कोहलपुर/ तीन वटा प्रदेशको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको कोहलपुर कोरोना भाइरस [कोभिड–१९] फैलिन सक्ने उच्च जोखिमयुक्त क्षेत्र रहेको भन्दै सरोकारवालाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । विश्वभर कोरोना भाइरसको त्रास बढ्दै गएको बेला नेपाल पनि उच्च जोखिम युक्त क्षेत्रमा रहेको भन्दै कोहलपुर पनि जोखिमको रुपमा रहेको उनीहरुले बताएका हुन् ।
कर्णाली,सुदूरपश्चिम र प्रदेश पाँचबाट दैनिक मानिसहरुको ठूलो मात्रामा आवातजावत हुने भएकोेले बाँकेका अन्य क्षेत्र भन्दा जोखिममा रहेको सरोकारवालाको भनाई छ । शनिबार कोहलपुर नगरपालिकाको अगुवाईमा आयोजना गरिएको सर्बपक्षीय बैठकमा सरोकारवालाहरुले कोरोना भाइरस फैलिन नदिन विशेष सावधानीका साथै उच्च सतर्कता अपनाउनुमा पर्नेमा जोड दिएका थिए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले जिल्लाका अन्य क्षेत्र भन्दा कोहलपुर जोखिमयुक्त क्षेत्रको रुपमा रहेको भन्दै मातहतका निकायलाई कोरोना भाइरसको जोखिम न्युनिकरणको लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिए ।
नगरपालिका अन्तर्गत शाखा कार्यालयहरुलाई आ–आफ्नो कार्यालयको तर्फकबाट गर्नु पर्ने तयारीका विषयमा तत्काल बैठक आह्वान गरी योजना अनुसार अघि बढ्न निर्देशन दिएका हुन् । उनका अनुसार अन्य क्षेत्रमा आवातजावत हुने कोहलपुरका सार्वजनिक स्थलमा पनि कडा सुरक्षा र सावधानी अपनाउन आग्रह गरिएको छ । यस्तैले उनले बजारमा मास्क अभाव भएको भन्ने सुन्नमा आएकोले नगरपालिकाले अनुगमन गर्ने बताए ।‘बजारमा मास्कको कृतिम अभाव सिर्जना भएको सुन्नमा आएको छ, केहीदिनमा अनुगमन हुन्छ’ प्रमुख रावतले भने–‘जनतामा त्रास सिर्जना हुनेगरी कालोबजारी गरेको भेटिएमा कानुन अनुसार कारबाही हुन्छ ।’
नेपाल सरकारले मास्कको कृतिम अभाव सिर्जना गरेको भेटिएमा २ लाख सम्म जरिवाना हुने निर्णय गरिसकेकोले कोहलपुरमा पनि त्यस्तो भेटिएमा कसैलाई उन्मुक्ति नदिइने उनको भनाई छ । यसैगरी विद्यालय क्षेत्रलाई मुख्य थमिकता राखि गतिविधि सञ्चालन गर्न समेत आग्रह गरिएको छ । नगरपालिकाले कोरोना भाइरसका विषयमा जनचेतनामुलक पम्प्लेट छाप्ने काम सुरु गरिसकेको जानकारी दिए । उप–प्रमुख सञ्जुकुमारी चौधरीले कोराना भाइरसका विषयमा बजारमा अनावश्यक हल्ला फिजाइएकोले हल्लाको पछि नलाग्न आग्रह गरेकी छन् ।
‘सामाजिक सञ्जालहरुमा अनावश्यक भ्रम फैलाइएको छ, त्यस्ता हल्लाको पछि नलाग्नुहोस्’ उनले भनिन्–‘ व्यक्तिगत सरसफाईमा ध्यानदिनुका साथै मानसिक रुपमा समेत सबल हुन आवश्यक छ ।’ सम्पूर्ण सरकारी कार्यालय, १५ वटै वडा, सिमा क्षेत्रमा सचेतनामुलक ब्यानर, पोस्टर अनिवार्य रुपमा राख्न आग्रह गरिएको थियो ।
यता नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना भाइरस विशेष कक्ष स्थापना गरेको जनाएको छ । अस्पतालका डिपुटी डाइरेक्टर विनय श्रेष्ठले अस्पताल मै मास्क उत्पादन गर्नुका बिरामीहरुको लागि अनिवार्य मास्क वितरणको तयारी भइरहेको बताए । कोरोनाको शंका लागेर अस्पतालमा जाँच गर्न आउनेहरुलाई विशेष निगरानीका साथ दु्रतगतिमा सेवा प्रवाहको लागि संयन्त्र बनाइएको उनको भनाई छ ।
उक्त सर्बपक्षीय बैठकबाट कोरोना भाइरस फैलिन नदिन पूर्वतयारीका लागि महत्वपूर्ण पाँच वटा निर्णय गरिएको छ । कोरोनाका बारेमा व्यापक जनचेतना फैलाउनको लागि उक्त निर्णय गरिएको हो । पुर्वतयारी तथा सचेतनालाई मुख्य केन्द्र बिन्दुमा राखेर तयारी गर्नको लागि ९ सदस्सीय दु्रत उद्धार समिति गठन गरिएको हो । समितिको सदस्यमा इलाका प्रहरी कार्यालय ,इलाका प्रशासन कार्यालय, सशस्त्र प्रहरी गुल्म २ रहेका छन् । अन्य सदस्यहरुमा नेपाल रेडक्रस सोसाइटी, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, नेपाल पत्रकार महासंघ बाँके र कोहलपुर उद्योग वाणिज्य संघ रहेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए । उनका अनुसार सबै भन्दा बढी मानिसहरुको भिडभाड हुने सार्वजनिक स्थल, अस्पताल, बसपार्क विद्यालय क्षेत्रलाई विशेष निगरानीमा राख्ने निर्णय गरिएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको नेतृत्वमा आइसोलेशन कक्ष स्थापना गर्न निर्णय गर्ने निर्णय गरिएको उनले बताए । यसैगरी कोहलपुरमा रहेको सरकारी तथा गैरसरकारी कार्यालय, सघ संस्थाहरुको अगुवाईमा गाउँ–गाउँमा व्यापक जानकारीमुलक तथा सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिने निर्णय गरिएको हो ।
सो बैठकबाट कोरोना भाइरसको जोखिम न्युन गर्नको कोहलपुर नगरपालिका संयोजक रहने गरी ९ सदस्सीय द्रुत उद्धार समिति समेत गठन गरिएको छ । कोरोना भाइरसको जोखिमबाट बच्नको संगठित रुपमा होली नमाउनको लागि सबैलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्