क्रियाशील पत्रकार महिलाको वार्षिकोत्सव सम्पन्न



नेपालगन्ज ।

क्रियाशील पत्रकार महिला बाँकेको १८औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ । वार्षिकोत्सवका अवसरमा नेपालगन्जमा पत्रकारहरूलाई सम्मान, स्मारिका प्रकाशन र छलफल कार्यक्रम गरिएको हो । वार्षिकोत्सवका अवसरमा संगठनका संस्थापक अध्यक्ष अक्षरी पोखरेल, पत्रकार सन्ध्या गैरे र कलाकार नविना रानाभाटलाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा बाँकेका महिला पत्रकारका गतिविधि र सिर्जनाहरू समेटिएको स्मारिका ‘हाम्रो आवाज’को विमोचन पनि गरिएको थियो । संगठनका अध्यक्ष सावित्री गिरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष रामकला खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला पत्रकारिताको विकास, चुनौती र आगामी दिशाबारे छलफलसमेत भयो । कार्यक्रममा बोल्दै खड्काले पत्रकारितामा महिलाको अर्थपूर्ण सहभागिताबिना महिलाका मुद्दाहरूले प्राथमिकता नपाउने बताइन् ।

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य झलक गैरेले पछिल्लो समय पत्रकारिता पेशालाई पत्रकार स्वयंले नै कमजोर बनाइरहेको भन्दै चिन्ता व्यक्त गरे । गैरेले पनि पत्रकारितामा महिलाहरूको उपस्थिति कमजोर भयो भने महिलाका मुद्दा कमजोर हुने बताए । कार्यक्रममा सहभागीहरूले पत्रकार महिलाहरूका लागि कार्यस्थलमा हुने लैङ्गिक विभेद, सुरक्षा चुनौती, पारिश्रमिकमा असमानता र नेतृत्व तहमा अवसरको कमी जस्ता समस्याहरू अझै कायम रहेको बताएका थिए । उनीहरूले व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालिमको अवसर र सञ्चार गृहहरूमा महिलामैत्री नीति हुनुपर्नेमा जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार