होल्डिङ सेन्टरमा छैन दसैँको रौनक



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरस्थित बसापर्कमा निकै चहलपहल छ । बसपार्कमा दसैँ मनाउन जन्मथलो फर्किनेहरूको घुइँचो छ । त्यहाँबाट दैनिक हजारौँ नागरिक ओहोरदोहोर गर्छन् । तर, बसपार्कभित्रै रहेको टर्मिनल भवनभित्र सन्नाटा छ । जहाँ पाँच महिनादेखि सुकुम्वासी बसोबास गरिरहेका छन् । २०८३ वैशाख २६ गते कोहलपुर नगरपालिकाले शान्तिनगर बस्तीमा डोजर लगाएपछि सयौँ नागरिकहर उक्त होल्डिङ सेन्टरमामा आश्रित छन् । बिहीबार बसपार्कस्थित होल्डिङ सेन्टरमा पुग्दा दसैँ आएको कुनै पनि छनक देखिँदैनथ्यो ।

कोही भुइँमा पल्टिएर सुतिरहेका थिए । कोही आफ्नो काममा व्यस्त थिए । ससाना बालबालिकाहरू भने आपसमा रमाउँदै थिए । होल्डिङ सेन्टरमा जाँदा दोस्रो तलाको सिँढीमै भेटिए १४ वर्षीय मनोज पुन मगर । उनी मोबाइलमा पब्जी गेम खेल्दै थिए । उनी होल्डिङ सेन्टरमा आफ्ना बाजे र बज्यैसँग बस्दारहेछन् । आमाबुवा भने विगत एक वर्षदेखि भारतमा मजदुरी गरिरहेको उनले बताए । यहाँ कत्तिको दसैँ लागेको छ ? भन्ने प्रश्नभन्दा बढी पब्जीलाई ध्यान दिइरहेका उनले फ्वाट्ट भने,– ‘ठिकै छ ।’ उनले अनायासै ठिकै छ त भने तर त्यहाँ बसिरहेका सुकुम्वासीहरूको अवस्था निकै दयनीय छ ।

त्यहाँ रहेका हरेक कोहीले आफू नागरिक हुनुको मूल्य खोजिरहेका छन् । साथै खोजिरहेका छन् कुनै पनि सार्वभौम नागरिक हुनुको अर्थ । नागरिक हुनुको अर्थ एक थान लालपुर्जा हुनु मात्रै होइन रहेछ । गास, बास र कपासको ग्यारेन्टी हुनुपर्ने रहेछ । होल्डिङ सेन्टरका १०४ घर परिवारलाई यी सबै कुराको अभाव छ । त्यही अभावको रामकहानी सुनाइन्,– कविता सुनारले । उनले सुरुमै बस्ने र खाने कुनै पनि टुंगो नभएको बताइन् । मलिन स्वरमा उनले भनिन्, ‘जीवनभर दुःख गरेर बनाएको झुप्रो सरकारले भत्काइदियो । यहाँ कैदी बनाएर राखेको छ । त सोच्दासोच्दै डिप्रेसनमा गइसकेँ ।’

मस्तिष्कसम्बन्धी समस्या भएकी उनलाई धेरै सोच्न र कोलाहलमा बस्नै मिल्दैन । त्यसैले बसपार्कनजिकै कोठा भाडामा बस्छिन् । तर हरेक दिउँसो भने कविता साथीहरूसँग गफिन आउँछिन् । आफ्नै जीवनप्रति दिग्दारी पोख्दै उनले भनिन्, ‘हामीलाई दसैँ होइन दशा हो । हामीलाई के को दसैँ हजुर ।’ उनले सुस्केरा हालिन् । उनीसँगै रहेकी बिर्माकुमारी डाँगीको दुःख पनि कम्ता पीडादायी छैन । टाउकोमा हात राख्दै उनले भनिन्, ‘मेरो त भाग्य नै अभागी रहेछ हजुर । जवानीमै लोग्नेले छोडे । दुःखजिलो गरेर छोराछोरी हुर्काएँ ।

बुढेसकालमा यहाँ बस्नु परेको छ । कति बेला स्वास फुत्किन्छ आनन्दै हुन्थ्यो ।’ बिर्माका अनुसार साँझ बिहान के खाने भन्ने टुंगो छैन । देशभर दसैँको खुसी छाइरहँदा कोहलपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेकाहरूको दैनिकी भने अभाव र अनिश्चयमै बितिरहेको छ । पाँच महिना बितिसक्दासमेत स्थायी बसोबासको टुंगो नलाग्दा यहाँका सुकुम्वासी अनिर्णयको बन्दीजस्तै भएका छन् । तर, आशा मारेका छैनन् । सरकारले कुनै न कुनै दिन आफूहरूको दुःख सुन्ने अभिलाषा बोकेर बसिरहेका छन् दसैँको मुखैमा । होल्डिङ सेन्टरमा उनीहरूलाई परिवारको गुजारा चलाउनसमेत समस्या छ । चाडपर्व मनाउने रहर भए पनि दैनिक आवश्यकता पूरा गर्नुपर्ने बाध्यताका कारण उनीहरूको खुसी नै खोसिएको छ ।

होल्डिङ सेन्टरमा बसिरहेकी कल्पना कामी भन्छिन्, ‘सानो झुप्रो भइदिएको भए पनि सानो परिवार खुसी हुन्थ्यौँ होला । अब बस्ने झुप्रो नै छैन । के को दसैँ मनाउने, के तिहार मनाउने । हामीलाई केही पनि मतलब छैन । आफूहरूलाई बस्ने बास चाहिएको छ । बरु खाने गास नदेओस् । हामी दुःख गरेर कमाउन सक्छौँ । होटलमा गएर भाँडा माझेर भए पनि छोराछोरी पाल्छौँ ।’ होल्डिङ सेन्टरमा बसिरहेकी देवी घर्ती सम्झिन्छिन्, ‘पोहोर साल त जमरा राख्ने दिनदेखि निकै उत्साहका साथ दसैँको तयारी गरेका थियौँ । पूजापाठ, नुवाइधुवाइँ र सरसफाइ सम्पूर्ण कर्म गरेको हो । अर्काको घरमा कसरी राख्ने ?’

होल्डिङ सेन्टरको उकुसमुकुस

बसपार्कस्थित टर्मिनल भवनको होल्डिङ सेन्टरको दोस्रो तलामा बसोबास गरिरहेकी शान्ति घर्तीलाई दसैँ आएको अनुभूति नै भएको छैन । उनका अनुसार गत वर्ष सानो झुप्रो भए पनि आफ्नै घर थियो । घर नहुँदा आफूले निकै सास्तीको जिन्दगी भोगिरहेको उनको भनाइ छ । देवी घर्तीले सुनाइन्, ‘यहाँ बसिरहेका छौँ । यसैमा खुसी छौँ भन्नैप¥यो । यस्तो अवस्थामा के को दसैँ, तिहार हुन्थ्यो अब । गाउँघर भएको भए, आफ्नै घर भएको भए त रीतिरिवाजअनुसार मनाइन्थ्यो ।’

हुन पनि त्यहाँ पुग्दा नागरिकहरूको विवशता र उकुसमुकुस देख्न सकिन्छ । लाग्छ, उनीहरूले कसरी पो झेलेका होलान् यस्तो सास्ती । दसैँमा मिठो खाने र नयाँ लुगा लगाउनुका साथै परिवारसँग रमाइलो गरिन्छ । होल्डिङ सेन्टरमाका सुकुम्वासीहरूले भने अहिले आवास र जीविकोपार्जनको समस्या भोगिरहेका छन् । आफूहरूको अहिलेको मुख्य आवश्यकता नै साँझ बिहानको एक गास भएको बताउँछिन्, दिपिका मगर । उनले भनिन्, ‘जाम भने ठाउँ छैन् । बसम् भने यहाँको स्थिति नाजुक छ ।’ मिना दमाईलाई यसपटक आमाबुबा र सासुससुराको श्राद्ध नै गर्न नपाएकोमा पछुतो रहेछ । होल्डिङ सेन्टरमा कसरी गर्ने यस्तो काम । तर, सरकारको दयाले घर मिल्ने आशामा बसेको छ, उनको परिवार ।

कोहलपुर नगर विकास समितिको २८ बिघामा बसोबास गर्दै आएका ७५३ घरपरिवारलाई कोहलपुर नगरपालिकाले डोजर लगाएर उठिबास लगाएपछि सुकुम्वासीहरू अहिले बिलखबन्दमा परेका छन् ।
सरकारले उचित व्यवस्थापन गर्ने आशा कायमै २०८३ वैशाख २६ गते कोहलपुर नगरपालिकाले नगर विकास समितिको स्वामित्वमा रहेको २८ विगाहा क्षेत्रफलमा वर्षौदेखि बसोबास गरिरहेको बस्तीमा डोजर लगाएको थियो । नगरपालिकाले डोजर लगाएपछि कूल ७५३ घरधुरी विस्थापित भए । त्यहाँ ३० वर्षदेखि सुकुम्वासी, अव्यवस्थित बसोबासी तथा दलित सुकुम्वासी बस्दै आएका थिए ।

कोहलपुर नगरपालिकाले २०८० भदौमा गरेको पारिवारिक लगत संकलनमा शान्तिनगर क्षेत्रमा ४१६ अव्यवस्थित बसोबासी, १७२ भूमिहीन दलित र १६३ भूमिहीन सुकुम्वासी थिए । अहिले भने कोहलपुर बसपार्कस्थित होल्डिङ सेन्टरसहित तीन वटा ठाउँमा सुकुम्वासीहरूलाई राखिएको छ । बसपार्कस्थित सटरमा १७, दीप शिखा स्कुलमा १४, पुरानो बसपार्कमा २ जनाको परिवार र बाँकी टर्मिनल भवनमा बसोबास गर्दै आएका छन् । होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्वासीहरूका अगुवा गोविन्द परियार यहाँको अवस्था के छ भन्ने प्रश्न नै डिप्रेसनमा पार्ने खालको भएको बताउँछन् ।

उनका अनुसार होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरूको अभावको सूची भने लामै छ । ‘सरकारले उपेक्षा ग¥यो । मिडियाले हाम्रो आवाज कहिल्यै बोल्दिएन । स्थानीय सरकारले केही गर्छु भनेको छ । केही गर्छ कि ?’ आशा व्यक्त गर्दै उनले भने । सुकुम्वासीको व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाले गठन गरेको एक समितिका संयोजकसमेत रहेका परियारले वास्तविक सुकुम्वासीहरूको पहिचान गर्ने कार्य भइरहेको नगरपालिकाले बताएको उनले बताए । ढिलोमा तिहारसम्म कोहलपुर नगरपालिकाले अध्ययनको काम सक्ने बताएको परिवारको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १ गते शनिबार