डोनाल्ड ट्रम्प अमेरिकाका ४७औँ राष्ट्रपति जो एक प्रसिद्ध व्यापारी, लेखक, टेलिभिजन प्रिजेन्टेटर तथा कलाकार हुन् । अमेरिकी राष्ट्रपतिमा पुनरागमनसँगै अन्तर्राष्ट्रिय जगत्मा उनका बारेमा जबर्जस्त बहस सुरु भएको छ । यस्तो लाग्छ कि ट्रम्पले पुरै विश्वलाई नयाँ आयाम दिनेछन् । नयाँ गति दिनेछन् ।
ट्रम्पमा खास के छ त्यस्तो खुबी जसले गर्दा ट्रम्प यति धेरै चर्चामा छन् । आउनुस्, हामी केहीबेर ट्रम्पको जरा खोतल्नतिर लागौँ । तपाईं हामी सबैलाई थाहा छ, अमेरिका आप्रवासीहरूको देश हो । अमेरिकाका रेड इन्डियनहरूलाई छोडेर भन्नुपर्दा सबै अमेरिकीहरू कुनै समयमा अवसर खोज्दै कहीँ न कहीँबाट अमेरिका भित्रिएका हुन् । ट्रम्पका पूर्वजहरू पनि युरोपबाट अमेरिका छिरेका आप्रवासी हुन् ।
ट्रम्पका पुर्खाहरू १९औँ शताब्दीमा जर्मनीबाट अमेरिका छिरेका थिए । ट्रम्पका हजुरबा फ्रेड ट्रम्प अमेरिका आउँदा मात्र १६ वर्षका थिए । सुरुमा जहाजमा काम गरेका फ्रेडले पछि रेस्टुरेन्ट चलाए र त्यसपछि रियल स्टेट व्यापारमा हात हाले । उनका छोरा फ्रेड जोन ट्रम्पले उनको रियल स्टेट व्यवसायलाई अगाडि बढाए । फ्रेड जोन ट्रम्पले न्युयोर्क सहरमा धेरै ठूला अपार्टमेन्ट कम्प्लेक्स निर्माण गरे ।
डोनाल्ड ट्रम्प १९४६ मा न्युयोर्कमा जन्मिँदा ट्रम्प परिवार आर्थिक रूपमा मजबुत थियो । ट्रम्पको बाल्यकाल सुख सुविधामा नै व्यतीत भयो । पेनिन्सिल्भेनियाबाट अर्थशास्त्रमा स्नातक गरेपछि, ट्रम्पले ट्रम्प अर्गनाइजेसनको नेतृत्व गर्दै रियल स्टेट, होटेल, क्यासिनो जस्ता व्यापारिक परियोजनामा हात हाल्दै गए । उनको व्यावसायिक यात्रा सफलता र असफलता दुवैले भरिएको थियो, जसमा क्यासिनो र होटेलहरूको जोखिमपूर्ण लगानी पनि थिए ।
डोनाल्डले आफ्ना बाबुबाट रियल स्टेट व्यवसाय सिकेका थिए जुन उनका लागि फलिफाप साबित भयो । पछि आफैँले एक रियल स्टेट कम्पनी खोले । ट्रम्प सानैदेखि महत्वाकांक्षी थिए र आफ्नो लक्ष्य प्राप्त गर्न दृढ रहन्थे । उनलाई अत्यन्त आत्मविश्वासी र महत्वाकांक्षी मानिन्छ । बाबुले गरेको कामबाट उनको सफलताको आधार तयार भएको थियो ।
तर, ट्रम्पको जीवन एकदमै विविधतासम्पन्न थियो । उनी आफ्नो व्यापारसँग मात्रै सीमित रहेनन्, बरु जीवनका हरेक क्षेत्रमा हात हाले । उनले फिल्ममा अभिनय गरे, किताब लेखे, होटेल व्यवसायमा हात हाले, टेलिभिजन कार्यक्रम चलाए, सुन्दरी प्रतियोगिता आयोजना गरे, क्यासिनो र उद्योगधन्दा चलाए ।
उनी रियल स्टेटका ठूला खेलाडी थिए र यस क्षेत्रमा उनले अकूत सम्पत्ति कमाए । फोब्र्सको रिपोर्ट अनुसार, सन् २०१६ मा उनी विश्वका धनीहरूको सूचीमा ३२४औँ स्थानमा थिए र उनको सम्पत्ति ३.७ अर्ब डलर अनुमान गरिएको थियो । यद्यपि, उनले आफैँले १० अर्ब डलरको सम्पत्ति रहेको दाबी गरेका थिए । ट्रम्पले जीवनमा तीन पटक विवाह गरेका छन् ।
पहिलोपटक इभाना जेल्निकोभसँग, दोस्रोपटक मार्ला मेपल्ससँग र तेस्रोपटक अहिलेकी पत्नी मेलानिया कलौससँग । १९९८ देखि कलौस उनी सँगै छन् । उनका दुई जना पूर्वपत्नीहरूसँग सम्बन्ध बिच्छेद भइसकेको छ । उनका तीन पत्नीबाट पाँच सन्तान छन् ।
ट्रम्पको छवि निकै विवादास्पद पनि थियो । उनमाथि नश्लीय भेदभाव, यौन दुव्र्यवहार, कर छली जस्ता अनेकन् आरोप लागेका छन् । उनी अमेरिकामा प्रभावशाली व्यक्तित्व मानिन्छन् ।
माथि नै उल्लेख भइसकेको छ, उनी व्यवसायी, लेखक, राजनीतिज्ञ, सेलिब्रिटी, कलाकार सबैका रूपमा चिरपरिचित थिए । ट्रम्पले थुप्रै पुस्तक लेखेका छन्, र उनले हरेक पुस्तकमा आफूलाई केन्द्रमा राखेका छन् । पुस्तक लेखेरै उनले लाखौँ डलरको रोयल्टी प्राप्त गरे र उनका पुस्तकहरू बेस्टसेलर बने ।
उनको टेलिभिजन करियर पनि अत्यन्त सफल रह्यो ।
एनबीसी टेलिभिजनबाट कार्यक्रम सञ्चालन गर्दा उनी अमेरिकाको चर्चित अनुहार बने । टेलिभिजन एक्सपोजरले उनलाई राष्ट्रव्यापी लोकप्रियता दिलायो । मानिसहरू कतिसम्म कुरा गर्थे भने ट्रम्प अब आउने राष्ट्रपति चुनावमा उम्मेदवार बन्नेछन् र उनले चुनावसमेत जित्नेछन् ।
ट्रम्पको राजनीति यात्रा
सुरुमा उनी डेमोक्रेटिक पार्टीका समर्थक थिए, तर १६ जुन २०१५ मा उनले आधिकारिक रूपमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरे । चुनावमा उनले हिलारी क्लिन्टनलाई हराएर अमेरिकाका ४५औँ राष्ट्रपति पदमा जित हासिल गरे । उनले आफ्नो पहिलो कार्यकालमा अमेरिकी अर्थतन्त्रमा वृद्धिको प्रयास गरेका थिए । बेरोजगारी घटाउने र व्यापारमा सुधार गर्ने प्रयास गरेका थिए ।
४६औँ राष्ट्रपतिको प्रतिस्पर्धामा भने उनी डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भए । चुनावमा पराजित भए पनि ट्रम्प चुप लागेनन् र विवादास्पद अभिव्यक्तिहरू दिन थाले । उनले चुनाव हारेको झोँकमा आफ्ना समर्थकलाई सडकमा उतारे । यस क्रममा उनको व्यापक आलोचना भयो । ४७औँ राष्ट्रपति पदको चुनावमा उनी फेरि मैदानमा उत्रिए । संयोगले यस चुनावमा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई हराएर टम्प अमेरिकाको ४७औँ राष्ट्रपति पदमा विजयी भए ।
उनको व्हाइट हाउसमा पुनरागमन सहज थिएन । ट्रम्पले थुप्रै प्रतिरोध र घुम्तीहरू पार गर्दै आफ्नो लक्ष्य हासिल गरेका छन् । आफूमाथि गरिने सबैखाले आलोचनाको सामना गर्दै उनले आफ्नो यात्रा जारी राखे र दोहो¥याएर राष्ट्रपति बन्न सफल भइछाडे ।
ट्रम्प पुनरागमनको अर्थ
अमेरिकी जनता एक बलियो नेता चाहन्थे । अमेरिका अन्तर्राष्ट्रिय मञ्चमा कमजोर साखका कारण चिन्तित थियो । अमेरिकी जनता आक्रमक र निर्णायक नेता चाहन्थे र ट्रम्पमा उनीहरूले त्यो गुण देखे । उनी हठी, खरो मिजासका र आत्मविश्वासी व्यक्ति मानिन्छन् । सम्भवतः यिनै कारणले उनले अमेरिकी जनताको विश्वास जिते र पुन एकपटक अमेरिकाको महत्वपूर्ण पदमा पुग्न सफल भए ।
ट्रम्पले आफ्नो शपथ ग्रहण कार्यक्रममा भने, ‘अमेरिकाको स्वर्ण युग अब सुरु भएको छ ।’ उनले अमेरिकाको आत्मविश्वासलाई पुनः जागृत गर्नुपर्ने आवश्यकता व्यक्त गरे र यसका लागि अमेरिका अघि बढ्ने, फस्टाउने र सम्मानित हुने कसम खाएका छन् ।
