कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–५ मा रहेको वेष्टर्न ईमी स्कुुलले अभिभावक दिवस तथा शैक्षिक विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच स्कुलले अभिभावक दिवस तथा शैक्षिक विज्ञान प्रदर्शनी सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका–५ का वडाध्यक्ष दिपेन्द्र श्रेष्ठले अभिभावक दिवसले त्रिपक्षीय सम्बन्ध थप बलियो हुने बताए ।
उनले विद्यार्थी, अभिभावक र विद्यालयको त्रिपक्षीय सम्बन्ध मजबुत भए मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउँदै उनले आगामी दिनहरूमा गुणस्तर शिक्षासँगै व्यवहारिक शिक्षामा समेत जोड दिन आग्रह गरे ।विद्यार्थीहरूले गरेका शैक्षिक प्रदर्शनी र फुड फेस्टिवल हेर्दा सबैको मन लोभ्याएको उनको भनाइ थियो ।
वेष्टर्न ईमी स्कुल स्थापनाकालदेखि गुणस्तरीय शिक्षामा कटिबद्ध रहेको स्कुलका संस्थापक कुुबेर बस्नेतले बताए । अभिभावकहरूको साथ र सहयोगमा विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न हरप्रयास गरिहेको उनको भनाइ थियो । विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकास गर्न फुड फेस्टिवल र शैक्षिक प्रदर्शनी गर्दै आइरहेको उनले बताए ।
विद्यालयले प्रत्येक वर्ष विद्यार्थीहरूको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न शैक्षिक प्रदर्शनी लगायतका कार्यक्रमहरू गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल उमेशकुमार श्रेष्ठले बताए । विद्यार्थीहरूले निर्माण गरेका र आफूभित्र भएको क्षमतालाई अभिभावकहरूले प्रत्यक्ष अवलोकन गर्न सकून् भन्ने उद्देश्यले अभिभावक दिवस पारेर शैक्षिक प्रदर्शनी गरिएको उनको भनाइ थियो ।
विद्यार्थीको चौतर्फी विकासका लागि किताबी ज्ञानमात्रै पूर्ण नरहने हुनाले विद्यार्थीको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न र चौतर्फी विकासका लागि व्यवहारिक ज्ञानमा जोड दिएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्