बाँसगढीका व्यवसायी ओलीमाथि कुटपिट र लुटपाट



बाँसगढी ।

बर्दिया बाँसगढीका व्यवसायी नरबहादुर ओलीमाथि कुटपिट भएको छ । आफ्नो व्यापारसँग जोडिएको रकम उठाउनका लागि भुरीगाउँ गएको बेला बिहीबार बिहान १० बजे भुरीगाउँ चोकमै चारजनाको समूहका आएका अज्ञात व्यक्तिहरूले कुटपिट गरेको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बरालले जानकारी दिए ।

उनले ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र प्राथमिक उपचारपछि घरमै आराम गरिरहेका बरालले जानकारी दिए । ओलीलाई कुटपिट गर्नेहरूका साथमा खुकुरी लगायतका हतियार पनि रहेको र मानिसहरू भेला हुन थालेपछि भागेका जानकारी पाइएको उनले बताए । उनीहरूले ओलीको साथमा रहेको पाँच लाख रूपैयाँसमेत लुटेर लगेका उनको भनाइ छ । बर्दिया प्रहरीले शंकास्पद व्यक्तिहरूसँग सोधपुछ तथा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

बिहीबार उद्योग वाणिज्य संघले व्यापारी ओलीमाथि सांघातिक हमला भएको भन्दै खेद प्रकट गरेको छ । एक विज्ञप्ति जारी गर्दै संघले संघका सल्लाहकार समेत रहेका प्रतिष्ठित व्यापारी ओलीमाथि सांघातिक हमला तथा लुटपाटजन्य घटना भएको उल्लेख गर्दै व्यवसायीमाथि दिनदहाडै यस किसिमका घटना हुनु सिंगो देशकै लागि अभिशाप भएको उल्लेख गरेको छ ।

अध्यक्ष बराल र महासचिव विकास गौतमद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ । साथै यस किसिमका घटनाहरू दोहोरिन नदिन अनुरोध पनि गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार