कथाः कोइलीको प्रेम



भरतबहादुर रानाभाट

बसन्तको आगमनसँगै रुख बिरुवामा नयाँ पालुवाको वैँस चढ्दै थियो । चराचुरुङ्गीहरु रमाइरमाइ विभिन्न क्रियापलापमा व्यस्त थिए । कोइली, काग, जुरेली, ढुकुर, भँगेरा, फिस्टो लगायतका अनेक चराहरु आहारा खोज्न, प्रणयसुत्रमा बाधिन र नया गुँड बनाउन शुरक्षित स्थानको खोजिमा यताउता भौतारीरहेका थिए । यही सिलसिलामा चराहरु घरपछाडिको करेसा बारीमा पटकपटक आइरहन्थे । करेसाबारीमा आप, अम्बा, निम, लिप्टीस र कागतीका बिरुवामा बसेर आफ्नो आवाजले सुवास भर्थे । घर अगाडिको आपको रुखमा पनि यस वर्ष कोइलीकै घरबास थियो । त्यो रुखमा तीन वर्ष लगातार वर्षैपिच्छे कागले गुँड बनाएर बच्चा हुर्कायो । एउटै रुखमा तीन जोडी कागले गुँड बनाएर बच्चा हुर्काए । काग फोहोरी, हल्लाखोर, बाठो र एउटा कागलाई समस्या वा सत्रुले आक्रमण गर्न खोज्दा हल्ला गरेर सबै कागलाई एकजुट हुन आह्वान गर्ने, आफ्नो वर्गको हितको लागि आवाज बुलन्द गर्ने सामाजीक चरो हो । कागले फोहोर बढी गर्ने र आफ्नै घरको छतमा जो गएपनि ठुगेर बस्नै नदिने, कराउने बढी हल्ला गर्ने गथ्र्यो ।

घर पछाडि करेसाबारीमा पुरानो तरकारीलाई स्यहार सम्भार गर्ने र नयाँ तरकारी लगाउन खनखान गोडमेल गर्नु पर्ने झारपात टिपेर फाल्ने र पानी लगाउन करेसाबारीमा पटकपटक जान परीरहन्थ्यो । बैशाख महिनाको सुरुवात देखिनै करेसाबारीमा लामो पुच्छर भएको, शरीरको भाग सबै कालो तर पखेटा मात्र खैरो कलर भएका भालेपोथी चराहरु पटकपटक करेसाबारीमा देखा पर्न थाले । उनीहरु आइरहने, घुमीरहने आप, अम्बा लिप्टिस र निमको रुखमा बस्ने गरीरहन्थे । लिप्टिसको रुखमा बाक्लो मुना पलाएर हाँगा गुजुम्म परेर फैलिएको थियो । त्यो रुख आँधी आउँदा पटकपटक बिच भागबाट भाच्चिएको थियो । पलाएका हाँगाहरु वर्षैपिच्छे काटेर तरकारीलाई थाक्रा हालेर तरकारी फलाउने गरिन्थ्यो ।तर पलाएका मुनाहरु बाक्ला थिए । “ कोइली चरो बाठो हुन्छ । कागले बनाएको गुँडमा गएर पूmल पारेर छोडीदिन्छ । कागले आफ्नो पूmल भनेर बच्चा कोरल्दा कोइलीका बच्चा हुर्कन्छन् ” भन्ने कुरा सुनेको थिए, तर प्रत्यक्ष देख्न पाएको थिइन मैले । आफ्नै करेसाबारीमा यसपटक कोइली चराको भाले र पाथीको गतिबिधिलाई हरेक दिन साँझ बिहान आफ्नै आँखाले राम्रोसँग नियमित नियाल्ने मौका मिल्यो ।

कोइली चराको भाले केही ठुलो र पोथी केही सानो थियो । उनीहरुको माया परेवाको र ढुकुरको जस्तो जतिबेला पनि चुच्चो जोड्ने खालको भने थिएन । माया प्रेम गर्थे, तर झगडा हुँदैनथ्यो । भालेले “ म ठुलो हुँ ” भनेर घमण्ड गरेको देखिदैनथ्यो । पोथीले पनि भालेसँग “ मैलेमात्र काम गर्न प¥यो ”? भनेर ठाकठुक गरेर मुन्टो बटारेर भालेसँग रिसाई ठुस्स परेको कहिल्यै देखिएन । करेसाबारी तर्फ किचेन, बाथरुम, धारो समेत भएकोले बिहान बेलुका र दिनमा पनि काम परिरहने हुँदा करेसाबारी तर्फ हरदम आँखा जान्थे । यसरी हरेक काम बाहिरनै गर्नु पर्दा र बसेर चिया पिउँदा समेत कोइलीका भाले पोथीमाथि नजर परिरहन्थ्यो । बैशाख महिनाबाट कोइलीका लोग्ने स्वास्नीले गुँड बनाउन कम्मर कसेर लागे ।कोइलीका भालेपोथीले लामो समय मेहनत गरेर गुँड बनाउन थाले। करेसाबारीका साना साना काठका टुक्रा, सुकेको घाँस, उखुका सुकेका पात, घिरौलाका सुकेका झाल, लामो लामो सुकेको दुबो, पातलो जालीतार लगायतका झारपात चुच्चोमा बोकेर तलबाट स्टेप स्टेप आपको रुखमा चढेर लिप्टिसको रुखमा पुगेर गुँड बनाउथे ।

चारो खोज्दै पेट भर्दै दिनभरी काम गरी धेरै समय लगाएर गुँड तयार भयो । भालेपोथीले गुँड बनाउँदा “ मैले धेरै काम गरे, तैले थोरै काम गरिस्, मलाई आज थकाई लागेको छ, ” भनेर न भाले रिसाएको कहिल्यै देख्न पाइयो ? न पोथी नै कहिल्यै ठुस्सिएको देखियो । सधेँ एकैनास, सधै उत्साह, सधै उर्जामय व्यस्तता थियो उनीहरुको । यि कोइलीका भाले पाथीको व्यवहार देखेर म भने सारै प्रभावित भएँ । यिनिहरुका भाले र पोथीले मानिसलाई पनि सकारात्मक पाठ पढाएको जस्तो लाग्यो । हामी अहंकारी मानिसले कोइली चराबाट पो शिक्षा लिनु पर्ने देखियो । तीन महिना सम्मको लगातार उनीहरुको सामिप्य र गतिबिधिको निग्रानीले एउटा गतिलो पाठ पढाए मलाई पनि । आखिरी घर बनाउन, छोराछोरी हुर्काउन र पालनपोषण गर्न सबै प्राणीलाई गाह्रो हुन्छनै । तर हामी मान्छेको जात दुःख भयो भने निरास हुन्छौँ । तर कोइलीका भाले र पोथी सदावहार खुसी देखिन्छन् । उनीहरुको मेल मिलापनै उनीहरुको शक्ति देखियो ।

एकता र शान्त तरिकाले निरन्तर लगनसिल भएर काममा जुटेमा सफलता प्राप्त हुन्छ भन्ने कुरा कोइली चराको भाले पोथीको क्रियाकलापले प्रेरणादायी शिक्षा प्राप्त भयो । दुबैले मेहनतपूर्वक बनाएको गुँडमा पोथी कोइलीले अण्डा पारी । रुखमा चढेर हेर्ने चेष्टा भने गरिएन । पालोपालो भाले पोथी आफ्नो लागि चारो खोज्न जान्थे । परपर पुगेपनि तुरुन्तै गूँड नजिक आइहाल्थे । म हरेक दिन कुर्सीमा बसेर चिया पिउँदा पनि कोइलीसँग मौन संवाद गर्थे । उनीहरुको हेराई व्यवहार र लोग्ने स्वास्नी बिचको निस्वार्थ प्रेम, मित्रता देखेर मलाई पनि ईष्र्या लाग्न थाल्यो ।कोइली करेसा बारीमा आएको समयमा म कोइलीसँग नजिक नजिक हुन खोज्थे । तरकारीको झार टिप्ने बहाना, तरकारी टिप्ने बहान र तरकारीमा पानी लगाउने बहानाले करेसा बारीमा गइरहन्थे । कोइलीको भाले नजिकै रुखमा वा तरकारीको थाक्रामा बसेर मेरो गतिबिधि नियाल्थ्यो । म नजिक जान्थे ।

कोइलीले खाला भन्ने मनसायले एक कचौरा मकै कोइलीले देख्ने ठाउमा लगेर राखे तर कोइलीले ति मकै कहिल्यै खाएन । मानिसप्रतिको अविस्वास हो वा मन नपरेर हो ? म कोइली बसेको स्थानमा पुगेर कोइलीलाई जिस्क्याउथे ।

“ आउ कोइली मेरा हातमा एकपटक मात्र बसीदेउँ ”
“ तिमीहरु मानिस विश्वास गर्न लायकका हुन्छौ र ? ”कोइलीले मलाई पल्याक पुलुक गर्दै शङ्कालु पारामा व्यङग्य गरेझै लाग्थ्यो ।
“ तिमी मेरो घरको सदस्य जस्तै लाग्छ ,म केही गर्दिन, तिमीलाई स्पर्समात्र गर्न चहान्छु ?”
“ ए मनुवा ! वनजंगल सखाप परेर वातावरण बिनास गरी जिवजन्तुको बासस्थान खतरामा पु¥याउने को हो ”? अलि टाउको घुमाएर कोइलीले फेरि व्याङग्य ग¥यो ।
“ यो कुरामा म मात्र दोषी छु र ” ?
“ जिव जन्तुलाई शान्तिसँग बाच्न नदिने र जिव जन्तुको आहारा खोस्ने को हो? फोहोर गरेर वातावरण दुषित बनाउने को हो ? तिमी मनुवा सबै उस्तै हौ ”?
“ सबै देषको भागीदार म मात्र हो र ”? मैले भने ।
“सबै मानिस उस्तै हौँ ? हामी कसैलाई विश्वास गर्दैनौँ ”
कोइलीका यि मर्मस्पर्सी मौन व्यङ्ग्यवाण सुनेर म लज्जित भएँ ।

कोइलीको चुच्चो कागको भन्दा पनि तिखो थियो । कतै ठुङग्न पो आउला कि जस्तो गरेर मलाई छड्के हे¥यो । मलाई पनि डर लाग्यो । ऊ सचेत थियो । स्टपे स्टेप गरेर आँपका माथिल्ला हाँगामा सर्दै सदै लिप्टीसको रुख गुँडसम्म पुग्यो । कोइलीले बिहान पख साढे चार वा पउने पाँच बजे दुबै भालेपोथीले हल्ला गर्थे । उनीहरुको आवाज सुनेर अनेत्रको रुखमा बसेका कोइली पनि टाढाटाढाबाट पनि कराउथे । कुक कुक कुक कुक गर्थे घरीघरी पाच छ पटक लगातार कुककुककुककुककुक गर्थे । मन लागे कोहो? कोहो? कोहो? कोहो ? गरेर कराउँथे । कोइलीका भालेपाथीसँग मेरो अघोषित मित्रता कायम थियो । उनीहरुको गतिबिधि र क्रियाकलाप मलाई असाध्यै मन पथ्र्यो । कोइलीको गुँडबाट बच्चा चिचि चिचि गरेको आवाज सुनिन थाल्यो । भाले र पोथी बिहानै सबेरैबाट आहार खोज्न निस्कन्थे । तर धेरै टाढा पनि जान प्रदैनथ्यो ।

करेसाबारीको वरिपरि नै किरा, फट्याङग्रा ,छेपारो र घर नजिकैबाट माउसुली चुच्चोमा च्यापेर बचेरालाई चारो खुवाउथे । दिनभरी बचेरोलाई आहारा खोज्न निस्कन्थे । आपूm खान्थे । भालेपोथी बिच थकाई लाग्यो । “ तैले थोरै आहारा ल्याइस्, मैले धेरै आहारा ल्याए” भनेर मनमुटाव गरेको पनि देखिएन । ठुस्स परेको पनि देखिएन । जाँगर नभएर अल्छी गरेको पनि देखिएन । बरु दुबै भाले पाथी आफ्नो कर्तव्यप्रति सचेत थिए। बच्चा प्रतिको माया समान थियो । बच्चा हुर्काउने कार्यमाा दत्तचित्त भएर दुबै लागेको देखिन्थ्यो । एकदिन असार दोस्रो साताको साँझपख कोइलीका भाले पोथी लिप्टिसको रुखमा बसीरहेको समयमा अचानक बेगले बाजले झम्टियो । तर दुबै भालेपाथी कराउँदै भागेर केहीपरको रुखमा पुगेर ज्यान जोगाए । तर बच्चालाई भने बाजले लाने मेसो पाएन । कसोकसो बच्चा जोगिए । कोइलीका भालेपोथी फेरी केही समयपछिनै रुखमा आएर बसे ।

