नेपालगन्ज ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले निर्वाचनको वातावरण बनाएमा एमाले निर्वाचनबाट नभाग्ने बताएका छन् । शनिबार एमाले बाँकेले आयोजना गरेको जनप्रदर्शन तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार नै निर्वाचनको लागि तयार नभएको आरोपसमेत लगाएका छन् । फागुन २१ गते निर्वाचन हुने अवस्था नै नभए पनि सरकारले जनतालाई झुक्याउने काम गरिरहेको आरोप उनले लगाए ।
महासचिव पोखरेलले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट तथा तोडफोडको घटनाको छानबिन गरी सो घटनामा संलग्नहरूलाई राज्यद्रोहको मुद्दा नलगाएसम्म, प्रहरीका लुटिएका हतियार, गोली, तथा पोसाक फिर्ता नगरेसम्म र भगाइएका कैदीबन्दीहरूलाई पुनः कारागार नपठाइएसम्म निर्वाचनको वातावरण नबन्ने बताए । पोखरेलले भदौ २४ गते नवयुवाहरूको आवरणमा विध्वंश मच्चाइएको पनि दाबी गरे ।
उनले जेनजीहरूलाई मानव ढाल बनाएर विध्वंश मच्चाइएको बताउँदै अहिलेको सुशीला कार्की नेतृत्वको सरकार षड्यन्त्रको मतियार बनेको आरोपसमेत लगाए । उनले अहिलेपनि जनताहरू एमालेकै साथमा रहेको दाबी गर्दै त्यसको प्रमाण हेर्न मंसिर २७ गते काठमाडौँमा गरिने जनसभालाई पर्खिन भने । राजनीतिक दलले केही गरेनन् भन्ने भाष्य जबरजस्ती उछालिएको दाबी गर्दै पोखरेलले एमालेले गाउँसम्म विकासको बजेट पठाएको, हुलाकी सडक निर्माण सम्पन्न, सुरुङ्गमार्ग निर्माण तथा ग्याँसको उत्खनन जस्ता कामहरू गरेको दाबी गरे ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा सम्पन्न जनसभामा गत भदौ २४ मा आगजनीमा परेर ध्वस्त भएको एमाले बाँकेको पार्टी कार्यालय पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन औपचारिकरूपमा हस्तान्तरण पनि गरिएको थियो । कार्यालय पुनर्निर्माणका लागि बाँकेका एमालेका संगठित सदस्यहरूबाट आर्थिक सहयोग उठाइ १२ लाख लागतमा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ । जनसभालाई पोलिटब्युरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू शान्ति ढकाल, सूर्य ढकाल, मोहम्मद हारुन, दिपा शर्मा, एमाले बाँके उपाध्यक्ष रत्न खत्री लगायतले सम्बोधन गरेका थिए । जनसभाअघि नेपालगन्जमा जनपदर्शन पनि गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्