कोहलपुरबाट फुटबलको यात्रा तय गरेका धेरै खेलाडीहरूले अहिले नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिरहेका छन् । पुरुषहरू मात्रै होइन, यहाँबाट यात्रा तय गरेका महिला खेलाडीहरूले समेत नेपाली राष्ट्रिय महिला फुटबल टिमबाट खेलिसकेका छन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेण्डर हुन्, पूजा राना । बाँके कोहलपुर नगरपालिका–१२ निवासी पूजा नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबल खेल्छिन् । पूजाले १३–१४ वर्षको उमेरमै देशको प्रतिनिधित्व गर्ने मौका पाएकी थिइन् । पूजा राष्ट्रिय महिला फुटबलको उमेर समूह अन्डर–१४ को क्याप्टेनसमेत रहिसकेकी छन् ।
पूजाले सन् २०१९ मा राष्ट्रिय फुटबल टिममा डेब्यु गरेकी थिइन् । विराटनगरमा भएको पाँचाँै संस्करणको साफमा डेब्यु गरेकी पूजाले अहिलेपनि राष्ट्रिय टिममै छिन् । उनी टिमकी महत्वपूर्ण र अनुभवी डिफेन्डर हुन् । दीपज्योति माविबाट फुटबल करिअर सुरु गरेकी पूजाको राष्ट्रिय टिमसम्म उडान निकै प्रेरणादायी छ । उनलाई कोहलपुर रेसिङ साहारा क्लबका संस्थापक अध्यक्ष युवराज शाहीले प्रशिक्षण दिएका थिए । कोहलपुरको माटोमा हुर्किएर उनले हाल सिंगो नेपाललाई फुटबलमार्फत चिनाएकी छन् ।
कोहलपुर रेसिङ साहारा क्लबमै प्रशिक्षण लिएका जयप्रकाश बम नेपाली राष्ट्रिय पुरुष फुटबलको अन्डर–१९ बाट खेलिसकेका खेलाडी हुन् । उनी हाल पुलिस टिममा आवद्ध भएर व्यवसायिक फुटबल खेल्छन् । बैजनाथका गौतम चौधरी साहारा क्लबले उत्पादन गरेका अर्का खेलाडी हुन् । हाल उनी भारतमा व्यवसायिक फुटबल खेल्छन् । भारतको लखनउस्थित साहारा फुटबल क्लबबाट खेलिरहेका उनले स्पेनमा समेत फुटबल खेलिसकेका छन् । विशाल थापा मगर कोहलपुरबाटै फुटबलमा उदाइरहेका खेलाडीको अर्को नाम हो ।
फागुराम थारू, हरि कठायत, चक्र चिमला क्षेत्री लगायत फुटबलका माध्यमबाट कोहलपुरलाई चिनाइरहेका नाम हुन् । थारूले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा संस्करणमा सहभागी आठमध्येको एक प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँको नेतृत्व गर्दैछन् । बर्दियाका उनी कोहलपुर रेसिङ साहारा क्लबलाई प्रतिनिधित्व गर्दै धेरै खेल खेलिसकेका खेलाडी हुन् । प्रथम कोहलपुर गोल्डकपमा आयोजक टिमको नेतृत्व गरेका कोहलपुरकै हरि कठायत यसपटक भारतको साहारा फुटबल क्लबको प्रतिनिधित्व गर्दै गोल्डकप खेल्दैछन् । उनी पनि रेसिङ साहाराकै उत्पादन हुन् । कठायतले हालसम्म नेपाल पुलिस, जावलाखेल फुटबल क्लब फ्रेन्ड्स क्लबबाट खेलिसकेका छन् ।
कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष रहेका चक्र चिमला क्षेत्रीपनि व्यवसायिक फुटबल खेलाडी हुन् । फुटबल खेल्नकै लागि नेपाल शसस्त्र प्रहरी बलमा भर्ना भएका उनले दुई दशकसम्म फुटबल खेले । क्षेत्रीले १२ वर्ष तत्कालीन पश्चिमाञ्चल फुटबल टिमको नेतृत्व गरेका थिए । व्यवसायिक फुटबल करिअरमा पूर्वदेखि पश्चिमसम्म हुने गोल्डकपमा निकै रूचाइएका खेलाडी हुन्, क्षेत्री । हाल सरकारी सेवाबाट निवृत्त भइसकेका क्षेत्री कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष समेत हुन् ।
२०७९ सालबाट सुरु भएको कोहलपुर गोल्डकपको सुरुवात नै क्षेत्रीले गरेका हुन् । कोहलपुरलाई खेलकुदको सहरका रूपमा विकास गर्ने र खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ गोल्डकप सुरु गरिएको अध्यक्ष क्षेत्री बताउँछन् । बाँकेमा महिला फुटबलको कुरा गर्दा छुटाउनै नहुने नाम हो, खजुराकी निरु थापा । फुटबल करिअरको सुरुवाततिर केटाहरूसँग फुटबल खेल्ने थापा नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानसम्म भइन् ।
थापाले सन् २०१० मा बङ्गलादेशमा भएको ११औँ सागबाट राष्ट्रिय टिममा प्रवेश गरेकी थिइन् । नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबल खेलेकी थापाले २०७६ सालमा नेपालमा भएको १३औँ सागबाटै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिइन् । उनले नौ वर्षे अन्तर्राष्ट्रिय फुटबल यात्रामा देशका लागि १२ गोल गरेकी थिइन् । थापा हाल नेपाल पुलिस क्लबबाट क्लब फुटबल खेलिरहेकी छन् । हाल अष्टे«लियामा रहेका बाँकेको खजुराका दीपक सिंह, कोहलपुर रेसिङ साहारा क्लबबाट खेलेरै सातदोबाटो क्लब हुँदै नेपाली राष्ट्रिय पुरुष फुटबल टिमबाट खेलिसकेका खेलाडी हुन् ।
कोहलपुर चिनाउन ‘कोहलपुर गोल्डकप’
कोहलपुर–२ स्थित कोहलपुर रेसिङ साहारा क्लबको स्थापना २०६८ मा भएको हो । खेलकुदको प्रवद्र्धन र फुटबल विकासमा सक्रिय सामाजिक संस्थाको रूपमा रहेको छ । हालसम्म चार जनाले यस क्लबको नेतृत्व गरिसकेका छन् । क्लबका संस्थापक अध्यक्ष युवराज शाही हुन्, त्यसपछि यज्ञ महरा र अंगत मल्लले नेतृत्व गरे । हाल क्लबको चक्र चिमला क्षेत्री क्लबको अध्यक्ष छन् ।
क्षेत्री नेतृत्वमा आउनु अघि क्लबले वडा तथा नगर कप सञ्चालन गर्दै आइरहेको थियो । हाल कोहलपुर नगर खेलकुद विकास समितिको अध्यक्षसमेत रहेका क्षेत्रीकै अगुवाइमा वि.स.२०७९ सालमा सुरु भएको हो ‘कोहलपुर गोल्डकप’ । कोहलपुरमा पहिलोपटक क्लबको आयोजनामा २०७९ चैत ४ गतेदेखि ११ गतेसम्म प्रथम कोहलपुर गोल्डकप भएको थियो । एफसी क्लब क्यामरुन प्रथम संस्करणको विजेता हो । कपको दोस्रो संस्करण मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि भने त्रिभुवन आर्मी क्लबले जितेको थियो ।
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा भने घाना र भारतसहितका क्लब गरेर आठ टोली सहभागी हुँदैछन् । त्यस अलवा क्लबले हाल १ सय जना भन्दा बढी खेलाडीहरूलाई दैनिक व्यवस्थित रूपमा प्रशिक्षण प्रदान गर्दै आएको छ । त्यसमा ७७ जना त ग्रासरुट तहका खेलाडी रहेका छन् ।
१९ वर्षको उमेर समूहसम्मका खेलाडी उत्पादन गरिरहेको क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले बताए । क्लबकै प्रशिक्षण लिएका खेलाडीहरू अन्डर १९ को राष्ट्रिय टिमसम्म पुगेको अध्यक्ष क्षेत्रीले बताए । जयप्रकाश बम एक उदाहरण हुन् । अन्य थुप्रै खेलाडीहरूले नगर, जिल्ला तथा क्षेत्रीय प्रतियोगिता खेलिरहेका छन् । यस्तै बाँके जिल्लामा हुने विभिन्न प्रतियोगितामा क्लबका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आएको उनले बताए ।
प्याब्सन लगायतले आयोजना गर्ने खेलकुद प्रतियोगितामा साहाराकै खेलाडीहरूको दबदबा रहेको अध्यक्ष क्षेत्रीको दाबी छ । ग्रासरुट फुटबलको विकासकै लागि क्लबले दुई जना प्रशिक्षक नियुक्त गरेको छ । हाल क्लबसँग ‘बी’ र ‘सी’ लाइसेन्स प्राप्त प्रशिक्षक रहेका छन् । क्लबकै अगुवाइमा कोहलपुरमा २८ वर्षपछि ‘डी’ लाइसेन्स ट्रेनिङ सुरु गरिएको थियो । कोहलपुरका मात्रै आठ जनाले प्रशिक्षक कोर्ष पूरा गरेका छन् । उनीहरूले अहिले विभिन्न विद्यालयहरूमा खेलाडीहरूलाई प्रशिक्षण गराइरहेका छन् ।
‘क्लबमा फुटबल सिक्नको लागि केटीहरूसमेत आइरहेका छन् । हामीसँग महिला प्रशिक्षक छैन् । त्यसैले सिकाएका छैनौँ । अबको केही सयमा प्रशिक्षक नियुक्त गरेर सिकाउने योजना छ ।’ अध्यक्ष क्षेत्रीले मिसन टुडेसँग भने ।
कोहलपुर नगरपालिका : खेलकुद मैत्री स्थानीय तह
कोहलपुर नगरपालिकाको चालू आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रमको छैटौँ प्राथमिकता हो, खेलकुद । कुल चार बुँदामा खेलकुदको विकासलाई समेटेको नगरपालिकाले कोहलपुर क्षेत्रभित्रको तेह्र बिगाह मैदानमा प्याराफिटसहितको रंगशाला निर्माण गर्ने उल्लेख गरेको छ ।
समग्र खेलकुदको विकासका लागि नगरपालिकामा खेल प्रशिक्षकहरूको व्यवस्था गरी विद्यालयहरूमा घुम्ती प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । खेलकुदलाई प्राथमिकताका साथ अघि बढाउन र खेल जगतमा राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा ख्यातिको प्राप्ति सुनिश्चित गर्न उत्कृष्ट खेलाडी छनौट गरी सम्मान गर्ने नीति लिइएको छ ।
नीति तथा कार्यक्रम अनुसार कोहलपुर नगरपालिकाले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेण्डर पूजा राना र नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष क्षेत्रीले जानकारी दिए । खेलकुदमा स्थानीय जनशक्ति उत्पादन तथा विकास गर्न मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता र सुशील कोइराला राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने उल्लेख छ । यतिमात्रै होइन कोहलपुर स्थानीय सरकार र क्लब तथा शैक्षिक संगठनहरूबाट प्रतियोगिता नै प्रतियोगिता हुने गरेका छन् ।
कोहलपुर मेयरकप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगिता–२०८१, उपमेयर कप क्रिकेट प्रतियोगिता, प्याब्सन र एन प्याब्सन खेलकुद प्रतियोगिता, स्व. वीरेन्द्र शाही स्मृति क्रिकेट प्रतियोगिता, मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता र सुशील कोइराला राष्ट्रिय क्रिकेट प्रतियोगिता लगायतका प्रतियोगिता हुँदै आएका छन् । ती मध्ये स्व. वीरेन्द्र शाही स्मृति क्रिकेट प्रतियोगिता चलिरहेको छ ।
सुशील कोइराला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय कोहलपुर क्रिकेट मैदान रहेको छ । त्यस अलवा अन्य खेलकुदका संरचना नगरपालिकाले निर्माण गरिरहेको छ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य भोजराज शाही बाँके जिल्लामै कोहलपुर नगरपालिकाले खेलकुदमा गरिरहेको लगानी प्रंशसायोग्य रहेको बताउँछन् ।
उनका अनुसार पश्चिम क्षेत्रमा खेलकुदमा खुलेरै लगानी गर्नेमा कोहलपुर नगरपालिका अग्रणी स्थानमा छ । जिल्लाका अन्य पालिकाले खेलकुुद विकासमा कोहलपुरले लिएको नीतिबाट पाठ सिक्नुपर्ने उनी बताउँछन् । नगर खेलकुद विकास समितिका अध्यक्ष क्षेत्री त शिक्षा र खेलकुदमा सबैभन्दा बढी लगानी गर्ने स्थानीय तहको रूपमा कोहलपुर नगरपालिका रहेको बताउँछन् । उनका अनुसार कोहलपुर नगरपालिकाका अहिलेका जनप्रतिनिधि कोहलपुरलाई खेलकुद हबको रूपमा विकास गर्न लागिपरेका छन् ।
‘कोहलपुरले खेलकुदमा अथाह लगानी गरेको छ । कोहलपुरका खेलाडीहरूमा क्रिकेट, फुटबल, एथ्लेटिक्स, तेक्वान्दो, मार्सलआर्ट लगायतमा उत्कृष्ट स्थान हासिल गर्दै आएका छन् । कोहलपुरले खेलकुदमा आफ्नो आफ्नो पहिचान बनाइसकेको छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्