18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

घट्दै कोरोना संक्रमणदर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८  

दाङ ।

पछिल्लो समय दाङमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै गएको छ । दोस्रो लहरको कोरोना महामारी सुरु भएपछि कुनै समयमा संक्रमितको संख्या दैनिक ४०० भन्दा बढी र मृतक संख्या १७ जनासम्म पुगेको थियो । तर, पछिल्लो समय संक्रमण र मृत्युदर घट्दै आएको तथ्यांकमा देखिएको छ । गत बिहीबार ४४ जना नयाँ संक्रमित थपिए भने १३० जना संक्रमणमुक्त भएका थिए ।

सो अवधिमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती दाङले जनाएको छ । गत बैशाखदेखि हालसम्म ११ हजार ७४० जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये ४४६ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १०५ जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा र ३४१ जना होम आइसोलेसनमा रहेका छन् ।

यीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । त्यस्तै, सोही अवधिमा ६ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । गत बैशाखदेखि जेठ २७ गतेसम्म कोरोना संक्रमणका कारण १९१ जनाको मृत्यु भइसकेको छ । जसमध्ये तुलसीपुर उपमहानगरका ८० जना रहेका छन् । जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा गरी ३५० वटा बेड छन् । कुने समयमा बेड अभाव हुँदा संक्रमितहरु बाहिरै उपचार गर्न बाध्य थिए । तर, पछिल्लो समय बेडहरु खाली रहेको बताइएको  छ । अहिले १०५ वटा मात्र बेडहरु प्रयोग भइरहेका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८     8:42:09 AM  |