क्यानडा आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट



काठमाडौँ ।

क्यानडा आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ । अमेरिका रिजनल फाइनलको शीर्षस्थानमा रहने पक्का भएको क्यानडा आगामी विश्वकपका लागि छनोट भएको हो । चार टोली सम्मिलित अमेरिका क्षेत्रीय छनोटको आयोजना गरिरहेको क्यानडाले अहिलेसम्म खेलेका पाँचै खेल जितेको छ ।

बहामासविरुद्धको जितपछि उनीहरूले विश्वकपको टिकट हात पारेका हुन् । बहामासविरुद्धको खेलमा कलेम साना र शिवम शर्माले समान तीन विकेट लिएपछि बहामास मात्र ५७ रनमा समेटिएको थियो । जवाफी इनिङमा दिलप्रीत बज्वाले १४ बलमा अविजित ३६ रनको आक्रामक इनिङ खेल्दै ५.३ ओभरमै लक्ष्य पूरा गरे ।

निकोलस किर्टनको कप्तानीमा रहेको टोली गत वर्ष अमेरिका र क्यारिबियनमा भएको टी–२० विश्वकपमा पहिलोपटक सहभागी भएको थियो । यसपटकको छनोटमा क्यानडा बलियो टोलीको रूपमा प्रस्तुत भयो । डबल राउण्ड रोबिन लिगअन्तर्गत पहिलो खेलमा बर्मुडाविरुद्ध ११० रनको फराकिलो जितपछि क्यानडाले केम्यान आइल्यान्ड र बाहामासविरुद्ध दुवै खेल जित्यो । अब अन्तिम खेलमा बर्मुडासँग पराजित भएपनि क्यानडा शीर्ष स्थानमै रहनेछ ।

भारत र श्रीलंकासँगै विश्वकपका लागि छनोट भइसकेका ११ राष्ट्रमा क्यानडा सामेल भएको छ । अन्य छनोट भएका टोलीहरूमा अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, वेस्ट इन्डिज, आयरल्याण्ड, न्यूजिल्याण्ड र पाकिस्तान छन् । बाँकी सात स्थानका लागि युरोप, अफ्रिका र एसिया–ईएपी क्षेत्रीय छनोटबाट टोलीहरू छानिने छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार