काठमाडौँ ।
गोरखाको बुढीगण्डकी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत वितरण तथा अस्थायी आवासको व्यवस्था स्थानीय तहबाट गरिने भएको छ । बाढीबाट ठूलो जनधनको क्षति भएपछि गोरखा जिल्ला विपद् व्यवस्थापन समितिले प्रभावितलाई राहत तथा अस्थायी आवासको व्यवस्था स्थानीय तहबाट गर्ने निर्णय गरेको हो । समितिले स्थानीय विपद् व्यवस्थापन कोष परिचालन गर्दै प्रभावितलाई तत्काल सहायता उपलब्ध गराउने र क्षतिको थप विवरणका आधारमा पुर्नस्थापनाका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रभावित परिवारलाई खाद्यान्न उपलब्ध गराउने र अस्थायी आवासको व्यवस्था स्थानीय तहमार्फत मिलाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार बाढीपहिरोबाट घर, बस्ती र भौतिक पूर्वाधारमा पुगेको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक भइसकेको छ । अब स्थानीय तहबाट थप विवरण संकलन गरी सिफारिस भएपछि त्यसका आधारमा थप राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका कार्यक्रम अघि बढाइनेछ ।
‘स्थानीय तहलाई राहत वितरणको जिम्मेवारी दिइए पनि बाढीले सडक, पुल र बस्तीबीचको सम्पर्क नै विच्छेद गराएका कारण सहायता प्रभावित क्षेत्रसम्म पु¥याउन सकस छ,’ उनले भने, ‘चुमनुब्री र धार्चेका दुर्गम बस्तीमा क्षतिग्रस्त पूर्वाधार पुन सञ्चालन नगरी नियमित राहत आपूर्ति तथा उद्धारलाई सहज बनाउन कठिन हुने देखिएको छ ।’ उक्त बाढीमा परी चुमनुब्री गाउँपालिका–६, चुम्चेतस्थित उङ्गिलुङ भेडीगोठमा बस्दै आएका पाँच जना अँझै सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सम्पर्कविहीन हुनेमा ६५ वर्षीय सोनाम लामा, उनकी ५९ वर्षीया श्रीमती लाक्पा थोर्मा लामा, ६६ वर्षीया सोम भुटी लामा, ६८ वर्षीय कर्मा लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेका छन् । बाढीले घर, गोठ, पुल तथा सडक संरचनामा क्षति पु¥याउनुका साथै केही बस्तीलाई बाहिरी सम्पर्कबाट अलग बनाएको छ । पाँच जनाको अवस्था अझै अज्ञात रहेकाले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट करिब एक सय घरमा क्षति पुगेको छ । तीमध्ये ४५ घर पूर्ण रूपमा नष्ट भएका छन् भने बाँकी घरमा आंशिक क्षति पुगेको छ । घर पूर्ण रूपमा नष्ट भएका परिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउनुका साथै खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउनुपर्ने देखिएको छ । बाढीका कारण चुम क्षेत्रमा ८७ जना विदेशी पर्यटक अलपत्र परेका छन् । त्यस्तै, जगत क्षेत्रमा ९८ जना विदेशी पर्यटक र ७३ जना गाइड तथा भरिया गरी १७१ जना रोकिएका छन् । उपलब्ध विवरणअनुसार दुवै क्षेत्रमा गरी २५८ जना विदेशी पर्यटक, गाइड तथा भरिया प्रभावित भएका छन् । सडक र पुलमा क्षति पुगेपछि उनीहरूको सुरक्षित आवागमन चुनौती बनेको छ ।
चुमनुब्रीदेखि आरुघाटसम्म क्षति
बाढीले गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न बस्तीमा क्षति पु¥याएको छ । प्रशासनको प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिकाका सल्लेरी, घट्टेखोला, पायु, दोभान र बगर क्षेत्रमा करिब ३१ घरधुरीका घर बगेका छन् । त्यस्तै, धार्चे गाउँपालिकाको माछिखोला, यारुबगर र दोभान क्षेत्रमा करिब ५० घरधुरीमा क्षति पुगेको छ । आरुघाट गाउँपालिकाको सोतीमा करिब १५ घरधुरी प्रभावित भएका छन् । घरबास गुमाएका परिवारका लागि तत्काल सुरक्षित आवासको व्यवस्था गर्ने तयारी छ । साथै प्रभावित बस्तीमा खानेपानी, खाद्यान्न र अन्य आधारभूत सेवाको अवस्था पहिचान गर्न थालिएको छ ।
