शिक्षकप्रतिको सम्मान हराउँदा हाम्रो समाजले आफ्नो नैतिक दिशा गुमाउँछ । तसर्थ, समाजको मेरुदण्ड बलियो राख्न पनि शिक्षकको सम्मान अपरिहार्य छ । शिक्षकप्रतिको सम्मानको पुनःस्थापना शब्दबाट मात्र सम्भव हुँदैन । त्यसका लागि ठोस कार्य आवश्यक छ । शिक्षक पलायन रोक्न नीतिगत सुधार अनिवार्य छन् । पेसागत सुरक्षा, पारदर्शी बढुवा प्रणाली, आकर्षक प्रोत्साहन, र उत्कृष्ट शिक्षकको निष्पक्ष मूल्यांकन सुनिश्चित हुने प्रणाली विकास गर्नुपर्छ ।
निरञ्जन खतिवडा
शिक्षकको एउटा प्रेरणादायी शब्दले विद्यार्थीको जीवनमा आशा जगाउँछ, उनीहरूको कल्पनामा उज्यालो फैलाउँछ र जीवनभर सिकाइप्रतिको प्रेम रोप्छ । सभ्य, नैतिक र सक्षम समाज निर्माणको जिम्मेवारी शिक्षकहरूको काँधमा नै हुन्छ । त्यसैले शिक्षण पेसालाई सामाजिक विकासको मेरुदण्ड मानिन्छ । विडम्बना, आज यही पवित्र पेसा गहिरो संकटमा छ । अनुभवी र समर्पित शिक्षकहरू कक्षाकोठा छाड्दै छन् । नेपालमा शिक्षक पलायन मौन तर तीव्र गतिमा फैलिँदैछ । ‘ब्रेन ड्रेन’ अब राष्ट्रिय चिन्ताको विषयमात्र रहेन । यो त हाम्रो शिक्षण प्रणालीको दुर्बलता र नीति, व्यवहारमा रहेको खाडलको स्पष्ट संकेत पनि हुन पुग्यो । परिणामस्वरूप शिक्षण पेसा आज युवाका लागि आकर्षण नभएर विकल्पको अन्तिम त्यान्द्रो बन्नपुगेको छ । शिक्षकहरू राज्यको अस्पष्ट शिक्षा नीति र ठोस कार्ययोजनाको अभावका कारण विद्यालयमा अत्यधिक कार्यभार वहन गर्न बाध्य छन् । यसले उनीहरूलाई मानसिक र भावनात्मक रूपमा थकित बनाइरहेको छ । अधिकांश विद्यालय व्यवस्थापनले शिक्षकहरूलाई आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्न सकिरहेका छैनन् ।
अभिभावकहरूको दृष्टिकोण पनि विश्वास र सहकार्यभन्दा बढी शंका र आलोचनामा केन्द्रित हुन थालेको छ जसले शिक्षकहरूको मनोबल कमजोर बनाइरहेको छ । इन्टरनेटको सहज पहुँचका कारण केही अभिभावकमा अपूर्ण जानकारीका आधारमा शिक्षण कार्यसम्बन्धी शिक्षकका निर्णयहरूमा निरन्तर प्रश्न उठाउने प्रवृत्ति देखिन्छ । यसका साथै, गृहकार्य, यातायात, पोसाकजस्ता सामान्य विषयहरूमा समेत विवाद सिर्जना गर्ने घटनाहरू बढ्दै गएका छन् । पहिले ‘गुरु’ भनेर सम्मान गरिने शिक्षकहरूलाई अहिले, विशेषगरी सहरी विद्यालयहरूमा मामुली ‘सेवा प्रदायक’को रूपमा मात्र हेर्ने प्रवृत्ति फैलिँदै गएको छ । यो अपमान र निराशाको वातावरणले शिक्षकहरूलाई वैकल्पिक बाटो खोज्न बाध्य बनाएको हो । कतिपय भने राजनीतिमा आकर्षित भएका छन् जहाँ सामाजिक पहुँच र सम्बन्धले अवसर सिर्जना गर्छ । सन् १९९७ को स्थानीय निर्वाचनदेखि नै यस्तो प्रवृत्ति देखिँदै आएको छ— केही पूर्वप्रधानमन्त्रीहरू शिक्षण पृष्ठभूमिबाट आएका हुन् । वास्तवमा, कुनै पनि सम्बन्धमा समर्पणको प्रत्युत्तर नदिँदा माया मर्ने नै हो । शिक्षकहरू मन दुखाएर पेसा छोडिरहेका छन् । किनभने सम्मान र मान्यता नरहेपछि पेसाप्रतिको मोह पनि हराउँछ ।
