कोहलपुर ।
सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल चाँडै सञ्चालनमा ल्याउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । बाँकेको कोहलपुर २ प्रेमनगरमा संरचना निर्माण सम्पन्न भएको अस्पताल छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनको लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड दिएका हुन् । अस्पताल सञ्चालनको कोहलपुरको लागि अवसर र चुनौती दुवै भएको उनीहरुको भनाइ रहेको छ ।
बिहीबार योग तथा प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरको ८ औँ साधारण सभा तथा अधिबेसनको उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताहरुले कोहलपुरको अर्को परिचयका रुपमा आयुर्वेद अस्पताल थपिने विस्वास व्यक्त गरे । २०७० सालमा स्थापना भएको समाजले ८ औँ साधारण सभा सम्पन्न गरेको हो । उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विश्वमा उपचारका विभिन्न विधि र पद्धती विकास भइरहेको भन्दै योग तथा प्राकृतिक उपचार विधि पनि एक उत्कृष्ट उपचार विधि भएको बताइन् । उनका अनुसार कोहलपुरमा अस्पताल निर्माण हुनुको राम्रो पक्ष हो ।
‘कोहलपुर धेरै कुरामा सम्भावना बोकेको क्षेत्र हो । यहाँको स्वास्थ्य अवस्था बलियो बनाउन पनि यो काम लाग्ने देखिन्छ ।’ मन्त्री पौडेलले भनिन् । लुम्बिनी प्रदेशको प्राथमिकता पनि स्वास्थ्य क्षेत्र रहेको भन्दै आफ्नो तर्फबाट हुने सहयोग गर्न आफू सधै तत्पर हुने उनको भनाइ छ । प्रदेश सरकारको पनि उक्त अस्पतालको भौतिक संरचना निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । यहाँको संरचना निर्माण गर्नको लागि संघीय सरकारको संसद विकास कोष र ग्रामिण पूर्वाधार विकास अन्तर्गत पहिलो चरणमा २४ लाख र दोस्रो चरणमा १० लाख रुपैयाँ सहयोग प्राप्त भएको बताइएको छ । कोहलपुर नगरपालिकाले समेत अस्पताल निर्माणमा लगानी गरिरहेको छ ।
समाजको पनि १६ लाख रुपैयाँ खर्च भएको छ । आफू पनि समाजको आजिवन सदस्य भएका नाताले पनि सहयोग गर्ने नैतिक जिम्मेवारी रहने भन्दै आफ्नो तर्फबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरिन् । उनले जग्गा अभाव पनि समस्या रुपमा रहेको देखिएकोले जग्गा व्यवस्थापनको लागि उपयुक्त विकल्पको खाजी गर्दा राम्रो हुने बताइन् । फरक प्रसंगमा अहिले देशको राजनीति गम्भीर मोडमा रहेको भन्दै देशमा जस्तै स्वास्थ्य क्षेत्रमा समेत राजनीति नहोस भन्ने आफ्नो कामना रहेको मन्त्री पौडेलले जानकारी दिइन् । उनी भन्छिन्, ‘यो अस्पताल सञ्चालनको लागि सहयोग गर्नु मेरो नैतिक जिम्मेवारी हो । म प्रदेशमा पनि थप सहयोगका लागि पहल गर्छु ।
सबै जना एकजुट भएर अघि बढ्नुपर्छ ।’ उक्त अवसरमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले धेरै कुरामा सम्भावना रहेको कोहलपुर योग तथा प्राकृतिक अस्पताल सञ्चालन पनि पहिचानका रुपमा स्थापित हुने बताए । उनका अनुसार कोहलपुरको विकासमा अस्पताल थप इट्टा बन्न सक्छ । संरचना निर्माण लगभग भइसकेकोले अब अन्य आवश्यक कुराहरुको पूर्तिका लागि प्रभावकारी पहलकदमी चाल्न आवश्यक रहेकोमा जोड दिए ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर १३ का अध्यक्ष ओमप्रकाश ओलीले स्थानीय सरकार र आफ्नो अर्फबाट हुने सहयोग गर्न तयार रहेको बताएका थिए । उक्त अवसरमा समाजका अध्यक्ष नमप्रसाद शर्माले समाजको वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए । साधारण सभामा आजिवन सदस्यहरुलाई सम्मान वितरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्