ओली-नेपाल पक्षका छुट्टाछुट्टै बैठक आज



दुई पक्षबीच बिबाद चलिरहेको नेकपा एमालेमा आज भिन्नभिन्नै बैठक बस्दैछ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक राखेका छन्।

अपरान्ह ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ। ओलीले गठन गरेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता छैनन्।

यस्तै केही समयदेखि समानान्तर गतिविधि गरिरहेका र ओली पक्षबाट निस्कासनमा परेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि आज केन्द्रीय समिति बैठक बोलाएको छ।

यो बैठक भर्चुअल रूपमा बस्नेछ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए।

अध्यक्ष ओलीकै कारण अब एकता टर्दै गएको निष्कर्षमा नेपाल पुगेका छन्। यसबारे उनले थप कुरा केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्न लागेका छन्।

आफू अप्ठ्यारोमा पर्दा मात्रै ओलीले वार्ताको कार्ड फ्याक्ने गरेको नेपाल पक्षको भनाइ छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि खनाल, नेपालसहित ११ जनालाई ओलीले पार्टीबाट निकालेका थिए। नेपाल पक्षले भने बेग्लै पार्टी खोल्ने तयारी गरिरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २० गते बिहीबार