हरेक दिन कोइलीका गतिबिधि देख्ने र आवाज सुन्ने बानी परेको थियो मलाई । एकदिन बिहानै मर्निङवाक गएर आए । तर कोइलीको गतिबिधि शून्यप्राय लाग्यो । करेसाबारीको रुखमा हेरे दखिन । अवेर सम्म कुनै उपस्थिति नदेखेपछि घरमालिक्निीलाई सोधे । अघिल्लो दिनको दिउँसो काइेलीको एउटा बच्चा करेसाबारीमा खसेपछि कुकुरले झम्टेर साथमा ल्याएछ । घरमालिक्निले कुकुरबाट खोसेर अर्कोपट्टीको करेसाबारीमा छोडिछन् । त्यहीभएर बच्चा जताजता जान्छ, कोइलीका लोग्नी स्वास्नी पनि उतैउतै गएर करेसाबारी शून्य लागेको रहेछ । रुख अग्लो झुम्म परेको हुँदा बच्चा कति थिए ? एकिन भएन । तर अर्को दिन फेरि अर्को बच्च पनि करेसाबारीमा आयो । तर भुइँमा होइन । तरकारीको थाक्रामा बसेर चिचि चिचि गर्दै आमा र बुबासँग आहाराका लागि आँ आँ गर्दै हिँडिरहेको देखेँ । भालोपोथीले नजिकैबाट किरा फट्याङ्ग्रा चुच्चोमा च्यापेर खुवाउथे । म नजिक नजिक जान्थे । तर बच्चा पनि हल्का हल्का उडेर भुर्र भर्र गरेर भाग्न खोज्थ्यो । यो क्रम केही दिनसम्म चल्यो ।

कोइलीको बच्चा ठुलो भएर उड्न सक्ने भएपछि उनीहरुको बासस्थान फेरिएको छ । कहिलेकाहीँ आफ्नै गुँड भएको रुख र करेसाबारीमा देखापर्छन् । सानो बच्चा पनि पछिपछि लागेको देखिन्छ । तर अव उनीहरु बच्चा जता जता जान्छ, उतैउतै जान्छन् । मलाई भने उनीहरु कहाँ गए ? के गर्दै छन् ? भनेर सम्झना आइरहन्छ । करिब तीन महिना दश दिन आफ्नै करेसाबारीको रुखमा गुँड बनाएर बच्चा हुर्काए । उनीहरुको गतिबिधि नजिकबाट नियाले । कुनै पनि चरासँग यसरी सामिप्यता कहिल्यै बढेको थिएन । उनीहरु बच्चा लिएर गएपछि पनि कोइली चराहरु रुखमा आएका हुन्छन् । तर उनीहरुनै हुन् वा होइनन् ? एकिन भने कसरी गर्नु ?

जे होस् उनीहरुबाट सकारात्मक शिक्षा भने प्राप्त भयो । कतै कतै परको रुखमा कोइलीको आवाज सुनिन्छ । मलाई फेरि उनीहरुकै झल्को लाग्छ । ति अरु कोइली पनि हुनसक्छन् । एकदिन फेरि एउटा बच्चा सहित करेसाबारीमा कोइलीका भालेपोथी आए । बच्चाको पुच्छर लामै भएको रहेछ । त्यो बच्चा अहिले पनि आमा बुबासँग आँ आँ गरेर चारो भने मागीरहन्छ । बच्चा पनि उडेर टाढा जानसक्ने भएकोछ । त्यो देखेर मलाई खुसी लाग्यो । उनीहरु घर सम्झेर केही समय भएपनि आए र फेरि गए । मलाई भने त्यो देखेर टाढा टाढा चर्न गएका छोराछोरीहरु आफ्नो घर सम्झेर फर्केझै लाग्यो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १ गते शनिबार