पौडेल वंश महासंघको अधिवेशन सम्पन्न



कोहलपुर ।

पौडेल वंश महासंघ नेपाल जिल्ला कार्यसमिति, बाँकेको प्रथम जिल्ला अधिवेशन तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच पौडेल वंश अभियान, बन्धुहरुको खोजी र पहिचान’ भन्ने मूल नारासहित प्रथम जिल्ला अधिवेशन तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

अधिवेशनको उद्घाटन तथा क्यालेन्डर विमोचन पौडेल वंश महासंघ नेपालका केन्द्रिय सह–कोषाध्यक्ष यमप्रसाद पौडेलले गरेका थिए । उक्त अवसरमा बोल्दै उनले देशभर रहेका पौडेल वंश बन्धुहरुको एकता अहिलेको आवश्यकता रहेको बताए । उनका अनुसार पौडेल वन्धुहरु एकीकृत भएर वंश परम्परा जोगाउन आवश्यक छ ।

पूर्वजहरुको खोजिनीति, वंश गोत्रको पहिचान गर्दै जाने र अनेकौ थरमा विभाजित सगोत्री बन्धुहरुको खोजी गर्ने र पहिचान गर्ने महासंघको उद्देश्य रहेको उनको भनाइ थियो । उक्त अवसरमा बोल्दै प्रदेश प्रतिनिधि युवराज पौडेलले बाँके जिल्लामा रहेका पौडेल बन्धुहरुको एकता हुन आवश्यक रहेको जोड दिए ।

उनले जिल्लाका विभिन्न पालिकामा छरिएर रहेको पौडेल बन्धुहरुलाई एकीकृत गर्ने अभियान थालिएको बताए । उक्त अवसरमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष् लक्ष्मणराज पौडेलले पौडेल वंशहरु एकजुट भएर सामाजिक कार्यमा अग्रसर हुनुपर्नेमा जोड थिए ।
अधिवेशनको क्रममा महासंघका सचिव यमनाथ पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा उनले २०७९ मंसिर १७ गते कोहलपुरमा बाँके र बर्दिया जिल्लाका पौडेल बन्धुहरुको उपस्थितिमा जिल्ला कार्यसमिति गठन गरिएको बताए ।

जिल्लाका विभिन्न पालिकामा रहेका बन्धुहरुलाई समेट्ने प्रयास भइरहेको भन्दै डुडुवा र जानकी गाउँपालिकाबाट सदस्य थप्न बाँकी रहेको सचिव पौडेलले बताए । आगामी दिनमा बाँकेका सबै पालिकामा समिति गठन गर्ने महासंघको योजना रहेको छ । कार्यक्रम समापनमा बोल्दै पौडेल वंश महासंघ नेपाल जिल्ला कार्यसमिति,बाँकेका अध्यक्ष लोकनाथ पौडेलले महासंघ आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने बताएका छन् ।

अधिवेशनले दुई जना कार्य समिति सदस्य थप गरेको छ । थपिएका सदस्यहरुमा नेत्र नारायण पौडेल उपाध्यक्ष र तिलकराज पौडेल रहेका छ । अब जिल्ला कार्य समिति १६ सदस्यीय बनेको छ । यस्तै एक जना सल्लाहकार समेत थप गरिएको उनले बताएका छन् ।
सल्लाहकारमा सरिता पौडेललाई थप गरिएसँगै सल्लाहकार कमिटी नौ सदस्यीय बनेको छ । अघिवेशनमा जिल्लाभर रहेका पौडेल बन्धुहरुको सहभागिता रहेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार