ताइवानलाई घेरेर चीनले सुरू गर्‍यो संयुक्त सैन्य अभ्यास



काठमाडौँ ।

ताईवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । यसले चीन-ताइवान तनाव बढाएको छ ।

ताइवानका राष्ट्रपति विलियम लाइले गत साता चीनको नियन्त्रण नस्वीकार्ने भाषण गरेका थिए ।

बेइजिङले ‘स्वर्ड-२०२४ बी’ दिएको यो अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् ।उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।

ग्लोबल टाइम्सकाअनुसार सोमबार, पीपुल्स लिबरेसन आर्मी (पीएलए) पूर्वी थिएटर कमाण्डले ताइवान स्ट्रेट र उत्तर, दक्षिणका क्षेत्रहरूमा सेना, नौसेना, वायुसेना र रकेट फोर्सका आफ्ना सेनाहरू पठाइरहेको उल्लेख छ । ‘यस अभ्यासले पृथकतावादी कार्यहरूका लागि कडा चेतावनीको रूपमा काम गर्दछ,’ पीएलए पूर्वी थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ क्याप्टेन ली सीले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा छ ।

पृथकतावादी कार्यहरूलाई कडा चेतावन दिन र राज्यको सार्वभौमसत्ता र राष्ट्रिय एकताको रक्षाका लागि यो वैध र आवश्यक कार्य भएको प्रवक्ताले बताएको ग्लोबल टाइम्सले लेखेको छ ।

ताइवानले २५ विमान, सात नौसैनिक जहाज र चार अन्य जहाज अभ्यासमा रहेको पाएको बताएको छ ।

चीनले यसअघि पनि ताइवानको वरिपरि ठूलो युद्ध अभ्यास गरेको थियो । चीनले उक्त टापु आफ्नो दाबी गर्दै आएको छ । चीनले ताइवान वरिपरिको सैन्य अभ्यासलाई स्वशासित टापुको लागि ‘स्वतन्त्रता’ खोज्नेहरू विरुद्ध ‘कडा चेतावनी’ भनेको छ।

चीनले ताइवानलाई छुट्टिएको प्रान्तको रूपमा हेर्छ, तर टापु आफैंलाई छुट्टै ठान्छ र यसको आफ्नै सरकार र सेना छ ।

गत मे २०मा पनि लाइकोले भाषण गरेलगत्तै, पीएलए पूर्वी थिएटर कमाण्डले ताइवान स्ट्रेट, ताइवान टापुको उत्तर, दक्षिण र पूर्व, साथै किनमेन, मात्सु, टापुहरू वरपरका क्षेत्रहरूमा संयुक्त अभ्यासहरू आयोजना गरेको थियो ।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमबार