बाँसगढी ।
बाँसगढी नगरपालिका–२ राँझा बेतहनीमा नाबालिका बलात्कार आरोपमा किटानी जाहेरी परेकामध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी–२ स्थित उनकै घरबाट मंगलबार उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
किटानी जाहेरी परेकामध्ये ८ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेर बर्दिया जिल्ला अदालतमा सामूहिक करणी मुद्दा चलाइसकेको छ ।
मंगलबार पक्राउ परेका युवक पनि १४ वर्षका छन् ।
घटना बाहिरिएलगत्तै फरार रहेका उनी आत्मसमर्पण गर्ने हिसाबले नै घरमा आएको थाहा पाएपछि प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय बाँसगढीका निमित्त कार्यलय प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) श्याम रोकाले जानकारी दिए । यसअघि पक्राउ परेका ८ जनामध्ये ५ जना पनि १४ देखि १७ वर्ष उमेरका छन् ।
आरोपितमध्ये २ जना अझै फरार छन् । उनीहरू पनि १५–१६ वर्षका भएको बुझिएको प्रहरीले जनाएको छ । ‘प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ,’ सई रोकाले भने, ‘उनीहरू भारततिर भागेको भन्ने सुन्नमा आएको छ ।
हामी उनीहरूलाई पनि पक्राउ गर्ने प्रक्रियामा छौँ ।’ गत तीजताका एक नाबालिकामाथि युवाहरूद्वारा सामूहिक रूपमा यौन दुव्र्यवहार भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले दुई पटक गरेर ८ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये धेरैजसो नाबालक नै थिए ।
पीडित नाबालिकाकी आमाले इलाका प्रहरी कार्यालय बाँसगढीमा ११ जनाविरुद्ध जर्बजस्ती करणीको आरोपमा किटानी जाहेरी दिएकी थिइन् । युवाहरूको समूहले आफ्नी छोरीमाथि पटक–पटक जबर्जस्ती करणी गरेको जनाउँदै सामूहिक बलात्कार आरोपमा उनले किटानी जाहेरी दिएकी थिइन् ।
ती नाबालिकामाथि पटक–पटक समूहमा करणीसमेत भएको पीडित र पीडक दुवैबाट खुल्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो ।
पीडक र पीडित नाबालिका सबै बाँसगढी–२ राँझा बेहतनीकै हुन् । नाबालिकामाथि तीजअघि करिब डेढ महिनादेखि लगातार समूहमा यौन शोषण हुँदै आएको पाइएको थियो । कहिले वनमा, कहिले घरमा त कहिले खोलामा लगेर युवतीमाथि दुई जनाभन्दा बढीको समूहबाट यौन शोषण भएको पीडकहरूले नै बयान दिएका थिए ।
१४ वर्षीया पीडित नाबालिका आफ्ना घरतिरका वृद्ध बाजेबज्यैसँगै राँझामा बस्दै आएकी थिइन् । उनका बाबु रोजगारीका लागि भारतमा थिए भने आमा पनि कामका लागि पूर्वी तराईको एक जिल्लामा थिइन् । परिवारमा अभिभावक भनेका वृद्ध बाजेबज्यै मात्रै थिए । यही मौका छोपेर उनीमाथि लगातार यौन शोषण हुने गरेको थियो ।
मुलुकी अपराध संहिता, ऐन २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको व्यवस्था गरिएको छ । जसअनुसार बालिग आरोपितहरूलाई करणीसम्बन्धी कसुरको उपदफा ३ (ग) अनुसार १४ देखि १६ वर्षकी बालिका करणीमा १२ देखि १४ वर्षसम्मको कैद सजाय हुन सक्छ ।
त्यस्तै, सोही परिच्छेदको उपदफा ७ बमोजिम सामूहिक रूपमा जबर्जस्ती करणी गरेको अभियोगमा ५ वर्षको थप कैद सजाय हुनसक्छ । नाबालक आरोपितको हकमा भने अदालतको बाल इजलासले फैसला गर्नेेछ ।









प्रतिक्रिया दिनुहोस्