नेपालगन्ज ।
कवि तारा रोकायाको नवप्रकाशित कविता संग्रह जितको उज्यालोको गृहविमोचन गरिएको छ । नेपालगन्जमा एक कार्यक्रमका बीच कविता संग्रहको विमोचन गरिएको हो । भेरी साहित्य समाज र पूर्णतारा फाउण्डेसनको संयुक्त आयोजनामा भएको विमोचन कार्यक्रम प्रा. डा. गोपलप्रसाद शर्मा अधिकारीको प्रमुख आतिथ्यता तथा भेरी साहित्य आमाजका अध्यक्ष मीना बरालको अध्यक्षमा सम्पन्न भएको हो ।
पुस्तकको विमोचन प्रमुख अतिथि अधिकारी, वरिष्ठ साहित्यकार सनत रेग्मी, प्राज्ञ किरण आचार्यलगायतले गरेका थिए । विमोचनपछि कविता संग्रहमाथि कवि बीपी अस्तु, दीपेन्द्रबहादुर सिंह र प्रजापती नेगीले समीक्षात्मक टिप्पणी व्यक्त गरेका थिए । कवि अस्तुले रोकाया बाँकेका प्रकाशित कविहरूलाई चुनौती दिने गरी कविता लेखनमा उदाएकी बताए । उनले निजात्मक अनुभूति र सकारात्मक दृष्टिकोण कविको सबल पक्ष भएको बताए ।
समीक्षक सिंहले रोकायाका कवितामा समाजका विविध विषय र ती विषयहरूमाथि कविको अनुभूति मिसिएर आएका कविताहरू संग्रहमा रहेका बताए । समीक्षक नेगीले संग्रहका कविताहरूमा भाव विविधता र चिन्तनको विविधता रहेको बताए । उनले कविका लागि महत्वपूर्ण सुझावहरू पनि प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा कलाकार जहीरुल हक जीनु, साहित्यकार नेगी र फणिन्द्र आचार्यलाई सम्मान पनि गरिएको थियो । दसैँ तिहारलगायत चाडपर्वको शुभकामना आदानप्रदान पनि गरिएको उक्त कार्यक्रममा कवि चन्द्रावती अधिकारी, मिना ढकाल, निशु जोशी लगायतले रचना वाचन पनि गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्