नेपालगन्ज (बाँके) ।
बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित वाटरपार्कनजिकै सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका १७ वर्षीय किशोर सक्सेस गौतमलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । पीडितका बुवा तथा संरक्षक अधिवक्ता सुरेशकुमार गौतमले नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र र नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको नगर विकास कार्यालयलाई प्रतिवादी बनाउँदै ५० लाख रूपैयाँ क्षतिपूर्ति माग गरी फिरादपत्र दर्ता गराएका हुन् ।
उपभोक्ता संरक्षण ऐन, २०७५ र मुलुकी देवानी संहिता, २०७४ बमोजिम क्षतिपूर्ति माग गरिएको जनाइएको छ । २०८३ असार १६ गते साँझ वाटरपार्क जाने मुख्य गेटनजिकै निर्माणाधीन सडकखण्डमा जमिनबाट करिब तीन फिटमाथि लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा आउँदा गौतम गम्भीर घाइते भएका थिए । सडक क्षेत्रमा पर्याप्त उज्यालो नहुँदा तार स्पष्ट नदेखिएको र त्यसै क्रममा करेन्ट लागेको फिरादपत्रमा उल्लेख छ ।
घटनामा गम्भीर घाइते गौतमको दाहिने हात र खुट्टामा गहिरो जलन भएको थियो । साथी बिराजमान शाहीको तत्परताले उनको ज्यान जोगिए पनि थप उपचारका लागि भारतको लखनउस्थित मेदान्ता अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार तथा प्लास्टिक सर्जरी गराउनुपरेको थियो । घटनाका कारण शारीरिक पीडासँगै मानसिक तनाव, उपचार खर्च र अध्ययनमा समेत असर परेको पीडित पक्षको भनाइ छ । कक्षा १२ मा अध्ययनरत गौतमको शैक्षिक प्रगति, भविष्यको करिअर र सामान्य जीवनयापनमा समेत दीर्घकालीन असर पर्न सक्ने भन्दै क्षतिपूर्तिको माग गरिएको हो ।
अधिवक्ता गौतमले सार्वजनिक सडकमा सर्वसाधारणको ज्यान जोखिममा पार्ने गरी विद्युत् तार लत्रिएको अवस्थालाई गम्भीर लापरबाहीका रूपमा लिनुपर्ने बताए । उनले भने, ‘सार्वजनिक सडकमा विद्युत् तार सुरक्षित अवस्थामा राख्नु सम्बन्धित निकायको दायित्व हो । त्यस्तो लापरबाहीका कारण मेरो छोराले गम्भीर शारीरिक क्षति बेहोर्नुपरेको छ । उपचार खर्च, शारीरिक तथा मानसिक पीडा र भविष्यमा पर्न सक्ने असरको न्यायोचित क्षतिपूर्ति दिलाउन अदालतको ढोका ढकढक्याएका छौँ ।’
फिरादपत्रमा हालसम्म भएको उपचार खर्च, भविष्यमा आवश्यक पर्न सक्ने उपचार तथा शारीरिक र मानसिक क्षतिबापत कूल ५० लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । साथै, घटनाको जिम्मेवारीका आधारमा प्रतिवादीहरूबाट संयुक्त वा व्यक्तिगत रूपमा क्षतिपूर्ति भराउन माग गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्