सरकारका ६ महिने प्रगतिको चर्चा



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत सार्वजनिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर कार्यसमितिको आयोजनामा सार्वजनिक भेटघाट कार्यक्रम सञ्चालन भएको हो । कोहलपुर नगरपालिका वडा नम्बर २ मनकामनामा सम्पन्न कार्यक्रममा अभियानअन्तर्गत कोहलपर पुगेका प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्यसँग नेता कार्यकर्ताहरूबीच अन्तरक्रिया गरिएको हो ।

‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत बाँके जिल्लामा खटिएका प्रतिनिधिसभा सदस्य कमल सुवेदी र केन्द्रीय सदस्य पार्वती थापा तथा कोहलपुरका नेता कार्यकर्ताहरूबीच समसामयिक विषयमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरकी उपसभापति गंगा पोखरेलले कोहलपुरमा संस्थागत र सामुदायिक विद्यालयमा तमाम समस्या रहेको बताइन् । उनका अनुसार विद्यालयमा नैतिक र व्यवसायिक शिक्षालाई जोड दिन आवश्यक छ ।

कोहलपुरका वन क्षेत्रमा रहेका प्राकृतिक स्रोतको सही सदुपयोग गर्न नसकेको भन्दै किसानका समस्या समाधानका लागि रास्वपा र रास्वपा नेतृत्वको सरकारको नीतिबारे प्रश्न गरिन् । कार्यक्रममा कोहलपुर –१० का युवा दिपेन्द्र कुँवरले आफ्नो वडामा डुबानको समस्या रहेको बताएका थिए । उनका अनुसार लामो समयदेखिको डुबानको समस्या समाधान हुन नसकेको र स्थानीय सरकारले पनि चासो दिएको छैन । त्यहाँका जनता लामो समयदेखि पीडामा रहेको भन्दै रास्वपाले डुबानको समस्या कसरी समाधान गर्छ भन्दै प्रश्न गरेका थिए ।

कोहलपुर–३ का युवा हिमाल शाहीले पुराना पार्टीमा हैरानी खेपेकाहरू नयाँ पार्टीमा आएको भन्दै उनीहरूलाई आशा दिलाउने पार्टीको नीति के छ भन्दै प्रश्न गरेका थिए । यस्तै युवा हिमलाल चौधरीले निरन्तर महंगी बढिरहेकोले राज्यले नीतिगत व्यवस्था गरेर मंहगी नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्दै प्रश्न गरे । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य कमल सुवेदीले बालेन्द्र शाह नेतृत्वको सरकारले ६ महिनाको अवधिमा सुशासन र समृद्धि आधार खडा गरेको बताए । रास्वपा नेतृत्वको सरकारले ६ महिनामा जनतामा आशा जगाउने खालका कामको थालनी गरेको उनले बताए ।

सुवेदीका अनुसार नेपालको संसदीय इतिहासमा वर्तमान सरकारले सबैभन्दा धेरै १२ वटा कानुन निर्माण र ३५ वटा कानुन संसद्मा पेस गर्न सफल भएको छ । उनले भने, ‘पार्टी स्थानीय तहको निर्वाचन केन्द्रित भइसकेको छ । जनताका समस्या समाधानका लागि हामीले स्थानीय तहमा जित्नै पर्नेछ । त्यसैले पार्टीले योग्यता र कर्मशिलताका आधारमा उम्मेदवार छनौट गर्छ । उम्मेदवार छनोट सम्बन्धित वडाका कार्यकर्ताले गर्छन् ।’

रास्वपाकी केन्द्रीय सदस्य पार्वती थापाले रास्वपाले सामाजिक लोकतन्त्रका सूचकमाथि काम गर्दै जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताइन् । आमनागरिकका समस्यालाई केन्द्रमा राखेर पार्टी काम गरिरहेको र सोहीअनुसार आफूहरू कोहलपुरका समस्या सुन्नको लागि आएको थापाको भनाइ थियो । थापाले भनिन्, ‘यो कानुन निर्माणको वर्ष हो । हामी सुशासनको जग बसाल्दैछौँ । अब स्थानीय तहको निर्वाचन जित्नुछ । त्यसैले हामी तयारीमा जुटिसकेका छौँ ।’

रास्वपा कोहलपुरका सभापति राजेन्द्र श्रेष्ठले पार्टीले सञ्चालन गरेको अभियानमार्फत अब आमनागरिकसँग जोडिनुको विकल्प नरहेको बताए । कार्यक्रमपछि प्रतिनिधिसभा सदस्य सुवेदी र केन्द्रीय सदस्य थापासहितका नेता कार्यकर्ताहरू कोहलपुर–११ चौराहास्थित जैविक पार्क अवलोकन गर्न पुगेका थिए । सार्वजनिक भेटघाट कार्यक्रममा कोहलपुर नगरपालिकाभरिका रास्वपाका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार