शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
नेपाली काँग्रेसका पदाधिकारी निर्वाचित हुने क्रममा सुरु भएको छ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी चारवर्षे कार्यकालका लागि केन्द्रीय सभापतिदेखि केन्द्रीय सदस्यसम्मको निर्वाचनको नतिजा आउन सुरु भएको हो । हालसम्म पार्टीका शक्तिशाली पदहरू सभापति, वरिष्ठ सभापति र महिला सभापति पदको अन्तिम नतिजा आइसकेको छ । निर्वाचन प्रक्रियामार्फत नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् ।
१५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराएर थापा सभापतिमा निर्वाचित भएका हुन् । विजयी थापाले ६ हजार ५८४ मत पाउँदा प्रतिस्पर्धी खड्गीले ३७५ मत मात्र ल्याएका थिए । १५औँ महाधिवेशनमा विधान संशोधन गरेर पहिलोपटक सिर्जना गरिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध चयन भइसकेका छन् । १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका शर्मा २०८२ पुसमा नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनमार्फत उपसभापति निर्वाचित भए ।
१५औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा वरिष्ठ उपसभापति निर्वाचित भएका हुन् । नेपाली काँगेसको दुई खुला उपसभापति पदमा डा. चन्द्र भण्डारी र ई. मधु आचार्य निर्वाचित भएका छन् ।उपसभापति खुलातर्फ भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत र आचार्यले २ हजार ३४२ मत प्राप्त गरी जित हासिल गरेका हुन् । यस पदका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेको नेपाली काँग्रेसले जनाएको छ ।
यस्तै, नेपाली काँग्रेसकी महिला नेतृ पुष्पा भुसाल उपसभापति (महिला)तर्फ निर्विरोध निर्वाचित भएकी छन् । उपसभापति (महिला)तर्फ कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । शर्मा २०८२ पुस महिनामा सम्पन्न नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएकी थिइन् । यसपटक काँग्रेसले महिला उपसभापतिको व्यवस्था गरेपछि भुसाल महिलातर्फ उपसभापतिमा निर्विरोध भएकी हुन् ।
यसैगरी समावेशीतर्फ उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् । सो पदका लागि निर्वाचनमा समावेशी उपसभापति पदका अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै चौधरी विजयी भएका हुन् । उक्त पदमा पूर्वसहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेतृ सीता गुरुङ र रञ्जित कर्ण चौधरी प्रतिस्पर्धी थिए । अन्तिम मतपरिणामअनुसार विजयी विनोदले १ हजार ७४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी जीवनले १ हजार ६५८ मत ल्याए भने यसैगरी फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ मत पाउँदा रञ्जित कर्णले भने सबैभन्दा कम ५६२ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा खुला र समावेशीतर्फ तीन जना महामन्त्री रहने व्यवस्था गरेको छ । तीनवटै पदका लागि भएको निर्वाचनमा खुलातर्फ प्रदीप पौडेल, उदयशम्शेर राणा, समावेशीतर्फ महामन्त्री (महिला)तर्फ डिला संग्रौला (पन्त) निर्वाचित भएका हुन् । महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले ४ हजार १९४ मतसहित विजयी भएका छन् । अर्का महामन्त्री उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गरेका छन् ।
खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका हुन् । महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ले २ हजार ८६४ मत प्राप्त गरिन् भने अर्की प्रतिस्पर्धी रीता खनालले ८०४ मत पाएकी छन् । सहमहामन्त्री पदको मतगणना जारी छ ।









प्रतिक्रिया दिनुहोस्