17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

गुणस्तरीय क्षिक्षामा एक प्रयास ः गोरखा युनाइटेड पब्लिक स्कुल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०८०  

पुष्पराज लम्साल

गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्ने मूल उद्देश्यले केही ब्रिटिस गोर्खा सेना र सिंगापुर पुलिसबाट सेवानिवृत्त र सेवारत व्यक्तिहरूको सामूहिक प्रयासबाट बालबालिकाका लागि उज्यालो भविष्य नै शिक्षा पहिलो आवश्यकता भएको महसुस गरी शिक्षा ऐन अनुसार जिशिका बाँकेबाट अनुमति प्राप्त गरी शैक्षिक सत्र २०५७ सालमा स्थापना भई प्रारम्भमा १६५ जना विद्यार्थीबाट कक्षा नर्सरीदेखि कक्षा ५ सम्म पठनपाठनको सुरुवात भएको यस गोरखा युनाइटेड पब्लिक स्कुल हालसम्म आइपुग्दा शैक्षिक सफलताले जिल्ला तथा प्रदेशकै एक उदीयमान विद्यालयको रूपमा स्थापित एवं परिचित भएको छ ।

सञ्चालन भएको दोस्रो वर्षमा निमावि तह, तेस्रो वर्षमा मावि तह, शैक्षिक सत्र २०६५ सालदेखि +२ तहमा विज्ञान तथा व्यवस्थापन संकाय र शैक्षिक सत्र २०७५ देखि कृषि स्नातक तह (बीएस्सी एजी) पठनपाठन सुचारु रूपले हुँदै आइरहेको छ भने निजी विद्यालय कम्पनी ऐन २०५३ मा आधारित रही सञ्चालन गर्नुपर्ने नीति अनुरूप विसं २०५९ देखि कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाडौँबाट प्रालि कम्पनीको रूपमा र विसं २०६३ देखि आयकर ऐनमा व्यवस्था भएबमोजिम आन्तरिक राजस्व कार्यालय, नेपालगन्जबाट प्यानमा दर्ता भई वैधानकिता प्राप्त गरेको छ ।

विद्यार्थीका लागि आवश्यक सम्पूर्ण शैक्षिक एवम् भौतिक पूर्वाधारसहित ५ नम्बर प्रदेशको मुटु बाँके जिल्लाको कोहलपुर नपा–२ मा साढे दुई बिघा क्षेत्रफलमा फैलिएको छ । जसमा पचासभन्दा बढी फराकिला कक्षा कोठासहितका चारओटा आधुनिक भवन छन् । त्यसैकारण यस विद्यालय निश्चय पनि निजी क्षेत्रमा स्थापना र विकसित भइरहेको शैक्षिक संस्थाहरूमध्ये दुई दशकदेखि विशिष्ट योगदान पु¥याउँदै आएको एक नमुना र अब्बल शैक्षिक संस्थाको आकर्षणको केन्द्र तथा विद्यार्थीको छनोटमा सम्भवतः पहिलो हुन पुगेको छ भने अभिभावकज्यूहरूलाई आफ्ना बच्चाहरू पढाउनका लागि प्रोत्साहन र प्रेरित गरेको छ ।

यसको सशक्त प्रतिफल तत्कालीन विद्यालय व्यवस्थापन समितिको उच्च प्रतिबद्धता, त्याग एवम् समर्पणको सेवामुखी भावना रहेको पाइन्छ । विदेशमा दीर्घसेवा गरी अनुभव प्राप्त गर्नुभएका दक्ष व्यक्तिहरूले स्वेदशमा समेत देश विकासका शैक्षिक प्रयासहरूमा इँटा थप्ने कार्य जुन गौरवपूर्ण काम छ, त्यो वास्तवमै सराहनीय पनि छ । आफ्नो स्थापनाकालदेखि गरिमामय इतिहास बोकेको यो संस्था निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदानका लागि समर्पित छ ।

लक्ष्य तथा उद्देश्य

विद्यालयले आफ्नो घोषित उद्देश्यअनुसार विद्यार्थीलाई सदैव गुणात्मक शिक्षा, बहुआयामिक शिक्षण सिकाइ, नैतिक र अनुशासनमा जोड दिँदै यसका खातिर अनिवार्य र आवश्यक सबै पक्ष र स्रोतहरूको उचित प्रबन्ध गरी व्यावहारिक शिक्षालाई सदैव प्राथमिकता दिँदै आएको छ । अहिलेको २१औँ शताब्दीको युगमा ‘गुणस्तरीय शिक्षाका लागि सकारात्मक सोचको विकास’ भन्ने आफ्नो मूल नाराअनुरूप संस्थाको विकास निर्माणमा गरेको रणनीतिक गुरुयोजनाअनुसार आर्थिक तथा शैक्षिक क्रियाकलापहरू अगाडि बढाउँदै आइरहेको छ ।

संस्थाको दिगो विकासका लागि यस विद्यालयको भावी कार्ययोजना शैक्षिक स्तर वृद्धि गर्ने उद्देश्यका साथ हाल आएर देश, काल र परिस्थिति अनुसार यसलाई तीव्र गतिले अगाडि बढाइएको छ । ५ र ६ नं. प्रदेशलाई समेट्ने गरी विद्यार्थीहरूले इच्छाएको विषय अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि हाल गोरखाले ‘गोरखा पोलिटेक्निक कलेज एन्ड रिसर्च सेन्टर’ सञ्चालन गरेको छ जहाँ कृषि विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् ।

यस परियोजनाको मुख्य लक्ष्य राखी विद्यालयको १३औँ वार्षिक साधारण सभाले पारित गरी महत्वपूर्ण दूरगामी पाइला स्नातक तह कृषि विषय (बीएस्सी एजी) कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनबाट सम्बन्धन लिएर सञ्चालन गरिरहेको छ । यसक्रममा केही कानुनी झमेला पनि व्यहोर्नु परेको थियो । सर्वोच्च अदालतको फैसलापछि हाल बैजनाथ–४ बाँकेमा ‘गोरखा पोलिटेक्निक कलेज एन्ड रिसर्च सेन्टर’ सञ्चालन भई पठनपाठन हुँदै आएको छ । शैक्षिक सत्र २०७५ साल माघबाट पहिलो पटक २४ जना विद्यार्थीसहित सञ्चालन भएको यो परियोजना हाल चौथो ब्याचसम्म स्नातक तह कृषिको कक्षा नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले व्यवस्थापन पक्ष आवश्यक प्रक्रियाका लागि अगाडि बढिरहेको छ । आफ्नै स्वामित्व रहेको करिब ६ बिघा जग्गा क्षेत्रफलमा सञ्चालित उक्त कलेजका लागि आवश्यक भौतिक संरचनाको निर्माण, कृषि बाली तथा तरकारी उत्पादन र उन्नत जातको पशुपालन आदि कार्यहरू सुरु भइरहेकोे छ । संस्थाको भौतिक संरचनाको क्षमताअनुसार भावी दिनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सम्बन्धनमा जेटिए, ओभरसियर, सर्भेयर, इलेक्ट्रिसियन, कम्प्युटर आइटी आदि विषयका थप कक्षाहरू सञ्चालन गर्ने योजना रहेको छ । साथै भविष्यमा कलेजबाट विश्वविद्यालयमा आधारित दिगो, सबल र सक्षम शिक्षण सेवा प्रदान गर्ने संस्थाको रूपमा विकसित गर्ने परिकल्पना रहेको छ ।

परीक्षा तथा मूल्यांकन प्रणाली

समयानुकूल आवश्यक सबै ज्ञान, सीप र प्रवृत्ति विकासका लागि बेलाबेलामा विद्यालयको आफ्नै आयोजनामा हरेक शैक्षिक सत्रको सुरुमा शिक्षक अभिमुखीकरण तालिम र गोष्ठीहरू सञ्चालन गर्दै आइरहेको छ । आधुनिक शिक्षा पद्घतिलाई आत्मसात् गरी अध्ययन अध्यापनलाई प्रभावकारी बनाउनका लागि वस्तुपरक र पाठपरक शिक्षण विधिको अवलम्बन गर्दै आएको छ ।

तालिमको प्रभावकारिताले लेखाजोखा गर्ने र यससम्बन्धी अनुगमन र मूल्याङ्कन गर्ने परिपाटीलाई नवीनतम शिक्षण विधि र पद्धतिलाई लागू गर्न विद्यालयले तहगत रूपमा ३ जना संयोजकको निगरानीमा कार्य गर्ने नीति अपनाएको छ भने विभिन्न विषय विभागका ५ जना शिक्षकहरूबाट विषयगत रूपमा रहेका विभिन्न समस्याहरूलाई सहजीकरण गर्ने रणनीति अगाडि बढाएको छ । हाल शैक्षिक सुपरभाइजरको रूपमा १ जनालाई नियुक्त गरी शैक्षिक पक्षलाई नियमति अनुगमन र समस्याको निराकरणमा जोड दिइएको छ । यसले पनि शिक्षकहरूलाई उत्प्रेरणा दिने काम भएको छ ।

शैक्षिक सत्र २०६९ देखि विशेष गरी पूर्वप्राथमिक तहमा स–साना बाबु÷नानीहरूलाई मन्टेश्वरी प्रणालीको अवधारणा स्वरूप अध्यापन गराउने विद्यार्थीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी बच्चाको परीक्षा तथा अन्य मूल्यांकन पद्धतिलाई हाल केजीदेखि १२ कक्षासम्म क्रमिक रूपमा गे्रडिङ प्रणालीमार्फत छुट्टाएर विद्यार्थीको नतिजा प्रकाशन गरेको छ । एक असल शिक्षकले विद्यार्थीहरूको प्रकृति थाहा पाउनै पर्दछ भन्ने हेतुले विगत दुई वर्षदेखि बाल सिकाइ मनोविज्ञानमार्फत समस्या देखिएका र कमजोर विद्यार्थीहरूको पहिचान गरी परामर्शसम्बन्धी अभिभावकबीच अन्तक्रिया गर्दै विज्ञहरूबाट त्यसको समाधानका लागि उपाय पत्ता लगाइनेछ भने जसले गर्दा विद्यार्थीको क्षमता तथा मनोबलमा अभिवृद्धि गराउनुका साथै उचित मार्ग निर्देशन दिनेमा पनि उत्तिकै चासो राखेको छ ।

यसले विद्यार्थीमा कच्चा उमेरका कारण हुने अनेक किसिमका जोखिमलाई बेलैमा न्यूनीकरण गर्न सकिन्छ । त्यसका लागि विद्यालयले वैयक्तिक रेखदेखको विधि अपनाएको छ । विद्यालयको शैक्षिक व्यवस्थापनलाई मर्यादित पु¥याउन शिक्षक÷अभिभावक उपसमिति गठन गरिएको छ भने बालबालिकाको हकहितका लागि बाल संरक्षण उपसमिति पनि गठन गरिएको छ । विसं २०७० देखि विद्यालय परिसर भित्रै एउटा छुट्टै गोरखा चिल्डे«न पार्क (बाल उद्यान) निर्माण गरी स–साना विद्यार्थीहरूलाई विभिन्न किसिमको मनोरञ्जनात्मक खेलहरू गराउने अभ्यासको थालनी गरिएको छ ।

यसबाहेक विद्यार्थीको परीक्षा र आन्तरिक तथा बाह्य मूल्याङ्कनसम्बन्धी गतिविधिहरू अनुशासन समिति र परीक्षा बोर्डले गर्ने कार्यलगायत शैक्षिक र अतिरिक्त क्रियाकलापहरू विद्यालयको वार्षिक क्यालेन्डरबमोजिम निर्दिष्ट प्रक्रिया अनुसार गर्ने गरिन्छ । विद्यालयको शैक्षिक कार्यक्रम र गतिविधिहरू पारदर्शी र वस्तुपरक होऊन् भन्ने ध्येय राखी वर्षमा कम्तीमा तीन पटक (हरेक त्रैमासिक परीक्षापछि) विद्यार्थी, अभिभावक र शिक्षकलाई राखेर अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिन्छ । विद्यार्थीको निरन्तर मूल्यांकन होस् भन्ने उद्देश्यले उनीहरूको गृहकार्य, दैनिक उपस्थिति र प्रत्येक पाठपछि क्लास टेस्ट आदिका आधारमा मासिक रूपमा मूल्यांकन रिपोर्ट तयार गरिनेछ ।

परीक्षा प्रणालीमा हरेक विषयको वस्तुगत प्रश्नपत्र बनाई विद्यार्थीलाई नियमित अभ्यास गराउँदै आएको छ । हरेक त्रैमासिक परीक्षाको नतिजापछि कमजोर विद्यार्थीका लागि बेसिक इम्प्रुभमेन्ट क्लास, अतिरिक्त कोचिङ कक्षा सञ्चालन गर्नुका साथै विक्ली टेस्ट गरिन्छ, भने कक्षा–८ देखि १० सम्म अतिरिक्त कोचिङ कक्षा (साँझ–बिहान) निःशुल्क रूपमा सञ्चालन गर्ने गरिएको छ । व्यवस्थापन पक्षको निर्णयले पठनपाठनमा आपूmलाई अब्बल दर्जामा स्थापित गर्दै सकारात्मक नतिजा ल्याउन विद्यालय सफल भएको छ ।

