन्तर भरेकै छु । होला मेरो सिन्दूरको अर्थ खोज्नेहरु कतै अहिलेपनि खोज्दै होलान् । अग्निकुण्डलाई साक्षी राखी निराहार बसेर पैरिएको सिन्दूर हो । होला यही सिन्दूरको कारण दुःख पनि पाए होँला । सबैभन्दा ठुलो कुरा जिन्दगीमा मैले मेरा सन्तान पाएकी छु । आमा भएर यो समाजमा उभिएकी छु । म आमा अनि मेरा सन्तान त्यही सिन्दूरका उपज हुन् । यसैमा म गर्विली छु । खुसी छु । त्यसैले म सधैँ चुरापोते र सिन्दूरमा हुन्छु । कहीँकतै म देखिन्न, एकल । किनभने म एकल छैन, मलाई देखाउनै छैन । तर, मलाई प्रश्नको चाङ खडा गरिन्छ । किन लगायौ तिमी सिन्दुर ? के म कन्याकुमारी, अविवाहित महिला हुँ ? के म कुमारी आमा हुँ ? मेरा सन्तान छन् ।
म त आमा हुँ । म विवाहित पनि थिएँ कुनै दिन भने किन फेरि प्रश्न अदालतबाट कागज गरिन्छ सम्बन्धविच्छेदको । एक धारा पनि लगाएर सिन्दूर पखालिँदैन । सबै दिदीबहिनी जो बिधुवा हुनुहुन्छ । जसलाई सिन्दूर लगाएर रातो लुगामा सजिन मन छ । यसै तीजबाट लगाउनुहोस् । जो सम्बन्धविच्छेद गर्नुभएको छ, सिन्दूर त लगाउँथे तर कसैले केही भन्छन् कि भनेर लगाउँदिन भन्ने सोच्नुभएको छ भने पनि लगाउनुहोस् । किनभने तपाईँहरूको कुरा लगाउँदा पनि काट्ने नै हुन् नलागाउँदा पनि काट्ने नै हुन् । किन मनको रहर दबाउने ? फेरि सिन्दूर भर्नुहोला वा नभर्नुहोला, के सिन्दूर लगाउनकै लागि दोस्रो बिहे रोज्नुहुन्छ त ? कदापि नाइँ ।
अहिलेको हरितालिका तीजबारे केही कुरा
अहिले जताततै हरितालिका तीजको चहलपहल छ । कामकाजी महिलाहरुलाई पनि केही मात्रमा छोएकै छ । म डिस्को गएर रमाउनेको विरोधमा पटक्कै छैन । किनभने खुलेर बाच्ने रमाउने अधिकार सबैलाई छ । सबैका माइतीघर नजिक नहोलान् । नजिक भएकाले पनि नबोलाउलान् । साथीहरूसँग रमाइलो गर्नु पनि राम्रै होला । तर, मैले अहिलेसम्म त्यसरी तीज मनाएकी छैन् । मलाई मायाले, सद्भावले दर खुवाएको मन पर्छ । विवाहअगाडि खास्सै नछुने तीज, विवाहपछि निकै महत्वपूर्ण मानिने चाड रहेछ । मैले पनि विगत १३ वर्ष वैवाहिक सम्बन्धमा बसेर तीज मनाएँ । महिलाको नितान्त सौभाग्यसँग जोडिएको पर्व हो, तीज ।
बिधुवा र सम्बन्धविच्छेद भएका महिलाको लागि यो खासै उल्लास बोकेर आउने पर्व होइन । सिन्दुरमा सजिएर सोह्र श्रृंगारमा निराहार बस्ने यो ब्रत भगवान शिवसँगै आफ्ना पतिलाई देवताको रूपमा पूजा गरेपछि यो ब्रत सकिएको हुन्छ । श्रीमान् हुनेले श्रीमान्को गोडाको पानी त श्रीमान् घरदेखि टाढा भएकोले लगनको पोते चुराको पानी खाएर ब्रत टुङ्गाउने परम्परामा अब के डिभोर्सी महिलाले ब्रत नै नबस्ने त ? मज्जाले बस्ने छोराछोरीको मंगल होस् भन्दै बर्त बस्ने । छोरी लक्ष्मी हुन्, देवी हुन्, सरस्वती हुन् । हो, तिनलाई पूजा गरेर ब्रत भंग गर्ने । यदि त्यो सबै सम्भव नहुनेले पूजा गरेर भगवानलाई प्रसाद ग्रहण गराएर फलआहार लिने । हरितालिका तीजको शुभकामना ।









प्रतिक्रिया दिनुहोस्