सुर्खेत ।
आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । थपिएका अधिकांश युवा उमेर समूहकै रहेको निर्वाचन कार्यालयहरूले जनाएका छन् । प्रदेशभर थपिएका मतदातामध्ये सबैभन्दा बढी सुर्खेतमा ९० प्रतिशत बढी युवा रहेका छन् । सुर्खेतमा दैनिक चार सयभन्दा बढीले नाम दर्ता गराएका थिए । निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईंले कार्यालयमा नाम दर्ता गराउन आएकामध्ये ९० देखि ९५ प्रतिशतसम्म युवायुवतीहरू रहेको बताए ।
उनका अनुसार हालसम्म दुई हजार ४४ नयाँ मतदाता दर्ता भइसकेका छन् । सरकारले आगामी फागुन २१ गते तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोलेको मतदाता नामावली दर्ताको कार्य अहिले धमाधम भइरहेको छ । नामावली दर्ता गराएकामध्ये धेरैजसो युवा उमेर समूहका रहेको पाइएको हो । कर्णालीका विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा ज्येष्ठ नागरिकलगायत अन्यको तुलनामा युवायुवतीहरूको भिड लागेको देखिन्छ ।
राष्ट्रिय परिचयपत्रको आधारमा पनि अनलाइनबाट नाम दर्ता गर्न सकिने भनेपछि सर्भर डाउन भएर काममा ढिलाइ भएको सूचना अधिकारी चौलागाईंले बताए । प्रदेश निर्वाचन कार्यालयमा मतदाता नाम दर्ता गराउन पाँच जना जनशक्ति छन् । सर्भर डाउन हुने समस्याले काममा ढिलाइ भएको उल्लेख छ । अघिल्लो निर्वाचनमा सुर्खेतमा एक लाख १९ हजार ३८७ पुरुष र एक लाख २५ हजार २८७ महिला गरी कूल दुई लाख ४४ हजार ६७६ मतदाता रहेका थिए ।
अहिलेको नाम दर्ताको काममा पुराना राजनीतिक दलहरूले चासो नदिएको पाइएको निर्वाचन कार्यालयहरूको अनुभव छ । पुराना दलहरूका कुनैपनि नेताहरूले मतदाता नाम दर्ता गर्नुपर्छ भनेर आह्वान नगरेको, नाम दर्ता गराउन नपठाएको पाइएको हुँदा पुराना दलहरूले चासो नदिएको निर्वाचन कार्यालयहरूले जनाएका छन् । यता निर्वाचन कार्यालय जुम्लाका निमित्त प्रमुख नारायणी चौलागाईका अनुसार जुम्लामा कात्तिक अन्त्यसम्म एक हजार जनाले नाम दर्ता गराइसकेका छन् ।
तर, नाम दर्ता गराउन आउनेको भिड नरोकिएको उनले जानकारी दिइन् । यस्तै दैलेख जिल्लामा करिब पाँच सय नयाँ मतदाता थपिएका छन् । सुरुमा सहभागिता न्यून देखिए पनि पछिल्लो समय दैनिक ५५–६० जना नाम दर्ता गराउन आउने गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उता सल्यानमा एक हजार ५० जनाले नयाँ दर्ता वा अद्यावधिक गराएका छन् । नयाँ नाम दर्ता गर्नेमा १६ देखि २२ वर्षका युवाहरूको सङ्ख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सल्यानमा पनि पुराना राजनीतिक दलहरूको चासो भने कम देखिएको छ । त्यस्तै रूकुम पश्चिममा ८७२ जना नयाँ मतदाता दर्ता भएका छन् । जसमा ५४५ पुरुष र ३२७ महिला छन् । सर्भर समस्या देखिएपछि जिल्ला निर्वाचन कार्यालयले समय बढाएर सेवा दिइरहेको छ । मुगु जिल्लामा हालसम्म ३२४ जनाको नाम दर्ता भएको छ । दर्ता गर्नेमध्ये अधिकांश ३० वर्षमुनिका युवायुवती छन् । उनीहरू मुगुमकार्मारोङ र खत्याड गाउँपालिकाका बढी रहेका छन् । राजनीतिक दलहरूले सहयोग नगरेको निर्वाचन कार्यालयको गुनासो छ ।
मतदानस्थल र केन्द्र थप गर्न सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा मतदानस्थल तथा मतदान केन्द्र थपका लागि जिल्लास्तरीय समितिले सिफारिस गर्ने निर्णय गरेको छ । मतादाता सङ्ख्या बढी र तीन घण्टासम्म हिँडेर मतदान गर्नुपर्ने भएपछि समितिले थप मतदानस्थल तथा मतदान केन्द्र सिफारिस गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ समितिको बैठकले दुई वटा मतदानस्थल थप गर्ने निणर्य गरेको थियो ।
उक्त निर्णय निर्वाचन आयोगलाई सिफारिस गर्ने तयारी गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमबहादुर रोकायाले बताए । उनका अनुसार बैठकमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेताहरू लगायतको उपस्थिति रहेको थियो । मतदाता सङ्ख्या बढी र मतदानस्थलसम्म पुग्न तीन घण्टासम्म पैदल हिँड्नुपर्ने भएपछि जिल्लाबाट ती मतदानस्थल थप गर्नका लागि आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको हो ।
हाल कायम रहेका मतदानस्थल बाहेक थप गर्नका लागि सिफारिस गरिएका मतदानस्थलहरूबारे आयोगको सहमति लिन लागिएको हो ।जसअनुसार चंखेली गाउँपालिका–२ को महादेव मावि दार्म मतदान केन्द्रबाट छुट्याएर देबकोटा बाडा र भट्टेबाडाका मतदाताका लागि महाकति लक्ष्मी आवि नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरिएको छ । त्यसैगरी नाम्खा गाउँपालिका–१ को ताङ्गिन गाउँका मतदाताका लागि नमोडाछेमु आविलाई नयाँ मतदानस्थलका रुपमा कामय गर्न आयोगलाई सिफारिस गरिएको छ ।
यसअघि उक्त गाउँका मतदाताहरूले बुद्ध आवि हेक्पा मतदान केन्द्रमा मतदान गर्नै आएका थिए । त्यसैगरी एक हजारभन्दा बढी मतदाता भएका मतदान केन्द्रहरूमा मतदान केन्द्र ‘क’ र ‘ख’ निर्धारण गर्न पनि समितिको बैठकले सिफारिस गरेको छ । यसअघि २०७९ सालको निर्वाचनमा हुम्ला जिल्लामा ५८ वटा मतदानस्थलहरू कामय गरिएका थिए । हुम्ला जिल्लाको मतदाता सङ्ख्या ३३ हजार ३०८ रहेको छ ।









प्रतिक्रिया दिनुहोस्