यस संकटले हाम्रो सांस्कृतिक मूल्य र मान्यतामा समेत गहिरो घाउ पु¥याइरहेको छ । नेपाली समाजलाई मेरुदण्डको रूपमा बाँध्दै आएको ‘गुरु–शिष्य परम्परा’, आज अस्तित्वकै संकटमा छ । आधुनिक जीवनको हतारो र भौतिक प्रतिस्पर्धाले अभिभावक र शिक्षकबीचको भावनात्मक दूरी झन् बढाएको छ । विडम्बना त के छ भने एकातिर धेरै अभिभावकहरू आफ्ना दुई सन्तान सम्हाल्नै कठिनाइ अनुभव गर्छन् अनि अर्कातिर शिक्षकले तीस चालिस बालबालिकालाई समान माया, धैर्य र जिम्मेवारीका साथ मार्गदर्शन गर्नुपर्ने ठूलो चुनौती सामना गर्नुपर्छ । तैपनि हामी प्रायः उनीहरूको निरन्तर प्रयत्न र कर्तव्यबोधलाई बुझ्ने प्रयाससमेत गर्दैनौँ । बालबालिकाले आफ्ना आमाबाबुबाट शिक्षकप्रति अनादर देखेपछि उनीहरूले पनि त्यही सिक्छन् । यसले बालबालिकामा असहिष्णुता र अहंकार जन्माउँछ भने व्यक्तिगत विकासमात्र होइन समाजको भविष्य नै कमजोर बनाउँछ । शिक्षकप्रतिको सम्मान हराउँदा हाम्रो समाजले आफ्नो नैतिक दिशा गुमाउँछ । तसर्थ, समाजको मेरुदण्ड बलियो राख्न पनि शिक्षकको सम्मान अपरिहार्य छ ।
शिक्षकप्रतिको सम्मानको पुनःस्थापना शब्दबाट मात्र सम्भव हुँदैन । त्यसका लागि ठोस कार्य आवश्यक छ । शिक्षक पलायन रोक्न नीतिगत सुधार अनिवार्य छन् । पेसागत सुरक्षा, पारदर्शी बढुवा प्रणाली, आकर्षक प्रोत्साहन, र उत्कृष्ट शिक्षकको निष्पक्ष मूल्यांकन सुनिश्चित हुने प्रणाली विकास गर्नुपर्छ । शिक्षासम्बन्धी योजनाहरू प्रभावकारीरूपमा कार्यान्वयन र नियमित निगरानी गर्नेतर्फ विशेष ध्यान दिन आवश्यक छ । विद्यालय व्यवस्थापन प्रशासनिक भूमिकामा सीमित नरही मार्गदर्शक र सहयोगी दुवै भूमिकामा सक्रिय हुनुपर्छ । साथै, शिक्षकलाई व्यक्तिगत र व्यावसायिक लक्ष्य निर्धारणमा सहयोग पु¥याउँदै अभिभावक तथा शिक्षकबीच पारस्परिक सम्मान र सहकार्यको वातावरण सिर्जना गर्न विद्यालयले अग्रणी भूमिका खेल्नुपर्छ । घर र विद्यालय छुट्टाछुट्टै संसार होइनन् । यी दुवै बालबालिकालाई उज्यालो भविष्यतर्फ मार्गदर्शन गर्ने एउटै लक्ष्यका दुई पाटा हुन् ।
घर र विद्यालयबीचको विश्वासको पुल पुनः र्निर्माण गर्न नियमित ‘अभिभावक–शिक्षक संवाद’ कार्यक्रम र अभिभावक सचेतना कार्यक्रम अनिवार्य छन् । शिक्षणको अर्थ तब पुनर्जीवित हुन्छ जब त्यो प्रेम, समर्पण र सम्मानमा आधारित हुन्छ । शिक्षकहरू प्रतिस्पर्धी होइनन् बरु सहयोगी हुन् । संवाद सधैँ आपसी सम्मानमा आधारित हुनुपर्छ । शिक्षकको सल्लाह सुन्ने, अनुभवको कदर गर्ने र साझेदारीको भावना विकास गर्नु आवश्यक छ । शिक्षक र अभिभावक हातेमालो गरेर अघि बढ्दामात्र शिक्षा आफ्नो वास्तविक अर्थमा सफल हुन्छ । हामी शिक्षकलाई पुनः सम्मान र उचित मूल्यांकन दिन सक्षम भयौँ भने शिक्षण पेसा बचाउनेमात्र होइन हाम्रो समाजको नैतिक, बौद्धिक र साँस्कृतिक मेरुदण्ड पनि सुरक्षित राख्नेछौँ । के हामी सबै सरोकारवाला त्यस दिशामा गम्भीररूपमा अघि बढ्न तयार छौँ ?









प्रतिक्रिया दिनुहोस्