सहमतिमा आउँदै धनगढी १८ का वडाध्यक्ष रिजाल



शेरबहादुर ऐर । कैलाली ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजाल विवादित बनेपछि सहज अवतरणको खोजीमा रहेका छन् ।यस मिसन टुडे दैनिकले ‘विवादित वडाध्यक्ष रिजालः एउटाको जग्गा अर्कैको नाममा सिफारिस’ र ‘वडाअध्यक्ष कार्यकक्षमा तालाबन्दी’ शीर्षकमा समाचार प्रकाशनको एक महिना बढीपछि उनी सहज अवतरणको खोजीमा रहेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ बस्ने जमुनादेवी ओझाले खरिद गरेको यकिन जमिन उनकै नाममा र लालीदेवी सार्कीको जमिन उनकै नाममा कायम गर्ने गरि सहमति भएको छ ।

वडाध्यक्ष रिजालको संयोजकत्वमा भएको बैठकको निर्णयमा भनिएको छ – ‘४’ ‘ठ’ को कित्ता नम्बर ६३ को जग्गामध्ये जमुनादेवी ओझाले सुकुम्वासी समस्या समाधान आयोगले नापजाँच गर्दाको बखत दुई कट्ठाबाट कम हुन आउने जग्गा लिने र बाँकी जग्गा लालीदेवी सार्कीको नाममा बनाउने सहमति भयो ।’ यसअघि सो जग्गामा एकल ओझाकै दाबी रहेको थियो । यस मिसन टुडेले प्रकाशन गरेको समाचारअनुसार रिजालले आफ्नो चरित्र हत्या गरेको भन्दै सो निर्णयमा उल्लेख गरेका छन् ।

तर, हामीले प्रकाशन गरेको समाचारमा कुनै जग्गा खरिद विक्रीबारे जानकारी गराइएको थिएन । स्वयम वडाध्यक्षसँग बुझ्दा सोबारे जानकारी दिएनन् । अहिले एक महिनापछि यकिन गराए । तर, अझै वडाध्यक्ष रिजालले केही व्यक्तिहरूसँग रकम लिएर ठगी गरेको पाइएपछि उनको कार्यकक्षमा तालाबन्दी गरेको विषयमा खुलेर बोल्न सकेका छैनन् । हामीलाई प्राप्त सूचनाअनुसार वडाध्यक्ष रिजाल अहिले कृष्ण विकलाई केही सञ्चारकर्मी, व्यवसायी, समाजसेवीको प्रभावमा पारि सो घटना सार्वजनिक गरिएको भन्दै आफू निकटका व्यक्तिहरू पठाई सहमतिमा ल्याउने प्रयास भइरहेको छ ।

सो सहमतिमा हस्ताक्षर गरेर लिएको रकममा एक लाख थप गर्ने वडाध्यक्ष रिजालले मौखिक व्याख्या गरेका छन् । स्थानीय कृष्ण विकले भने, ‘मैले वडाध्यक्ष रिजाललाई दिएको रकम फिर्ता मागेको छु तर, अहिलेसम्म फिर्ता दिएको छैनन् । फोन सम्पर्क पनि भएको छैन् ।’ सोही ठाउँका पीडित कृष्ण विकले दुई साताअघि धनगढीमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष रिजालले आफूबाट जग्गाधनी पुर्जा नापजाँच गराइदिने नाममा पैसा लिएको बताएका थिए । ‘जग्गा नाममा गराइदिने भनेर वडाध्यक्ष रिजालले पैसा लिएको हो ।

मेरो जग्गाको निस्सा पनि आएको थियो । वडामा नाम पनि आएको थियो । फाइल पनि आएको थियो । पछि फाइल रोकियो । वडाध्यक्षले माथि विवाद भएर फाइल रोकिएको हो, खर्च लाग्छ भन्नुभयो । अनि पैसा दिएको हुँ ।’ उनले भने ‘पहिला तीन लाख मागेको हो । पछि दुई लाखमा कुरा मिल्यो । त्यसपछि मैलै असार २३ गते नगदै दुई लाख दिएको हुँ ।’ रिजालले उनलाई मात्र नभई १८ नम्बरको नुक्लीपुरमा वर्षौँदेखि जमिन उपभोग गर्दै आइरहेका स्थानीयको नाममा जग्गा सिफारिस नगरि कुनै एक व्यक्तिको नाममा जग्गा दर्ताका लागि सिफारिस गरेको पाइएको थियो । वडाध्यक्ष रिजालले प्रलोभनमा परि टोल विकास समिति बैठकमा निर्णय नभएको विषयलाई आधार बनाउँदै गोदावरी नगरपालिका वडा नम्बर ५ बस्ने प्रद्युम्नराज पाण्डेसमेत ७ नम्बर फाँटवारीमा नाममा जग्गा दर्ता सिफारिसका लागि भूमिसुधार तथा मालपोत कार्यालयमा पठाएको पाइएको हो ।

यही असोज २३ गतेको सो सिफारिसमा भनिएको छ – ‘जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ५ बस्ने वारेश पदमबहादुर चन्द (प्रद्युम्नराज पाण्डे लगायतका वारेश)ले यस धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को सिट नम्बर १०९६ को कित्ता नम्बर क्रमशः १, २३ र १२ मा पर्ने सम्पूर्ण जग्गाहरू विक्रम संवत् १९९३ सालमा स्व. जनकराज पाण्डेले लालमोहरबाट प्राप्त विक्रम संवत् २०१९ सालमा काठमाडौँ दोस्रोे मालबाट रैकर प्रमाणित गराई विक्रम संवत् २०२१ सालमा जनकराज पाण्डेको नाति गोविन्दराज पाण्डेको छोरा प्रद्युम्नराज पाण्डेको नाममा ७ नम्बर फाँटवारी कायम भएको लगत साविक लगतलगायत कागजातका आधारमा सो धनगढी उपमनपा वडा नं. १८ भूपू सैनिक क्षेत्रको जग्गा छुट दर्ताको लागि श्री भूमिसुधार तथा मालपोत कार्यालय कैलालीलाई सिफारिस गरीपाउँ भनी यस वडा कार्यालयमा मिति २०८२–०५–०९ गते दिएको निवेदनबमोजिम यस कार्यालयबाट जग्गा दर्ताका लागि सिफारिस गरिएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार