19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

के हो भारतको गुप्त चाहना ? किन पछाडि हट्दैछ चीन ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर १९, २०७२  

गत साता नेपाल सरकारका महत्वपूर्ण ओहदामा बसेका व्यक्ति र संविधान पक्षधर राजनीतिक दलहरूले एउटा घोषणा गरे – भारतको चाहना के हो भन्ने बुझ्नुपर्छ । त्यही साता आपूर्तिमन्त्री गणेशमान पुनले दिक्क हुँदै भनेको कुरा सार्वजनिक भयो – यतिधेरै प्रयास गरे पनि उत्तरबाट आपूर्ति गर्न सकिएन ।

हुन पनि नेपालको अहिलेको अवस्था अलमल र भ्रमले भरिएको छ । कुटनीतिक मामिलाका विज्ञहरू नै एकातिर भारतले के चाहेको हो भन्ने यकिन गर्न सकिरहेका छैनन् भने अर्कोतिर पछिल्लो समय चीनबाट आपूर्ति नियमित गर्ने प्रयासहरूमा खासै प्रगति हुन नसकेकोमा अचम्भित छन् ।

भारतले नेपालबाट के चाहेको हो भन्ने अनुमानहरूले बजार भरिएको छ । एक दर्जनभन्दा बढी अनुमानहरूमा बहस र चर्चा भइरहेको छ । फरक–फरक अनुमान् अर्थात् कन्स्पिरेसी थ्योरी सहतमा देखिएका छन् । पछिल्लो समय नेपाललाई हिन्दु राष्ट्र कायम गरी पूर्वराजा ज्ञानेन्द्रलाई राज्यसत्तामा भूमिका नदिएको झोंकमा भारतले नाकाबन्दी गरेको भन्ने तर्कले अग्रता लिएको देखिन्छ । यो तर्कका आलोचकहरू नाकाबन्दीले नेपालमा भारत विरोध बढिरहेकाले हिन्दु जनताको सहानुभूति पाउन भारतले नयाँ हल्ला पिटाएको पनि भन्छन् । तर, यो तर्कका समर्थकहरू २०६२–६३ मैं तत्कालिन सात दल र माओवादीसँग राजसंस्थालाई निरन्तरता दिने र हिन्दुधर्मलाई संरक्षण गर्ने सहमति भएको दावी गर्छन् ।

अर्कोतिर नाकाबन्दी सुरु भएलगत्तै सहानुभूतिका साथ अगाडि आएको चीन अहिले आएर मत्थर भएको अनुभव गरिएको छ । संकट गहिरिंदै गए पनि तातोपानी नाका खोल्न चीनले कुनै तदारुकता देखाएको छैन भने केरुङसम्म पुर्‍याइने भनिएको पेट्रोलियम पदार्थ सिगात्सेसम्म मात्रै पुर्‍याउने नयाँ चिनियाँ प्रस्ताव आएको छ । त्यति मात्रै नभई चीनले नेपालसँग गर्ने इन्धन कारोबारमा भारतसँग प्रतिस्पर्धा गर्न नचाहेको देखिन्छ । भारतको मूल्यमा पेट्रोलियम पदार्थ बेच्ने प्रयास पनि चीनबाट नभएको अनुभव गरिएको छ । इन्धन सम्झौताका लागि चीन गएको नेपाली टोली बरालिइरहेको छ ।

भारतको चाहना प्रष्ट नहुनु र चीनले सहयोगका लागि बढाएको हात यकायक चिसो बनाउनुको कारणबारे विज्ञ तथा जानकारहरूको वृत्तमा अर्को थ्योरीले चर्चा पाइरहेको छ । यो थ्योरी तुलनात्मक रूपमा शंसयपूर्ण छ । यहाँ त्यही थ्योरीका समर्थकहरूको दृष्टिकोण प्रस्तुत गरिएको हो ।

के हो भारतको मूल चाहना ?

यस थ्योरीका समर्थकहरूका अनुसार अहिले सतहमा देखिएजस्ता भारत न मधेसी जनताको अधिकारका लागि चिन्तित छ, न त उसलाई नेपालको पानी वा अन्य कुनै सम्पदा र स्रोतको नै लोभ छ । नेपाल हन्दिु राष्ट्र हुनुपर्ने र पूर्व राजा ज्ञानेन्द्रलाई राजकीय भूमिकामा राख्नुपर्ने भारतको गुप्त अडान पनि अनुमान मात्रै भएको उनीहरूको ठहर छ । उनीहरू भारत सकेसम्म नेपाललाई सिक्किमिकरण गर्ने नसके भुटानीकरण गरेरै छाड्ने योजनामा रहेको दावी गर्छन् । वर्तमान प्रधानमन्त्री केपी शर्माओलीलाई पदच्यूत गरे भारत सन्तुष्ट हुन्छ भन्ने तर्क पनि हावादारी भएको उनीहरूको भनाई छ ।

यस्तो तर्क गर्नेहरू पछिल्ला घटनाक्रमलाई आधार बनाएर भारतले नेपाललाई कम्तीमा भुटानको हैसियतमा झार्न निर्णायक अभियान छेडेको भन्छन् । यसका लागि नेपालको नयाँ संविधान लागू नै हुन नदिने उसको रणनीति भएको बताइएको छ । जतिसक्दो धेरै अराजकता बढाएर नेपाली जनतामा अहिलेको संविधानप्रति विरक्ति बढाउनु भारतको उद्देश्य रहेको दावी गरिएको छ ।

नयाँ संविधान स्वतः निरस्त भइसकेपछि बन्ने नयाँ संविधानमा भारतले नेपाललाई भुटान बनाउने प्रावधानहरू घुसाउने योजना बनाएको पनि भन्छन् यस थ्योरीका समर्थकहरू । नेपालको जलस्रोतमाथि मात्रै होइन अर्थ, परराष्ट्र र रक्षामा पनि भारत आफ्नो पूर्णनियन्त्रण स्थापित गर्न चाहन्छ भन्छन् उनीहरू ।

के गर्दैछ त भारत ?

आफ्नो गुप्त तर कठोर योजना सफल पार्न भारतले एकसाथ धेरै मोर्चाबाट काम थालेको यस थ्योरीका समर्थकहरूको बुझाई छ । मधेस आन्दोलनलाई समर्थन र अघोषित नाकाबन्दी देखिएका भारतीय प्रयास हुन्, नदेखिएका अन्य थुप्रै प्रयास पनि भारतले गरिरहेको उनीहरूको ठहर छ ।

भारतले नेपालभित्र आफ्नो प्रभावमा रहेका सबै संस्था, निकाय र व्यक्तिहरूलाई नियोजित तरिकाले परिचालन गरिरहेको यस थ्योरीमा विश्वास गर्नेहरूको ठम्याई छ । नेपाली सेनामा पनि भारतले आफ्नो प्रभाव सुदृढ गरिरहेको दावी पनि गरिएको छ । भारतसामु नझुके नेपालको दानापानी नै बन्द हुने र चीनसँग व्यापारिक सम्बन्ध असम्भव रहेको मनोविज्ञान तयार पार्ने काममा मिडियादेखि बुद्धिजीविहरूसम्मको कुशल परिचालन गरिएको भन्छन् उनीहरू ।

त्यति मात्रै नभई भारतले चीनसँगको आफ्नो सम्बन्धमा ‘नेपाल कार्ड’को प्रयोग गर्न थालेको पनि बताइएको छ ।

के हो नेपालकार्ड ?

भारतले नेपाललाई आफ्नो अधिनस्थ बनाउन निर्णायक प्रयास सुरू गरेको भन्नेहरूमाझ अहिले ‘नेपालकार्ड’ शब्दले चर्चा पाइरहेको छ । विगतमा नेपालले भारतविरुद्ध चीन कार्ड प्रयोग गर्थ्यो भने अहिले भारतले चीनविरुद्ध नेपालकार्ड प्रयोग गर्न थालेको उनीहरूको बुझाई छ ।

तीन साताअघि भारतका गृहमन्त्री राजनाथ सिंह चीन जानुलाई यस थ्योरीका समर्थकहरूले नेपालकार्ड प्रयोग गर्ने उद्देश्य भएको बताएका छन् । सिंहले आफ्नो भ्रमणका क्रममा चीनलाई प्रष्टतः नेपालमा रहेको आफ्नो स्वार्थबारे भनेका र भारतको काममा हस्तक्षेप हुने गरी काम नगर्न आग्रह गरेका दावी गरिएको छ । उस्तै परे भारतले नेपालविरुद्ध घोषित रूपमैं नाकाबन्दी गर्ने सन्देश दिंदै सिंहले भारतका प्रयासमा अवरोध नगर्न सुझाएका यस थ्योरीका समर्थकहरूको भनाई छ ।

राजनाथ सिंहको भ्रमणपछि नै नेपाललाई सहयोग गर्ने चीनको तदारुकतामा कमी आएको आकलन पनि गरिएको छ । अनुदान भनेर पठाइएको पेट्रोलियम पदार्थको रकम चीनबाट पहिले नै प्रतिवद्धता व्यक्त गरिएको अनुदान राशीबाट कटाउने निर्णयलाई यस थ्योरीमा विश्वास गर्नेहरू राजनाथ सिंहको भ्रमणले चीन पछाडि हटेको प्रमाणका रूपमा प्रस्तुत गर्छन् ।

किन हट्यो चीन पछाडि ?

यस थ्योरीका समर्थकहरू भारतले चातुर्यका साथ नेपालकार्ड खेलेर चीनलाई साइड लगाएको भन्छन् । उनीहरूका अनुसार पूर्वी र पश्चिमी चिनियाँ सागरका केही द्विपको विवाद देखाएर भारतले चीनलाई पछाडि हट्न बाध्य बनाएको हो । पूर्वी चिनियाँ सागरका केही टापुमा चीन र जापानबीच तथा पश्चिमी चिनियाँ सागरमा चीनसँग भियतनाम र फिलिपिन्सको विवाद छ ।

भारतले चिनियाँ सागरको विवादमा आफू मौन रहने विश्वास दिलाउँदै नेपाल मामिलामा हस्तक्षेपकारी भूमिका नगर्न चीनलाई विश्वास दिएकै कारण चीन पछाडि हटेको यस थ्योरीका समर्थकहरूको भनाई छ । साथै, तिब्बतको सुरक्षामा पनि भारतले चीनलाई आश्वस्त पारेको हुन सक्ने उनीहरूको अनुमान छ ।

अब के हुन्छ ?

यस थ्योरीका समर्थकहरू चीन विस्तारै पछाडि हट्दै गएपछि भारतले आफ्नो योजना कार्यान्वयनमा सहजता महसुस गर्दै जाने र जतिसक्दो छिटो नेपाललाई भुटानजस्तो बनाउने अनुमान गरिरहेका छन् । उनीहरूका अनुसार तराईमा अराजकता बढ्दै जाँदा सरकारले पनि बल प्रयोग गर्ने र मानवअधिकारको हनन् भन्दै भारतले घोषित रूपमैं नाकाबन्दी लगाउने सम्भावना छ ।

नाकाबन्दीको आडमा नयाँ संविधान लागू गर्न असम्भव बनाइदिने र त्यसको विकल्पमा ल्याइने संविधानमा नेपाललाई अधिनस्त पार्ने भारतको योजना रहेको यस थ्योरीका समर्थकहरूको बुझाई छ ।
– See more at: http://puleso.com/?post_type=news&p=1048/#sthash.N3oqtbyI.dpuf – See more at: http://puleso.com/?post_type=news&p=1048/#sthash.N3oqtbyI.dpufchina-india-682x458

प्रकाशित मितिः शनिबार, मंसिर १९, २०७२     10:26:25 AM  |