बाँसगढी प्रिमियर लिगः बाँसगढी रोयल टाइगर्स र बाँसगढी राइनोज विजयी



मधुर पौडेल । बाँसगढी (बर्दिया) ।

बाँसगढीमा जारी बाँसगढी प्रिमियर लिगको समूह चरणको खेल शनिबार सम्पन्न भएको छ । शनिबार भएको पहिलो खेलमा बाँसगढी राइनोज र बाँसगढी ब्ल्याक बक्स स्ट्राइकर्सबीच खेल भएको थियो । टस जित्दै पहिला ब्याटिङ रोजेको बाँसगढी राइनोजले निर्धारित १४ ओभरमा ११२ रनको उत्कृष्ट योगफल तयार ग¥यो । ब्याटिङतर्फ कप्तान सिद्धान्तराज शाहीले नटआउट ४० बलमा ८२ रनको विस्फोटक पारी खेले ।

सहयोगमा अशिम गिरिले १२ रन जोडे । बलिङतर्फ ब्ल्याक बक्सका रोहन खत्रीले ३ विकेट र आकाश बिष्टले १ विकेट लिए । जवाफीरूपमा ब्याटिङ गर्न आएको ब्ल्याक बक्स स्ट्राइकर्स ८६ रनमै समेटियो र खेल २६ रनले गुमायो । ब्याटिङतर्फ सौगात रानाभाटले २४ रन प्रहार गरे ।बलिङतर्फ राइनोजका निखिल धनकुटाले ३ विकेट, निशान्त आचार्यले २ विकेट र सनम बुढा तथा सुरज भण्डारीले समान १–१ विकेट लिएका थिए ।

८२ रनको कप्तानी पारी खेलेका सिद्धान्तराज शाही ‘बिहानी आर्ट म्यान अफ द म्याच’ घोषित भए । यस जितसँगै बाँसगढी राईनोज फाइनल प्रवेश गरेको छ । यस्तै दोस्रो खेल बाँसगढी रोयल टाइगर्स र ककौरा सुपर किङ्सबीच भएको थियो । टस जित्दै ब्याटिङ रोजेको रोयल टाइगर्सले १५ ओभरमै सबै विकेट गुमाउँदै ५८ रनको योगफल बनायो । ब्याटिङतर्फ लभकुश यादव र सुदिप रानाले समान १५–१५ रनको योगदान दिए ।

बलिङतर्फ सुपर किङ्सका अश्मित शाहीले घातक बलिङ गर्दै ४ विकेट, सौगात खत्रीले २ विकेट र अजय साहानी तथा प्रेम वलीले समान १–१ विकेट लिएका थिए । जवाफीरूपमा ब्याटिङ गर्न आएको ककौरा सुपर किङ्स ४४ रनमै समेटियो र खेल १४ रनले रोयल टाइगर्सले जित्यो ।सुपर किङ्सका विजय चौधरीले सर्वाधिक ३३ रन बनाए । बलिङतर्फ टाइगर्सका लभकुश यादव र नवीन न्यौपानेले समान ३–३ विकेट, निर्मल गुरुङले २ विकेट र समीर आचार्य तथा सुदिप रानाले समान १–१ विकेट लिएका थिए । १५ रन र ३ विकेट लिएका लभकुश यादव ‘बिहानी आर्ट म्यान अफ द म्याच’ घोषित भए ।

बाँसगढी रोयल टाइगर्सका मालिक एकनारायण अधिकारीले टिमको प्रदर्शनप्रति उत्साह व्यक्त गर्दै भने, ‘बर्दिया, बाँके र कैलाली ३ जिल्ला जोडेको बिपिएलमा हाम्रो टिमले कठिन अवस्थामा समेत लडाइँको जुझारूपन देखायो । बिपिएल–३ ले बाँसगढीमा क्रिकेटको उत्साह नयाँ स्तरमा पु¥याएको छ । टिमका सबै खेलाडीहरूलाई म गर्व गर्छु र आगामी चरणमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छु ।’ आज आइतबार बाँसगढी रोयल टाईगर र माछागढ सुपर स्ट्राईक्रसबीच सेमफाइनल खेल हुनेछ । यि दुई टिमबीच जुन टिम विजयी हुन्छ, त्यो टिम बाँसगढी राईनोजसँग फाइनल खेल खेल्ने छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार