कोहलपुर–९ मा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु



कोहलपुर ।

बाँकेको कोहलपुरमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिका–९ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र नेपाल युवा स्टार क्लबको आयोजनामा प्रतियोगिताको बुधबार उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष उपेन्द्रनाथ योगीले गरेका हुन् ।

उद्घाटनमा बोल्दै वडाध्यक्ष योगीले स्थानीयस्तरमा रहेका खेलाडीहरूलाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले वडामा पहिलोपटक वडास्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न यहाँका युवाहरू सफल भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमका लागि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

वडाभित्र रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गरी नगर तथा जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुने अवसर दिलाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास योगीले व्यक्त गरे ।

प्रतियोगिता संयोजक रियाज अली साईका अनुसार प्रतियोगितामा आयोजक टिमसहित वडाभित्रका चार टोली सहभागी छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार