कोहलपुर ।
नेपाल तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहको कारबाट नै अवैध हतियार बरामद भएको बाँके प्रहरीले स्पष्ट पारेको छ । बाँकेले प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर हतियार स्वयम् प्रहरीले राखेर शाहलाई फसाउन खोजेको भन्ने टिकाटिप्पणी निराधार रहेको स्पष्ट पारेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले हतियार स्वयम् प्रहरीले राखेर शाहलाई फसाउन खोजेको भन्ने टिकाटिप्पणी निराधार रहेको बताए । ‘रिसोर्टमा राखेको सिसी टिभी फुटेजले घटनाक्रम स्पष्ट पारिसकेको छ’ उनले भने, ‘प्रहरी घटनास्थलमा पुगेको ५ मिनेटमै ‘लक’ गरिएको कार शाहले नै ‘अनलक’ गरेपछि प्रहरीले सबैका अगाडि आफ्नो काम गरेको छ ।’
‘यस घटनासँग जोडेर बाहिर चर्चा गरिएजस्तो केही होइन, सिसी टिभी फुटेजमा सबै कुरा स्पष्ट देखिन्छ’ प्रहरी नायब उपरीक्षक सिंहले भने । गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टमा गत बिहीबार राति ८.२३ बजे इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वको प्रहरी टोलीले जाँच गर्दा नगर सभापति शाहको बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारमा ‘लोडेड’ पेस्तोल बरामद भएको थियो ।
शाहसंगै पक्राउ परेका प्रितम थापा, माधव नेपाली र याम बहादुर बुढालाई पनि हिरासतमै राखेर अहिले कोहलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । बाँकेका प्रहरी नायब उपरीक्षक सिंहका अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगञ्जको टेण्डरलाई प्रभावित पार्न सन्दीपसहितका ६ जना नमस्ते भिलेज रिसोर्टमा खानपिनको साथ छलफल गरिरहेका थिए । तरुण दलका नगर सभापति सहितको समुह बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारमा बिहीबार साँझ ६ बजेर ३९ सेकेण्डमा रिसोर्टमा पुगेको थियो ।
टेण्डर प्रभावित पार्नको लागि हतियारसहितको समुह रिसोर्टमा छलफलमा पुगेको सुचना पहिला जिल्ला प्रहरी कार्यालय बाँकेले पाएको थियो । तत्काल बाँके प्रहरीको नेत्तृवले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी शाहीलाई जानकारी दिएर पुग्न निर्देशन थियो । सोही अनुसार कोहलपुरबाट डिएसपी शाहीको नेतृत्वमा प्रहरी टोली राति ८ बजे १८ मिनेट ४८ सेकेण्डमा रिसोर्ट भित्र प्रवेश गरेको बाँकेका डिएसपी सिंहले बताए । ‘प्रहरी टोलि रिसोर्ट भित्र छिर्दा शाहसहितको टोलि खानपिनमा व्यवस्त थियो’ उनले भने,‘करिब पाँच मिनेटभित्रै ८ बजे २३ मिनेट ५८ सेकेण्डमा प्रहरीले शाहलाई कारको लक खोल्न लगाएर चेकजाँच सुरु गरेको हो ।’ ‘गाडी जाँच गर्ने क्रममा अघिल्लो सिटमुनी लुकाईराखेको अवस्थामा पेस्तोल र दुई गोली बरामद भएको थियो’ उनले भने ।
नगर सभापति शाहको कारबाट पेस्तोल बरामद गरिएपछि सार्वजनिक भएको अडियोसंग उक्त घटनाको कुनै ‘कनेक्शन’ नरहेको बाँके प्रहरीले बताएको छ । बाँकेका डिएसपी सिंहले हतियार बरामद गरिएको घटना र त्यसपछि सार्वजनिक भएको अडियोको कुनै ‘कनेक्शन’ नरहेको बताए । ‘त्यो फरक समय, फरक मिति र फरक सन्दर्भको विषय भएकाले त्यस बारेमा अनुसन्धान गर्न ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक नरबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएर काम शुरु भइसकेको छ’ उनले भने ।
छानविन समिति गठन
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेकोमा छानबिन हुने भएको छ । शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैबारे छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले समिति गठन गरेको छ । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहका अनुसार एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
आइतबार गठन भएको समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन दिन समय दिइएको शाहले जानकारी दिए । बिहीबार राति साढे आठ बजे बाँकेको जानकी गाउँपालिका, ६ गनापुर स्थित नमस्ते भिलेज रिसोर्टबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई हतियारसहित पक्राउ गरेको थियो । पक्राउ परेको हतियार डिएसपी आफैंले राखेको भन्ने आरोप लागेपछि प्रहरीले दुबै प्रकरणमाथि छानबिन गर्न समिति गठन गरेको हो ।
‘समितिले सत्य–तथ्य दिएपछि कारबाही हुन्छ, डिएसपीले आचरणविपरीतको कार्य गरेको भेटिए प्रहरी ऐन नियमावलीअनुसार कारबाही गरिन्छ,’ प्रहरी नायब महानिरीक्षक शाहले भने । तर, हतियार बरामद भएपछि मात्र उक्त अडियो आउनुचाहिँ ‘नियतवश’ रहेको उनले बताए । ‘डिएसपीले के कसो माग गरेको हो भन्नेबारे जिल्ला प्रहरी प्रमुख नभए मलाई पहिले नै किन भनिएन र अहिले हतियार बरामद भएपछि मात्र अडियो बाहिर निकालियो भन्नेमा ‘नियत’ देखिन्छ,’ शाहले भने, ‘पहिले भनेको भए हामी कारबाही गरिहाल्थ्यौं ।’ शाहका अनुसार नमस्ते रिसोर्टमा तरूण दल अध्यक्ष शाहसहितको टोली छिर्दा गाडीमा हतियार रहेको सूचना आएको थियो । त्यो सूचना पहिले बाँकेका प्रहरी उपरीक्षकलाई आएर उनले शाहीलाई त्यहाँ खटाएका थिए । ‘गाडीभित्र हतियार फेला परेको हो, प्रहरीले त्यहाँ इमान्दारीपूर्वक काम गरेको छ, बाहिरबाट हतियार ल्याएर राख्ने अवस्थै थिएन, घटनास्थलको सबै सिसिटिभी फुटेज हामीसँग छ,’ डिआइजी शाहले भने ।
निष्पक्ष छानबिन होस्ः नेकपा बाँके
नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) बाँकेले अपराधी कसैको पार्टीको मान्छे नहुने भएकाले प्रहरीलाई निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ । आइतबार एक विज्ञप्ती जारी गरेर नेकपा बाँकेले घटनालाई राजनीतिक रंग दिएर दोषिलाई बचाउने खेल भइरहेको भन्दै आपत्ती जनाएको हो । जिल्ला अध्यक्ष इन्द्रप्रसाद खरेल (आइपी) र सचिव अशोक कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनालाई राजनीतिक रंग दिएर जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई प्रभावित पार्दै अराजकतालाई प्रश्रय दिने जुनसुकै हर्कतको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ ।
नेपाल सरकार, नेपाल प्रहरीलाई यस्ता प्रकारका अपराधिक घटनामा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याएर उच्च मनोबलका साथ कारबाही गर्न जोडदार माग गर्दछौँ ।’ विज्ञप्तीमा प्रहरी नायब उपरीक्षक (डिएसपी) माथीको आरोप प्रहरीमाथीको हस्तक्षेप भएको उल्लेख गरिएको छ । ‘आफ्नो अपराधकर्म लुकाउनका लागि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी माथि जुन प्रकारको आरोप लगाइएको छ, त्यसको समेत हाम्रो पार्टी घोर भत्र्सना र निन्दा गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।








प्रतिक्रिया दिनुहोस्