ब्राउनसुगरसहित कोहलपुरबाट बैजनाथ– ३ का वडाध्यक्ष राम चरणसहित चार पक्राउ



कोहलपुर ।

लागूऔषध ब्राउनसुगर प्रयोग गरेको आरोपमा कोहलपुरबाट एक वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले सोमबार लागूऔषध ब्राउनसुगर प्रयोग गरिरहेको अवस्थामा वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा नम्बर– ३ अध्यक्ष राम चरण थारु रहेको ईलाका प्रहरी कार्यालय कोहलपुर स्रोतले जनाएको छ । अन्य पक्राउ पर्नेमा सोही ठाउँकै सुरज थारु, सुन्दर थारु र धुव्र थारु रहेका छन् ।

ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागूऔषध भुइँमा फालेका थिए । ‘हाम्रो टोली त्यहाँ पुग्दा ब्राउनसुगर भुइँमा फालेका थिए’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले ब्राउनसुगरको मात्रा पहिचान हुन सकेको छैन ।

थप अनुसन्धान गरिरहेका छौं ।’ ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले चारै जना प्रयोगकर्ता मात्र भएको अनुसन्धानबाट खुलेको जानकारी दिए । स्थानीय स्रोतका अनुसार पक्राउ परेका वडाध्यक्ष थारु पहिलेदेखि नै लागूऔषध ब्राउनसुगरका प्रयोगकर्ता थिए ।

सोही क्रममा सरकारी मोटरसाईकल ल्याएर सोमबार कोहलपुरमा ब्राउनसुगर खान आएको बेला उनी पक्राउ परेका हुन् । यसबारे थप अनुसन्धान अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पक्राउ परेका वडाध्यक्ष थारु २०७५ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ ३ गते सोमबार