नेपालगञ्ज ।
कोरोनाको ‘हटस्पट’ बनेको नरैनापुरबाट संक्रमितलाई आइसोलेसन अस्पतालसम्म ल्याउन समस्या देखिएको छ । संक्रमितहरुलाई ल्याउन जिल्लाबाट पुगेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीलाई स्थानीयबासीले अवरोध पु¥याउने गरेका छन् ।
शुक्रबार नेपालगञ्जबाट आइसोलेसनमा राख्नको लागि कोरोनाका बिरामी ल्याउनको गएको एम्बुलेन्सलाई स्थानीयहरुले अवरोध गर्दै फिर्ता पठाइदिएका थिए । सुरक्षाकर्मीलाई अटेर गर्दै स्थानीयहरुले क्वारेन्टिनमा रहेका संक्रमितहरुलाई भगाउने गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले स्थानीयका विरोधका कारण आइसोलेसनमा बिरामी ल्याउन समस्या हुने गरेको बताए ।
‘संक्रमितलाई छिटो भन्दा छिटो आइसोलेसनमा राख्नुपर्ने हुन्छ’ उनले भने, ‘नरैनापुरमा कतिपय अवस्थामा स्थानीय सहयोग नगर्दा असहज हुने गरेको छ ।’ जनशक्ति र स्रोत साधनको कुनै पनि अभाव नभएको फोकल पर्सन श्रेष्ठले दाबी गरे । ‘हामीसँग स्रोत साधन र जनशक्तिको कुनै अभाव छैन । हामी सबै कुरामा सक्षम छौं’ उनले भने, ‘बिरामीलाई आइसोलेसनमा ल्याउन नदिने र सम्बन्धित आइसोलेसन भएका ठाउँका स्थानीयको अवरोध नै समस्या बनेको छ ।’शुक्रबार राति त अझै स्थानीयहरुले सुरक्षाकर्मीलाई लखेटेर क्वारेन्टिनबाट कोरोना पुष्टी भएका संक्रमितहरुलाई भगाएका थिए ।
केहीलाई रातीमा नै सुरक्षाकर्मीहरुले खोजेर फेला पारेपनि एक जनालाई भने शनिबार बिहान मात्र जंगलमा लुकेर बसेको अवस्थामा फेला पारिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी उपरीक्षक बीरबहादुर ओलीले स्थानीयको असहयोगका कारण संक्रमितलाई ल्याउन समस्या भइरहेको बताए । ‘पटक पटक नरैनापुरमा संक्रमितलाई ल्याउनको गएको टोलीलाई अवरोध सिर्जना हुने गरेको छ’ उनले भने, ‘भिड नियन्त्रणमा लिन र स्थानीयलाई सम्झाउन हम्मेहम्मे पर्छ ।’
शुक्रबार राती स्थानीयलाई भगाएका संक्रमितलाई खोज्नको लागि तीन सय बढी सुरक्षाकर्मीहरु परिचालन गर्नुपरेको उनले बताए । नरैनापुर गाउँपालिकाले कोरोना संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले भ्रम छर्दै उक्साउने काम गरेको बताएको छ । एकजनाको मृत्यु र १ सय १४ जना संक्रमित भएको गाउँपालिकामा संक्रमितलाई आइसोलेसनमा ल्याउन गएको टोलीलाई अवरोध सिर्जना हुँदै आएको छ । कोरोना बिशेष अस्पतालमा लैजाने क्रममा पटक पटक अवरोध हुँदै आएका बेला गाउँपालिकाले कोरोना बारेमा भ्रम सिर्जना गरी काममा अवरोध सिर्जना गर्ने काम भइरहेको स्पष्ट पारेको हो ।









प्रतिक्रिया दिनुहोस्