एमसीसी चाहिदैंन भन्दै कोहलपुरमा विरोध प्रदर्शन



कोहलपुर ।

अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा बाँकेको कोहलपुरमा प्रदर्शन गरिएको छ ।

२२ दलीय मोर्चामा आवद्ध राजनीतिक दलहरुको आयोजनामा नारा जुलुससहित मंगलबार कोहलपुरमा एमसीसीको विरोध गरिएको हो । कोहलपुरको न्युरोडदेखि सुरु भएको विरोध प्रदर्शन साझा चोकमा गएर कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरुले ‘एमसीसी चाहिदैन । राष्ट्रघाती एमसीसी खारेज गर । सम्पूर्ण राष्ट्रवादी शक्ति एक हौँ ।’ लगायतका नारा लगाएका थिए । कोण सभामा मोर्चामा आवद्ध राजनीति दलका नेताहरुले एमसीसी नेपालको हितमा नरहेको बताए ।

उक्त अवसरमा बोल्दै नेकपाका कोहलपुर नगर ईन्चार्ज कृष्ण शाहीले देशको हित विपरित सम्झौता संसदबाट पास हुन नदिन सम्पूर्ण जनता एकजुट हुुनुपर्ने बताए । अहिलेको सरकार एमसीसी पास गर्न लागिपरेको भन्दै २२ दलीय मोर्चाको तर्फबाट उनले घोर आपत्ति समेत प्रकट गरे । ‘देश रहे पो हामी रहन्छौँ ।

राष्ट्रियता र स्वाधिनताको रक्षाको सबै एकजुट हुनुपर्छ । यसको शसक्त विरोध गरौँ ।’ उनले भने । यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का सीसीएम तेज विक्रम शाहीले एमसीसीको विरोधको देशभरबाट शसक्त आवाज उठाउनुपर्ने बताए ।

२२ दलीय मोर्चाले देशभर शसक्त विरोध गरिएको बताउँदै उनले देश र राष्ट्रियताको रक्षा गर्न गाउँगाउँबाट उठ्नुपर्ने दाबी गरे । ‘विरोध र ¥यालीमा थोरै मान्छे भन्दा पनि आफूहरुले उठाएको मुद्धा बलियो छ’ उनले भने, ‘कुनै पनि हालतमा एमसीसी पास हुन नदिन दबाब सिर्जना गरिनुपर्छ ।’

यस्तै राष्ट्रिय जनमोर्चाका नेता कृष्णराज पाण्डेले नेपाली कांग्रेस र नेकपा एमालेले एमसीसी पास हुनुपर्छ भन्नु लज्जाको विषय भएको बताए । सत्ता गठबन्धन मै एमसीसीको विषयमा दुई मत देखिएकोले यसको विषयमा सबै स्पष्ट हुन आवश्यक रहेको उनले दाबी गरे ।

‘एमसीसी नेपालको विकासको लागि आउँदै छैन । यो सैन्य गठबन्धन हो । एमसीसी पास भएमा हाम्रो देश अमेरिकाको क्रिडास्थल बन्छ’ नेता पाण्डेले भने ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ७ गते बुधबार