त्यस्तै, कक्षा ११ र १२ का लागि थप युनिट परीक्षा सञ्चालन गरिएको छ । पाठ्यक्रमको हकमा हाललाई शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रद्वारा तयार गरिएका र अनुमति प्रदान गरिएका पाठ्यपुस्तकहरू मावि तह (कक्षा–१२) सम्म पठनपाठनका लागि उपयोग गरिएका छन् । शैक्षिक सत्र २०७१ देखि ३ सय जना विद्यार्थीका लागि क्षमता रहेको सभाहलमा ओभरहेड प्रोजेक्ट तथा मल्टी मिडिया जस्ता सामग्री प्रयोग गरी विद्यार्थीलाई कठिन विषयहरू पनि सरल ढंगले बुझाउने प्रयास गरिएको छ ।

कक्षा नर्सरीदेखि १० सम्म ‘सी’ सेक्सन सञ्चालनमा आएको छ भने आगामी दिनहरूमा संस्थाको नीतिगत विकास गरी बढ्दो शैक्षिक प्रतिस्पर्धा उत्कृष्ट शिक्षण सेवालाई थप बिस्तार गर्दै जाने हेतुले २०७८ सालको चैत १९ र २० गते सञ्चालक, शिक्षक तथा शिक्षाविद्बीच बसेको पञ्चवर्षीय गुरुयोजना कार्यशालासम्बन्धी बैठकले विद्यालयको भौतिक संरचना स्तरोन्नति र शैक्षिक सुधारका विविध रणनीति तय गरी चरणबद्ध रूपमा कार्यहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

विद्यार्थी सुविधाहरू

हरियालीयुक्त शान्त वातावरण, सुन्दर गार्डेन, विभिन्न पन्छीहरू रहेको, पर्याप्त खेलकुद मैदान, सुविधापूर्ण कक्षाकोठा, चौबीसै घन्टा जेनेरेटरसहितको व्यवस्थित कम्प्युटर ल्याब, सुव्यवस्थित लाइब्रेरी, ई–लाइब्रेरीको प्रयोग इन्टरनेट, मल्टी मिडिया प्रोजेक्टरसहितको सेमिनार हल, व्यवस्थित विज्ञान प्रयोगशाला, राम्रो यातायातको सुविधा, छुट्टै प्राथमिक उपचार कक्ष, स्कुल क्यान्टिन र छात्रावासको व्यवस्था आदि भौतिक सुविधामा निरन्तर प्रगति यस विद्यालयको थप विशेषता हुन् । अतिरिक्त क्रियाकलाप फिल्ड भिजिट, शैक्षिक भ्रमण, सेमिनार आदि मार्फत विद्यार्थीको क्षमता अभिवृद्धि गरी मनोविज्ञान बुझेर पढाउनु अर्को विशेषता रहेको छ ।

त्यसैगरी, शिक्षक तथा कर्मचारीहरूमा ५ लाख र विद्यार्थीहरूमा ५० हजारसम्मको निः शुल्क २४ घन्टे सामूहिक दुर्घटना बिमा सुविधाले सुरक्षित भविष्यतर्फ अग्रसर हुनुपर्दछ भन्ने बिमा नीति अपनाएकोे छ । विद्यार्थीहरूलाई विद्यालयको आवश्यक सूचनाहरू मोबाइल एसएमएसद्वारा अभिभावकहरूलाई जानकारी दिने थप सुविधाको व्यवस्था रहेको छ । विद्यालयले विद्यार्थीको सुरक्षालाई दृष्टिगत गरी सिसिटिभी जडान मूल गेटमा गरिसकेको र अन्य ठाउँमा पनि क्रमिक रूपमा जडान गर्ने योजनाका साथ व्यवस्थापक पक्ष अगाडि बढेको छ । विद्यालयले सकभर बालमैत्री, अपांगमैत्री कक्षाकोठा बनाउने काम गरिरहेको छ ।

अहिलेको नयाँ भवनमा अपांगमैत्री सुविधा भ¥याङ निर्माण गरिएको छ जसले सहज रूपमा कक्षाकोठा पुग्न सकिन्छ । साना बालबालिकाको स्कुल ब्यागको तौललाई न्यूनीकरणका लागि कक्षा ५ सम्मका मुख्य विषयहरूको एक सेट पुस्तक विद्यालयले कक्षाकोठामा राख्ने व्यवस्था गरेको छ । साना बालबालिकाको शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउनका लागि हाल केजीदेखि एक कक्षासम्म स्मार्ट टिभी जडान गरी इन्टरनेटमार्फत प्रत्यक्ष देखेर सिक्ने भिजुअल क्लास रुम विद्यार्थीहरूको व्यवस्था गरिएको छ ।

व्यावहारिक शिक्षामा जोड दिँदै कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूका लागि प्रयोगात्मक अभ्यास गराउनका लागि म्याथ ल्याबको व्यवस्था गरिएको छ । विद्यालयले ढिलै भए पनि प्रविधिको प्रयोगमा एक फड्को मारेको छ । अब स्मार्ट बोर्डको प्रयोग गरी कृषि कलेज (बीएस्सी एजी) कक्षामा सुरुवात भएको छ भने आगामी दिनमा क्रमिक रूपमा अन्य कक्षामा जडान गरिनेछ । विद्यार्थीहरू आफैँले विविध शैक्षिक गतिविधि समेटेर तयार पारिएको लेख, रचनासहितको चौमासिक ‘कदम’ भित्तेपत्रिका र ‘नव किरण’ साहित्यिक पत्रिका नियमित प्रकाशित गर्दै आएको छ । विसं २०६५ सालदेखि विद्यार्थीको सुविधालाई ध्यानमा राखी एसइई परीक्षापछि उच्च शिक्षा अध्ययनका लागि तयारी कक्षा विज्ञान विषयको ब्रिज कोर्स अध्यापन पनि गराउँदै आएको छ ।

शैक्षिक उपलब्धि

कुशल नेतृत्व, प्रतिबद्घ शिक्षक, सामूहिक भावना, अनुशासित र मिहिनेती विद्यार्थी उत्साहजनक परीक्षाफलका आधार हुन् । विद्यालय स्थापना वर्षदेखि हालसम्मको शैक्षिक उपलब्धिलाई लेखाजोखा गर्नुपर्दा सर्वप्रथम २०६० सालमा एसएलसी परीक्षामा सहभागी भई प्रत्येक वर्ष शतप्रतिशत विद्यार्थीहरू उत्तीर्ण गराउनु नै सफल अनुकरणीय प्रयास भएको मान्नुपर्दछ । तसर्थ, २०६३ सालको एसएलसी परीक्षामा बाँके जिल्लाबाट छात्रातर्फ प्रथम छात्रा सुमन राना (८५.६३%), त्यसैगरी २०६६, २०६७ र २०६९ सालमा मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमै प्रथम स्थान हासिल गर्ने छात्रहरू क्रमशः सन्देश केसी (९२.५०%) ऋषिराज शर्मा (९१.३८%),अक्षयकुमार रावल (९०.३८%) को सफलताले विभिन्न संघसंस्थाहरूबाट पुरस्कृत भएकाले अझ थप हौसला र प्रेरणा प्राप्त भएको छ ।

विद्यालयलाई यिनै एसएलसी परीक्षा नतिजा मूल्यांकनको आधारमा विस २०६७ र २०७० मा गरी २ पटक राष्ट्रको शिक्षा क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै नेपाल सरकार शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा संस्थागत विद्यालयतर्फ मध्यपश्चिम क्षेत्रबाट प्रथम भई राष्ट्रिय शिल्ड, ध्वजा र नगद १ लाख पुरस्कारबाट पुरस्कृत भएको थियो भने त्यसैगरी २०७३ सालको एसइई परीक्षाको नतिजाका आधारमा ५ नम्बर प्रदेशमा उत्कृष्ट विद्यालय घोषित भई पुनः तेस्रो पटक राष्ट्रिय पुरस्कारबाट विभूषित भएको थियो ।

२०७५ सालको एसइई परीक्षाको नतिजाका आधारमा कोहलपुर नगरपालिका शिक्षा शाखाबाट आयोजित राष्ट्रिय शिक्षा दिवस– २०७६ को अवसरमा संस्थागत विद्यालयतर्फ उत्कृष्ट विद्यालय घोषित भई नगद १५ हजार रुपैया र प्रमाणपत्रबाट पुरस्कृत भएको थियो । शिक्षाप्रतिको लगाव र परिश्रमको कारण गतवर्ष राष्ट्रिय शिक्षा दिवस २०७२ को अवसरमा शिक्षा क्षेत्रमा प्रशंसनीय कार्य गरे बापत विद्यालय सञ्चालक समितिका अध्यक्ष केशरबहादुर आले र शैक्षिक सल्लाहकार राजेन्द्र बहादुर गुरुङलाई राष्ट्रिय शिक्षा पदकबाट सम्मानित गरिसकेकाले एक सक्षम र सबल शिक्षण संस्थाको रूपमा आफ्नो विशिष्टताको परिचय दिएको छ ।

जसको फलस्वरूप विद्यालयले छोटो समयमा यस क्षेत्रमा मात्र नभई राष्ट्रिय स्तरमा पनि आफूलाई चिनाउन सफल भएको छ । विद्यालय स्तरीकरण मूल्यांकन मापनमा समेत यो संस्था २०७० सालदेखि बाँके जिल्लाको एक मात्र ‘क’ श्रेणीमा वर्गीकृत संस्थागत विद्यालयका रूपमा कायम हुँदै आएको छ । विगतका केही वर्षदेखि कक्षा ११ र १२ तर्फ विज्ञान र व्यवस्थापन संकायको बोर्ड परीक्षामा पनि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको कारणले आफ्नो सुनिश्चित भविष्यका लागि विद्यार्थीहरूको पहिलो गन्तव्य बन्दै गइरहेको छ ।

शैक्षिक यात्रामा २२ वर्षपुरा गर्दा विद्यार्थी तथा अभिभावकहरूले देखाएको स्नेह, समर्थन तथा विश्वसनीयताका लागि विद्यालय हृदयदेखि नै उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छ । मानिसभित्र रहेको सम्पूर्ण प्रतिभाको पहिचान र प्रस्फुटन नै शिक्षाको मूल उद्देश्य हो भन्ने कथनलाई मूलमन्त्र बनाई त्यसलाई व्यावहारिक रूपमा सार्थक बनाउन यस शैक्षिक संस्थाले विभिन्न अतिरिक्त क्रियाकलापको नियमित अभ्यास एवम् प्रस्तुतीकरण गराउँदै आएको छ ।

हाल विद्यालयमा केजीदेखि मावि (कक्षा १२) र स्नातक तह कृषि गरी जम्मा १ हजार ७ सय १० जना विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्दै आइरहेको छ । छात्रवासतर्फ ९५ जना विद्यार्र्थी आवासमा रहेका छन् भने शिक्षक मावितर्फ ८५ जना, प्रशासनिक कर्मचारी ३७ र कृषि कलेजमा प्राध्यापक र कर्मचारी ५ जना गरी जम्मा १ सय २७ जना कर्मचारीहरू कार्यरत छन् । शिक्षणमा समर्पण र लगाव छ । आफ्ना विद्यार्थीलाई जसरी पनि राम्रो गराउनुपर्छ भनेर विद्यालय व्यवस्थापन मिहिनेतका साथ लागिपरेको छ ।

समग्रमा यो विद्यालय अनुभव, विशेषज्ञता र गुणस्तरीयताको त्रिवेणी बनेको छ । साथै अभिभावकहरूको विश्वासमा कुनै किसिमको आघात पुग्न नदिन विद्यालय प्रशासन प्रतिबद्घता व्यक्त गर्दछ । पटक–पटक राष्ट्रिय पुरस्कार पाउँदै आएको विद्यालय आगामी दिनहरूमा साख गिर्न नदिने गरी विद्यार्थीको रुचि र आवश्यकता अनुसारको पठनपाठनमा प्रतिबद्घ रहने गरि सम्बधित पक्ष सचेत छ ।

विद्यालयको सम्पूर्ण भौतिक स्रोत र साधनलाई पनि आजको आवश्यकता अनुसार सुधार र स्तरोन्नति गर्दै जानुपर्ने देखिएकाले आगामी वर्षमा सम्पूर्ण शिक्षण सेवालाई अझ गुणस्तरीय रूपमा उपलब्ध गराई आदरणीय अभिभावकहरूलाई उचित प्रतिफल दिलाउनेतर्फ क्रियाशील रहनेछ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०८०     9:57:25 AM  |