जीतबहादुर शाह
बेलुका बेडमा सुतेको मान्छे बिहान जिउँदै उठ्छ भन्ने कुनै निश्चित हुँदैन, तथापी व्यक्तिले बिहान ठीक समयमा उठ्नका लागि घडीमा अलार्म सेट गरेर सुत्छ, यसलाई भनिन्छ आशा । जाजरकोटको नलगाड नगरपालिकाले आयोजना गरेकोे एउटा कार्यक्रममा यस्तै–यस्तै विषयमा छलफल र भलाकुसारी हुँदै थियो । कार्यक्रममा नगरप्रमुख, वडाध्यक्षज्यूहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापकहरू, शिक्षकहरू, पूर्व शिक्षकहरू र विद्यार्थीहरू समेत गरी पचासभन्दा बढिको उपस्थिति थियो ।
कार्यक्रमको उद्देश्य स्थानीय पाठ्यक्रम निर्माण र शिक्षाका सरोकारवालाहरूको क्षमता विकास गर्नु रहेको थियो । विषयको भित्र प्रवेश गर्ने क्रममा सुरुमा उल्लेख गरेको उद्धरणले सहभागीहरूलाई गत कार्तिक १७ गतेकोे भूकम्पले क्षति पु¥याएको मानवीय र भौतिक अवस्थातर्फ कार्यक्रममा उपस्थित सबैको मन र मुटुलाई अनायासै तान्न पुग्यो । बिहान सबेरै उठ्ने भनी योजना र आशाका साथ सुतेका त्यहीँ नगरपालिकाका ५४ जना मानिसहरू भूकम्पको कारण उठ्न नपाई त्यही रात मृत्युबरण गर्न पुगेका थिए ।
त्यो उपस्थितिमा सबै वडाका वडाध्यक्षहरू र नगरप्रमुख डम्बर बहादुर रावत उपस्थित भए पनि नगर उपप्रमुख सरिता सिंह उपस्थित नभएको अवस्था थियो । सबैले उनलाई आफ्नै आँखा वरिपरि त देखे तर कार्यक्रममा देखेनन् । उनलाई त्यही १७ गतेको विभत्स रातमा आएको भूकम्पले सबैको बीचबाट चुडालेर लगिसकेको थियो । तन र मन दुबै हिसावले सुन्दर र आँखामा राखे पनि नबिझाउने स्वभावकी नगर उपप्रमुख सिंह त्यसकारण त्यो कार्यक्रममा उपस्थित हुन सक्नु भएन ।
उहाँको सद्गति र श्रद्धाञ्जलिमा नेपाल सरकारका राष्ट्रपति रामचन्द्र पौडेलसमेत उपस्थित भएर पिडा बाँड्नु भएको परिवेश पनि सबैको मानस्पटलमा घुम्यो । त्यत्तिमात्र नभइ दर्जन भन्दा बढी शवहरूलाई एकैपटक नलगाड र ठूलीभेरीको दोभानमा दाहसंस्कार गर्दाको मर्मस्पर्शी र कहालीलाग्दो दृश्यको झ–झल्कोले कार्यक्रममा उपस्थित सबैलाई एकपटक फेरि मर्माहत बनायो । कार्यक्रममा अरू सबै भएर पनि उपप्रमुख नहुँदा कोही नभएझै भयो । तरकारीमा सबै चिज भएर पनि नून नभएझै आभास भयो । भूकम्पले छोडेर गएका यस्ता पिडाहरू धेरै रहेछन् नलगाड नगरपालिकाका नगरबासीहरूसँग । खोतल्दै जाने क्रममा आँखा पनि रसाउदै गए ।
नलगाड नगरपालिका वडा नं. ६ मा रहेको निर्मलज्योती आधारभूत विद्यालय, थाप्लाकी शिक्षिका कल्पना विष्टले आफ्नी चौध महिनाकी छोरी बोकेर सधैं विद्यालय जाने गर्थिन् । भूकम्प गएको त्यो विभत्स रात उनी र उनकी चौध महिनाकी छोरी र अर्की ठूली छोरीले पनि ज्यान गुमाए । मृत्यु भएको दृश्य हेर्दा शिक्षिका कल्पना विष्ट एक्लै भएको भए बाँच्न सक्ने अनुमान गर्छन् प्रत्यक्षदर्शीहरू । तर आफैसँग भएकी छोरीलाई सुरक्षित साथ बचाउन खोज्दा उनी र छोरी दुबैले ज्यान गुमाउने अवस्था भयो ।
शवको अवस्था हेर्दा छोरी काखमुनी थिइन््, आमा छोरीको शरीर माथि थिइन् । सहजै अनुमान गर्न सकिन्छ कि माथिबाट घर भत्किएर छोरीलाई नचेपोस भन्ने सोच थियो आमा कल्पना विष्टको । तथापी परिवेश सोचेजस्तो भएन । जीवनको अन्तिम प्रहरसम्म पनि आमाले प्रयत्न गरिन्, आफ्नो सन्तान बचाउन । तथापी एउटी आमाको आफ्नो सन्तान बचाउने अभिलाशा पूरा हुन सकेन । बरू त्यत्ति पवित्र अभिलाशा राख्ने आमालाई पनि बाँचेको देख्न चाहेन प्रकृतिले र आमा र छोरीको एउटै चिहान बनाइदियो । थाहा छैन, यत्ति दुष्ट आचरण मानिसबाट प्रकृतिले सिक्यो वा प्रकृतिबाट मानिसले ।
बहसको विषय भएको छ । अझै पिडादायक विषय त, अर्को कोठामा बाजेसँग सुतेकी कल्पना विष्ट म्याडमकी पाँच वर्षकी जेठी छोरीलाई पनि छोडेन भूकम्पले । आमासँगै लिएर गयो । कक्षा १२ मा अध्ययनरत चनारा थरकी छात्राको पनि त्यस्तै कारुणिक कथा छ । भूकम्पले घर भत्कियो । अरू सबै बाहिर निस्किए तर उनी बाहिर निस्कन सकिनन् । भकारीको छेउ लागेर बसेको कारण उनलाई भत्किएको भवनले
भेट्न सकेन । बाहिर निस्किएका घरपरिवारका अन्य सदस्य र गाउँलेहरूले उनको समेत नाम लिएर कराउन थाले, ‘बाहिर निस्किएकी छैन, भित्रै चेपिएर मरी ।’
उनले भित्रैबाट बाहिर मानिसहरू कराइरहेको सुनिरहेकी छिन् । तर आवाज निकाल्ने होसै भएन उनलाई । मानिसहरूले बाहिर हल्ला गरेजस्तै उनले आफूलाई मरिसकें कि जस्तो लाग्छ । भित्रबाट बाहिर निस्कने कुनै उपाय र बाटो देख्दिनन् उनी । एकैछिन् पनि घरको भित्ता फेरि भत्कियो । भित्ता भत्किएपछि बाटो खुल्यो र उनी बाहिर निस्कन सफल भइन् । मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श केन्द्र नेपालका सुपरभाइजर नेत्र सुनारले यो अवस्थाको बारेमा त्यसपछि के भयो भनेर सोध्दा उनी भक्कानिएर बोल्न गाह्रो हुँदा पनि बोल्छिन्– बाहिर मानिसहरू मरेका दृश्यहरू देखें ।
आफ्नै बाजे पनि मरेको देखें । गाउँलेहरू मरेको देखें …. । नेत्रजीका अनुसार त्यसपछि उनले थप कुरा गर्न सकिनन् र भक्कानिएर रुन
थालिन् । उनको त्यही गाउँ चिउरीबाट तेह्रजनाले ज्यान गुमाउनु परेको थियो । नलगाड नगरपालिकाको वडा नं. १ मा रहेको शिवशंकर आधारभूत विद्यालय कल्पतमा अध्ययनरत तीन जना छात्राहरू(दिदीबहिनीहरू) भावना, कल्पना र सपनासँगै सुतेका थिए । दिदी भावना र कल्पनालाई त मानिसहरुले उद्धार गरेर बचाए तर सानी बहिनीलाई सपनालाई भने बचाउन सकेनन् मानिसहरूले । सपना मृत्युको मुखमा परिन् । उनीसँगै पढिलेखी ज्ञान भएर संसार नियाल्ने उनका सपनाहरू पनि मरे ।
मनोसामाजिक परामर्श केन्द्रका नेत्रजीका अनुसार उनी एक महिना जति विद्यालय नै जान मानिनन् । पछि गए पनि विद्यालयभित्र जान मानिनन् । झस्कने, डराउने, एकोहोरो हुने, टोल्लाइरहने, पढाइमा ध्यान नदिने जस्ता समस्याहरू देखिए । ठ्याक्कै त्यही समस्या जनक आधारभूत विद्यालयकी खर्मिला चनारामा पनि देखियो । उनीहरूलाई मनोसामाजिक परामर्श केन्द्रले तालिम दिएका फोकल शिक्षकहरूमार्फत खेल खेल्ने, चित्र बनाउने, गीत गाउने, जीवनको सकारात्मक बृक्ष बनाउने र उनीहरूसँग जीवनलाई सुन्दर बनाउनका लागि खुसीका कुरा गर्ने जस्ता क्रियाकलापहरू आवश्यकता अनुसार एक्लै वा समुहमा सञ्चालन गर्न थालेदेखि उनीहरूमा सुधार भएको छ र पहिलेकै अवस्थामा फर्किएका छन् ।
परामर्श केन्द्रले यो कार्यक्रम भेरी र नलगाडका विद्यालयहरूमा दुई वर्ष अघिदेखि सञ्चालन गरिरहेको छ ।नलगाड नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोतव्यक्ति मणिराम पोख्रेलका अनुसार भूकम्पमा परेर नेरा प्राथमिक विद्यालय चिउरी, नलगाड–१ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दत्तबहादुर कुमाइको निधन भएको छ । विद्यालय जाने आठ जनासहित चौध जना बालबालिकाको मृत्यु भएको छ । नलगाड नगरपालिकामा अध्ययनरत १०,६१७ जना विद्यार्थीहरूमध्ये ५०७८ जना बालबालिकाहरू भूकम्पबाट प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
नलगाड नगरपालिकामा अध्ययनरत २० जना विद्यार्थीहरूमध्ये कसैले बाबा त कसैले आमा गुमाएको अवस्था छ । नलगाडमा भएका ७१ वटा विद्यालयहरूमध्ये ५४ वटा विद्यालयहरू पूर्णक्षति र १७ वटा विद्यालयहरू आंशिक क्षति भएको अवस्था छ । कतिपय विद्यालयहरू भाँसिएको र कतिपय विद्यालयका खेलमैदानहरू चिराचिरा परेको अवस्था छ भने ३६ वटा विद्यालयका शौचालयहरू पूर्णरूपमा ध्वस्त भएको अवस्था छ।
कर्णाली प्रदेश शिक्षा क्लष्टरको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका तेइससय भन्दा बढी कक्षाकोठा क्षति भएको र यसबाट असी हजारको हाराहारीमा विद्यार्थीहरु प्रभावित भएको देखिन्छ । समग्रमा जाजरकोट भूकम्पबाट १५५ जनाको मृत्यु भएको देखिन्छ जसमध्ये सबैभन्दा बढि क्षति (५४ जनाको मृत्यु) नलगाडमै भएको छ । भूकम्पपश्चात अहिलेसम्म आइपुग्दा उद्धार र पुनस्थापना गर्ने कार्यसँगै विद्यालयहरूमा टाइप एक र टाइप दुईका अस्थायी सिकाइ केन्द्रहरू निर्माण गरी शिक्षण सिकाइ भइरहेको छ । टाइप एकमा सिकाइका लागि टेण्टको व्यवस्था गरिएको थियो भने टाइप दुईमा बाँस र कर्कटपाताका अस्थायी टहरा बनाउने गरिएको छ ।
यस्ता टाइप दुईका टहराहरूका वालहरू बाँस, निगाला आदिबाट र छाना कर्कटपाताबाट निर्माण गरिएको छ । सामान्यतया यो संरचना चार÷पाँच वर्षसम्म टिक्ने देखिन्छ । अहिको समयमा यही टाइप दुईको टहरा निर्माण गरी शिक्षण सिकाइ सञ्चालन गर्ने काम भइरहेकोे छ ।
यसप्रकारका टहराहरू निर्माण गर्ने कार्यमा यूनिसेफ, यूएनडिपी, प्लान नेपाल, वल्र्डभिजन, सेभ द चिल्ड्रेन लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरूले नलगाड लगायत भूकम्प प्रभावित सबै पालिकाका विद्यालयहरूमा जुटिरहेको अवस्था छ । स्थायी प्रकृतिको विद्यालय निर्माणका लागि कसको लगानीमा कस्ता प्रकारको भूकम्प प्रतिरोधी पूर्वाधारको निर्माण गर्ने सम्बन्धमा अझै पनि आधिकारिक निर्णय आउन नसकेको अवस्था छ ।
भूकम्पको विभत्स रातदेखि अहिलेसम्मका अवस्थालाई आँकलन गर्दा मुक्तकण्ठले भन्नै पर्ने हुन्छ, भूकम्पले बनाएका विभत्स बस्तीहरूमा सरकार भन्दा पनि गैरसरकारी संघसंस्थाहरूको उपस्थिति दरो देखिन्छ । सबैले त होइन, सरकारका कतिपय दिलदार पदाधिकारीहरुले चाहन्थे, ती बस्तीहरूमा आफ्नो उपस्थितिलाई दरो देखाउन । तथापी सरकारलाई आफैले बनाएका नियम कानूनहरूले नथनोमा बाँधेको अवस्था देखियो उनीहरूलाई नै । नियम कानून बदल्न सितिमिति नसकिदो रहेछ । किनभने सरकारमा बसेका कतिपयको निम्ति त्यस्तै ऐनकानूनले दाहिने हात भएर काम गर्दा रहेछन् ।
जे होस्, ढिलै भएपनि कसैले न कसैले काम गर्नुपथ्र्यो । गरेका छन् गैरसरकारी संघसंस्थाहरूले । यसका लागि आभार व्यक्त गर्नुपर्छ सबैले । संघसंस्थाहरुले पनि संघ सरकार र प्रदेश सरकारका राजधानीहरूमा हुने भाते गोष्ठी र भेटघाटहरूमा हल्ला गरेजस्तो भने गरेका छैनन् । जता गएपनि दलित बस्तीका विद्यालयहरू सेवासुविधा विस्तारका दृष्टिकोणले ओझेलमा परेका देखिन्छन् । नलगाड– १२ मा रहेको दलित प्रा.वि. बायकाँडाका प्र.अ.को पिरलो सुन्दैगर्दा यस्तै अनुभूति भयो । त्यसो त टाढा जानै पर्दैन, वीरेन्द्रनगरमै रहेका नेरा प्रावि धारपानी र सरस्वती प्रावि चनौटैलाई हेरे पनि पुग्छ ।
भूकम्पबाट क्षति भएका सरकारी एवम् निजी संरचनाहरूको डिजाइन तयार गरी पूर्वाधारको थालनी गर्ने काममा सरकारले कत्ति पनि ढिलाइ नगरी काम थाल्नु पर्ने हुन्छ । डिजाइन तयार गर्दा भूकम्प प्रतिरोधी पनि हुनु प¥यो । कम लागतमा निर्माण सम्पन्न हुने पनि हुनुप¥यो र निर्माणमा स्थानीय सामग्री र श्रमले अवसर पाउने पनि हुनु प¥यो । युटुवमा देख्न सकिदो रहेछ, जुम्लाका नारायण आचार्यले अमेरिकामा अध्ययन गरेर नेपालको परिवेशमा सिफारिस गरेका माटो र काठबाट (ढुङ्गा होइन) बनेका घरहरू । मलाई त लाग्छ, ती धेरै उपयोगी छन् । विशेष गरी त्यसरी बनाइने भवनहरू विद्यालयहरूका निम्ति झनै उपयोगी देखिन्छन् ।
यस्ता कुराहरुमा सरकारले गम्भीर भएर निर्णय गर्नुपर्छ । हाम्रो निर्णयले स्वदेशमा रोजगारी समेत सिर्जना हुन सकोस् हाम्रो लगानीको रकमले सिमा नाघेर अर्को देशतिर पनि जान नपरोस् र भूकम्प प्रतिरोधीका हिसाबले पनि बलियो होस् । यत्तिबेला मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शको क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले समेत बालबालिका र अन्य भूकम्प प्रभावितहरुलाई बरालिएको र बिराएको बाटोबाट सही बाटोमा डो¥याउने काम गरेका छन् । यो कार्यलाई मूलप्रवाहिकरण गर्ने सवालमा त झन् सरकारले भुल्ने होइन कि प्राथमिकता दिएर लाग्नु पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्