बाढीले घरमा मात्रै नभई स्थानीय बासिन्दाको आवागमन, जीविकोपार्जन र सार्वजनिक सेवासमेत प्रभावित पारेको हो । यसका अतिरिक्त उङ्गिलुङ खोला क्षेत्रका चारवटा गोठसहित विभिन्न स्थानमा गरी कूल ३४ वटा गोठमा क्षति पुगेको स्थानीय तहहरूले बताएका छन् । पशुपालनमा निर्भर परिवारका लागि गोठ र पशुचौपायासम्बन्धी क्षतिले थप आर्थिक समस्या निम्त्याउने अनुुमान छ । बुढीगण्डकी क्षेत्रमा बाढीले पु¥याएको क्षतिको अर्को गम्भीर पक्ष सडक तथा पुल संरचनाको विनाश पनि हो । बाढीले ६ वटाभन्दा बढी पुल बगाएको छ । यसले स्थानीय बासिन्दाको आवागमनसँगै राहत सामग्री ढुवानी र उद्धार कार्यमा समेत कठिनाइ सिर्जना गरेको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार आरुघाटमा गोरखा र धादिङ जोड्ने मोटरेबल पुल बगाएको छ । आरुघाट गाउँपालिकाकै सोती र मान्बु जोड्ने पक्की पुलसमेत बाढीले बगाएको छ । धार्चे गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने बेलीब्रिज तथा माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ । चुमनुब्री गाउँपालिकामा ठाडो भ¥याङ र जगत जोड्ने झोलुङ्गे पुल, घट्टेखोला र फिलिम जोड्ने पुल तथा वडा नम्बर ६ स्थित सर्दिभीरको क्यान्टिलिभर पुल र लोक्पाको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ ।
लोक्पाको झोलुङ्गे पुल बगाउँदा चुम्लिङ र छेकम्पार जाने बाटो पूर्ण रूपमा बन्द भएको छ । त्यसैगरी, कालेभीर र सल्लेरी क्षेत्रमा सडक कटान भएपछि जगत गाउँका २५ घर पूर्ण रूपमा सम्पर्कविहीन भएका छन् । सडक तथा पुलको क्षतिले दुर्गम बस्तीमा खाद्यान्न र औषधिजस्ता अत्यावश्यक सामग्री पु¥याउने काम चुनौतीपूर्ण बनाएको छ । यस्तो अवस्थामा स्थलमार्ग अवरुद्ध भएका स्थानमा वैकल्पिक बाटो पहिचान, अस्थायी पुल निर्माण तथा आवश्यकताअनुसार हवाई ढुवानीलाई प्रभावकारी बनाउने तयारी छ ।
विद्यालय र जलविद्युत् आयोजनामा क्षति
बाढीले निजी आवाससँगै शैक्षिक तथा ऊर्जा पूर्वाधारमा समेत क्षति पु¥याएको छ । चुमनुब्री गाउँपालिका–३, घट्टेखोलास्थित विकास आधारभूत विद्यालयको भवन बाढीले बगाएको छ । विद्यालय भवनमा क्षति पुगेपछि स्थानीय बालबालिकाको पठनपाठनसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ । त्यस्तै, तीनवटा जलविद्युत् आयोजनामा क्षति पुगेको विवरण प्राप्त भएको छ । सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडका नौवटा ब्लक र ६ वटा पब्लिक बिल्डिङ बगाएको छ ।
धार्चेको यारु र दोभानमा रहेका दुई जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । सल्लेरी जलविद्युत् आयोजनामा क्षति पुगेपछि न्याक, फिलिम, चिसापानी, नाक्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, भालुवाङ, सिर्दिबास र उहियालगायतका बस्तीमा विद्युत् आपूर्ति ठप्प भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय जनजीवनसँगै सञ्चार, दैनिक उपभोग्य सेवा र उद्धार व्यवस्थापनमा समेत असर परेको छ । प्रभावित क्षेत्रमा विद्युत् सेवा पुन सञ्चालन गर्न आयोजनाको क्षति मूल्यांकन र मर्मतसम्भारलाई प्राथमिकता दिइएको छ । बाढीबाट क्षतिग्रस्त भौतिक संरचना पुन सञ्चालनमा ल्याउन सरकारले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।
सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली सडक सञ्चालन तथा बेलीब्रिज जडानको सम्भाव्यता अध्ययनका लागि परिचालन भएको छ । आरुघाटमा बेलीब्रिज जडानका लागि पनि तयारी थालिएको छ । प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको जनाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र क्षतिग्रस्त पूर्वाधार पुन सञ्चालनका लागि आवश्यक काम अघि बढाइएको जानकारी दिएका छन् । तर, क्षतिग्रस्त सडक र पुलको पुर्नस्थापना, बेपत्ताको खोजी तथा प्रभावित परिवारको पुनर्वासमा कति समय लाग्ने भन्ने स्पष्ट भइसकेको छैन ।









प्रतिक्रिया दिनुहोस्