कोहलपुर क्षेत्रका पसल तथा घरहरुबाट चोरी गर्ने गिरोहलाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो । चोरीमा संग्लनसहित चोरीका सुनचाँदीका गरगहना खरिद गर्ने व्यवसायीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
बाँके ।
कोहलपुर क्षेत्रका विभिन्न स्थानमा भएका चोरीका घटनामा संग्लन सातजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार पत्रकार सम्मेलन गरेर कोहलपुर प्रहरीले पक्राउ परेका सातजनालाई चोरीका सामानसहित सार्वजनिक गरेको छ ।
विभिन्न समयमा कोहलपुरमा भएका चोरीका घटनामा संग्लनहरुलाई सामानसहित पक्राउ गरिएको कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए । पक्राउ पर्नेमा दुई बालकसहित सातजना रहेका छन् । ‘चोरीका घटनाहरुमा वृद्धि भएपछि हामीले विशेष टोली बनाएर नै खटाएका थियौं,’ उनले पत्रकार सम्मेलनमा भने, ‘अनुसन्धानका क्रममा चोरीका सामानसहित सातजना पक्राउ परेका छन् । अझै अनुसन्धान जारी छ । चोरीमा संग्लन अरु पनि पक्राउ पर्छन् ।’
पक्राउ पर्नेमा कोहलपुर–१ कौशिलानगरका २९ वर्षीय नवीन विक, कोहलपुर–२ विकासनगरका धु्रवसिंह ठकुरी र दुईजना बालक रहेका छन् । विकले सञ्चालन गरेको जानकी सुनचाँदी पसलबाट प्रहरीले चोरीका १३ ग्राम एक सय मिलिग्राम १९ वटा सुन टुक्राहरु फेला पारेको थियो । त्यस्तै उनकै पसलबाट ३१ तोला २८ लाल सुनचाँदीका तयारी गरगहनासमेत बरामद भएको डिएसपी मल्लले जानकारी दिए ।
‘चोरीका सुनचाँदीका गरगहना किनेर टुक्रा बनाएर केही पगालेर डल्लो बनाएको अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘केही गरगहना भने सक्कलै भेटिएका छन् ।’ विकले सञ्चालन गरेको पसलबाट थप्पावाला औंठी चारवटा, चोक्कर एकवटा, खुकुरी माला एकवटा, चन्द्रमा एकवटा, लकेट तीनवटा र सुन जस्तो देखिने धातुका १९ वटा टुक्रा बरामद भएका थिए ।
पसलबाटै चाँदीको जस्तो देखिने धातुहरुको पाउजु, औँठीहरु, वाला, हात्तिको पुच्छर, सिक्री र लकेटसमेत बरामद भएको कोहलपुरले जनाएको छ । पक्राउ परेका सिंहको घरको कोठाबाट चोरीका २५ इञ्चको एलइडी टिभी एक थान, डेल कम्पनीको ल्यापटप एक थान, चार थान मोबाइल र उनको साथबाट एक ग्राम चार सय २० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको थियो । बालकको घरबाट कपाल स्टेट पार्ने एक थान मेसिन, डेल कम्पनीको ल्यापटप एक थान फेला परेको डिएसपी मल्लले जानकारी दिए ।
‘पक्राउ परेका व्यक्ति घर तथा पसलबाट समेत केही चोरीका सामान बरामद भएका छन्,’ उनले भने, ‘केही सामानहरु भने बेचिसकेकाले फेला पर्न सकेका छैनन् ।’ चोरीका तीन थान मोटरसाइकलसहित कोहलपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका सबै जनामाथि चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ । राप्तीसोनारी गाउँपालिका–२ अगैयाबाट बहुमुल्य गौतम बुद्धको मूर्तिसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिकलाजुन गाउँपालिका–७ पाँचथरका ५० वर्षीय झर्मेन्द्रप्रसाद रेग्मी र भिमसेन थापा गाउँपालिका–१ गोरखाका ३२ वर्षीय देवबहादुर मग्राती छन् ।
उनीहरुको साथबाट प्रहरीले पहँेलो धातुले बनेको पुरानो जस्तो देखिने गौतम बुद्धको ६ किलो चार सय २० ग्रामको मूर्ति फेला पारेको थियो । मूर्ति र मूर्ति प्वाल पार्न प्रयोग गरिने मेसिनसहित पक्राउ परेका दुवै जनामाथि प्राचीन स्मारकसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।