मनै लोभ्याउने गाभर उपत्यका



कोहलपुर/  बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित गाभर क्षेत्र पछिल्लो समयमा आर्कषणको केन्द्रविन्दु बन्दै गएको छ । शितल मौसम चारैतिर हरियाली वातावरण मिश्रित बस्ती तथा नजिकै देखिने आर्कषक चुरे पहाडका कारण सो क्षेत्रले जो कोहीको मनलार्ई पनि सजिलै आकर्षण गर्न सक्छ । सो क्षेत्रमै फस्टाउँदै गएको होमस्टेका र अर्गानिक भोजनका पारखीहरुका लागि गाभर उपत्यका क्षेत्र सबैको मन लोभ्याउने केन्द्रबिन्दु बनेको छ ।

कोहलपुर सुर्खेत रत्न राजमार्ग खण्डमा पर्ने गाभरचोक देखि करिब १ किलोमिटर उत्तरतर्फ अवस्थित रहेको निकै सफा र सुन्दर गाभर उपत्यका क्षेत्र प्रकृति पे्रमीहरुका लागि नयाँ गन्तव्य बनेको छ । थारु मुगाली र हुम्ली लगायतको मिश्रित बस्ती र संस्कृति रहेको सो स्थानमा विभिन्न जिल्लाहरुबाट आउने पर्यटकहरुको संख्यामा उल्लेख वृद्धि भएको छ ।

गाभर उपत्यका क्षेत्रमा रहेका आधुनिक तथा मौलिक होमस्टे बृहत जैविक पार्क अष्ट्रिच फार्म तथा आर्कषक र शान्त वातावरणले पनि सबैको मन तानिरहेका छन् ।

गाभर उपत्यका होम्स्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले सो क्षेत्रमा रहेको मनोरम दृश्य सहितको एकान्त वातावरणका कारण सबैको मनलाई गाभर उपत्यकाले आर्कषण गरेको बताए । अबको केही समय भित्र पर्यटकहरुका लागि साईकिलिङ्ग, हर्सराईडिङ संचालन गरिने बताए । साथै सो क्षेत्रमा रहेको मनोरम वातावरण अवलोकनका लागि जिप सफारी समेत तत्काल सुरु गरिने चौधरीको भनाई छ ।

सो उपत्यका क्षेत्रमा विभिन्न वन्यजन्तुहरुको नामबाट चोकहरुको नामाकरण गरिएको छ भने त्यहाँको फोहोर व्यवस्थापनका लागि सबैको घर अगाडि डस्टबिनको समेत व्यवस्थापन गरिएको छ । गाभरभ्याली होमस्टेमा निर्मित मचान उपत्यका अवलोकनको केन्द्र बनेको छ । चारैतिर लहलह पसाई रहेका धानका बोटहरुका कारण गाभर उपत्यका स्मरण योग्य क्षेत्र बनेको छ ।

गाभर उपत्यका क्षेत्रको विकासका लागि स्थानीय स्तरबाट समेत विभिन्न प्रयासहरु सुरु गरिएका छन् । लायन्स क्लब स्थानीय सामुदायिक वन तथा स्थानीयाबसीरुले सो क्षेत्रको विकासका लागि सक्रिय भुमिका निर्वाह गरिरहेका छन् । बैजनाथ गाउँपालिकाले गाउँपालिका भित्र रहेका पयर्टकिय क्षेत्र विस्तारका लागि आगामी वर्षका लागि करिब १५ लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ २ गते शनिबार