उनले सीमामा आपतकाल घोषणा गर्ने र दक्षिणी सीमामा सेनाको तैनाथी थप सुदृढ गर्ने बताएका छन् । लागू औषध नियन्त्रण गर्ने र मेक्सिकन सीमाको सुरक्षा कडा गर्ने कुरामा पनि जोड दिएका छन् ।
ट्रम्पले आफ्नो अघिल्लो कार्यकालमा मेक्सिको सीमामा पर्खाल लगाउने कुरा उठाएका थिए र यसलाई पुनः प्राथमिकता दिने बताएका छन् । यससँगै, उनले अमेरिकी माटोमा जन्मिएका बाहेकका व्यक्तिलाई नागरिकता नदिने र अमेरिकी उत्पादनलाई प्राथमिकता दिने नीतिमा आफ्नो दृढता प्रकट गरेका छन् ।
उनले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने सामानहरूमा व्यापक कर लगाउने कुरा पनि उठाए । पनामा नहरको विषयमा उनले अमेरिकाले चीनको नियन्त्रणबाट पनामा फिर्ता लिनुपर्ने विचार व्यक्त गरे ।
जलवायु नीतिमा पूर्वराष्ट्रपति जो बाइडेनको लचिलो दृष्टिकोणलाई अस्वीकार गर्दै ट्रम्पले तिनलाई खारेज गरे । उनले भने, ‘हाम्रा योजना भनेको राष्ट्रको प्राथमिकता हो, न कि कुनै वैश्विक नीतिहरूको अनुशरण गर्नु ।’
अमेरिकामा विश्वभरका लाखौँ प्रवासीहरू लुकिछिपी काम गरिरहेका छन् । नेपालीहरूकै संख्या पनि अढाइ लाख जति छ, जो अमेरिकामा लुकिछिपी काम गर्दै छन् । ट्रम्पको कडा आप्रवासी नीति विशेष गरेर नेपाली युवाहरूका बीचमा असुरक्षा र डर पैदा गरेको छ । धेरै नेपालीहरूले ठूलो रकम खर्चेर र लामो समयसम्मको संघर्षपछि अमेरिका पुगेका छन् र अब उनीहरूलाई आफ्नो भविष्यलाई लिएर चिन्ता उत्पन्न भएको छ ।
अमेरिका विश्वभरका मानिसहरूको सपनाको देश हो । भविष्य राम्रो हुन्छ भनेर धेरै मानिसहरू अमेरिका बसोबास गर्न चाहन्छन्, तर ट्रम्प आप्रवासी नीतिका कडा आलोचक हुन् । उनी आप्रवासीहरूको अमेरिका प्रवेशलाई कडा रूपमा प्रतिबन्धित गर्न चाहन्छन । उनी मुस्लिम समुदायको विरुद्ध पनि आक्रोशपूर्ण थिए र यसबारे खुलेर अभिव्यक्ति दिएका थिए ।
ट्रम्पको दोस्रो कार्यकालको आरम्भसँगै उनले आफ्नो कडा, उग्र र राष्ट्रवादी दृष्टिकोणलाई एकपटक फेरि पुष्टि गरेका छन् । उनले अमेरिकी स्वार्थको रक्षाका लागि कुनै पनि कठोर रणनीति अपनाउन तयार रहेको कुरा बताएका छन् । यसबाट अमेरिका र अमेरिकी नागरिकको भविष्यलाई लिएर आशा र चिन्ता दुवै उत्पन्न भएको छ ।
ट्रम्पको विवादास्पद व्यक्तित्व
उनका बारेमा अनगिन्ती विवादहरू छन् । उनको नाम विभिन्न महिलासँग जोडिएको छ र उनीहरूसँगको सन्बन्धको आधारमा उनलाई निरन्तर आलोचना गरिएको छ । उनले जीवनमा अपूर्व सफलता प्राप्त गरेका छन्, तर उनका शब्द र व्यवहारका कारण उनलाई बारम्बार आलोचना गरिएको छ ।
ट्रम्पको बोल्ने शैली निकै आक्रामक र उग्र छ । उनका पछिल्ला विचार र अभिव्यक्तिहरू अमेरिकामा विभाजनको कारण बनेका छन् ।
उनको शासनकाल अवधिभर विवाद र आलोचना धेरै भएका थिए । २०२० को चुनावमा जो बाइडेनको विजयलाई चुनौती दिएपछि उनका समर्थकहरूले क्यापिटल हिलमा आक्रमण गरे, जसले अमेरिकी समाज र राजनीतिमा गहिरो विभाजन ल्यायो ।
अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा ट्रम्प
ट्रम्प चीनका सम्बन्धमा नकारात्मक रहेका छन् । उनी यो आरोप लगाउँछन् कि अमेरिकाले विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा पैसा खर्चंदै गर्दा चीनले भने ठूलो आर्थिक फाइदा उठाइरहेको छ । त्यसैले अमेरिकाले विश्वभर यो वा त्यो बहानामा सहयोग बाँड्न बन्द गर्नुपर्ने ट्रम्पको धारणा छ ।
ट्रम्प तुलनात्मक रूपमा रुसका राष्ट्रपति पुटिनप्रति सहानुभूति राख्दछन् । उनको पुटिनसँगको सम्बन्धलाई पनि आलोचनात्मक तरिकाले हेरिन्छ । जसका कारण उनलाई रुससँग अनावश्यक नजिक हुने आरोप लाग्छ ।
राष्ट्रवादी ट्रम्प
उनलाई कट्टर राष्ट्रवादी मानिन्छ । उनी अमेरिकी स्वार्थको रक्षाका लागि कुनै पनि कठोर रणनीति अपनाउन तयार रहन्छन् । उनको बोली अत्यन्त उग्र र स्पष्ट छ । उनले अमेरिका प्राथमिकतामा राख्ने र यसका लागि संघर्ष गर्ने कुरा बारम्बार दोहो¥याएका छन् ।
ट्रम्पको जीवनमा धेरै कुराहरूको अनौठो मिश्रण रहेको छ ।
उनी हरेक क्षेत्रमा सफल थिए । फरक अनुभव र यात्राले उनलाई प्रसस्त आत्मविश्वास दिएको थियो । उनका विचार र निर्णयहरूले अमेरिकामा मात्र नभई, विश्वभर ठूलो प्रभाव पारिरहेको छ । उनले बिश्वलाई गहन सन्देश दिन सफल भएका छन् कि दृढ विश्वास र आत्मविश्वासले मात्रै ठूलो सफलता दिलाउन सक्छ ।
यो ट्रम्पका लागि अमेरिकी राष्ट्रपतिको रूपमा अन्तिम कार्यकाल हो । रुसमा पुटिन, चीनमा सी जिनपिङले आफूलाई लामो समयका लागि पदमा बहाल गरेका छन् । अमेरिकामा लामो समयदेखि प्रजातान्त्रिक अभ्यासबाट सत्ता हस्तान्तरण हुँदै आएको इतिहास छ । त्यसैले ट्रम्पको शासन लामो नहोला भन्न पनि सकिँदैन ।
ट्रम्पको स्वभाव हेर्दा उनी रुसका पुटिन र चीनका जिनपिङ जस्तै लामो अवधि सत्तामा बस्न चाहँदैनन् भनेर ग्यारेन्टी गर्न सकिने ठाउँ भेटिँदैन । ट्रम्प पछिल्लोपटक अमेरिकी स्वार्थको रक्षार्थ हदैसम्म आक्रमक देखिएका छन् । आउँदा दिनमा ट्रम्पले के गर्न सक्छन्, सहज अनुमान लगाउन सकिन्छ ।
विश्वमा आफ्नो प्रभाव बढाउन र आफ्नो हितलाई सर्वोपरि राख्न अमेरिका जुनसुकै हदसम्म जान सक्छ । उसले आर्थिक, राजनीतिक, शैन्य शक्ति प्रयोग गरेर अन्य देशहरूमा आफ्नो इच्छा थोपर्न खोज्छ । अमेरिका चाहन्छ कि उसको विश्वव्यापी प्रभाव रहिरहोस् । उसका मूल्यमान्यताहरू विश्वभर फैलियून् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षको अवधिमा प्रस्तुत लक्ष्यहरू हासिल गर्न अनेकन नीतिहरू बनाउनेछन् । कसैलाई सहयोग दिएर फकाउनेछन् ।
कसैलाई घुक्र्याउनेछन् भने कसैलाई धम्क्याउनेछन् । एउटा नेताका लागि प्राथमिकतामा उसकै मुलुक पर्नु पनि पर्छ । यस अर्थमा ट्रम्पले उठाएका हरेक माग र मुद्दा अमेरिकी हितमा केन्द्रित छन्। डोनाल्ड ट्रम्पका भविष्यका योजनाहरूले अमेरिकी राजनीतिमा अझ ठूलो प्रभाव पार्ने सम्भावना प्रष्ट देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्