काठमाडौँ ।
गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सोमबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित पेस भएका सम्पूर्ण प्रस्तावहरू पारित गरेको छ ।
उक्त साधारणसभाबाट विकास बैंकको आव २०८२–८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको विकास बैंकको २०८३ असार मसान्तको वासलात, आव २०८२–८३ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्वीटिमा भएको परिवर्तनलगायत सोसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने तथा आव २०८३–८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरू पारित भएका छन् ।
हाल विकास बैंकको चुक्ता पूँजी रु.६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् विकास बैंकको जारी तथा चुक्ता पूँजी रु.६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ र पैसा ९४ पुग्नेछ । आइएसओ ९००१ः२०१५ र आइएसओ २७००१ः२०२२ मान्यताप्राप्त यस विकास बैंकले देशभर १२६ शाखा कार्यालयहरू, ५१ एटिएम एवं नवीनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।









प्रतिक्रिया दिनुहोस्