कोहलपुर/ वडा कार्यालयले न्यानो कपडा वितरण गरेपछि कोहलपुर नगरपालिका वडा नं.२ का जेष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् । अत्याधिक चिसो बढिरहेका बेला वडा कार्यालयले आफ्नो वडाभित्र रहेका एक सय बढी जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेपछि उनीहरुले खुसी व्यक्त गरेका हुन् ।
कोहलपुर–२ मनकामना चोकमा आयोजना गरिएको न्यानो कम्बल वितरण तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी ७५ वर्षीया जेष्ठ नागरिक जोख्नी थारुले चिसो बढेर बुढापाकाहरुलाई समस्या भइरहेको बेला वडा कार्यालयले गरेको कार्यप्रति खुसी व्यक्त गरिन् । उनले भनिन् ‘धैरे खुसी लागेको छ, हामी वृद्धवृद्धाहरुलाई पहिले भन्दा अहिले धेरै सहज छ । स्थानीय सरकार आएपछि कहिले कम्बल दिन्छन्, कहिले औषधी गरिदिन्छन् ।
घरआँगन मै सेवा पाइएको छ ।’ यस्तै अर्का ७९ वर्षे जेष्ठ नागरिक चित्र बहादुर गिरीले आफू जस्ता बुढापाकालाई धेरै राहत हुने बताए । उनले भने ‘चिसो बढिरहेको छ, यस्तो बेला हामीहरुलाई साह्रै गाह्रो हुन्छ, वडा कार्यालयले दिएको यो कपडाले धेरै राहत मिल्छ ।’ यस्तै सोही वडाका ८२ वर्षीय कलाधर पाख्रेलले अहिलेको सरकारले जेष्ठ नागरिकहरुका लागि राम्रा राम्रा कार्यहरु गरेको बताए । असहाय तथा अशक्तहरुले पाउने सामाजिक सुरक्षा भत्ताहरु पनि बढाउँदै लिएकाले आफूहरुको लागि खुसीको कुरा भएको बताए ।
त्यस्तै ८१ वर्षीय हुमाकान्त न्यौपाले पनि सथानीय सरकार आएपछि आफूहरुलाई धरै सहज भएको बताए । पहिले आफूहरुले पाउने भत्ता पनि थोरै भएको त्यसमा पनि लिनका लागि धेरै टाढा जानु पर्ने बाध्यता रहेको सुनाए । उनले ‘थपे अहिले घरआँगन मै आउँछ, सरकारको जय होस्, हामीलाई धेरै राहत भएको छ ।’
वडा भित्र रहेका १०० बढी लाई न्यानो कपडा तथा फलफुल वितरण गरिएको र अन्य छुटेकाहरुलई पनि छिट्टै वितरण गरिने वडा सचिव चन्द्र बहादुर गिरीले बताए । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं.२ लाई विनियोजित गरेको दुई लाख रुपैयाँ बजेट अन्तर्गत उनीहरुलाई सम्मान गरिको वडा सचिव गिरीले जनकारी दिए ।

चिसोको समयमा थोरै भएपनि बृद्धबद्धाहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष कर्णसिंह वि.सी.ले बताए । ‘चिसो बढिरहेको छ, यो समयमा वृद्धवृद्धाहरुलाई बढि असर पर्ने गर्छ । त्यसैले यो कार्यले उनीहरुलाई केही मात्रामा भएपनि राहत मिल्ने छ’ उनले भने । जेष्ठनागरिकहरु समाजका धरोहर भएकाले उनीहरुलाइ सम्मान गर्नुपर्ने उनको धारणा थियो । आफ्नो सस्कार, परम्परा र संस्कृतिलाई भावी पुस्तामाझ हस्तान्तरण गर्नका लागि पनि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने वडा अध्यक्ष वि.सी.को भनाई थियो ।
उनले थपे ‘आज हामीले संस्कार बसाले भोलिका पुस्ताले पनि सिक्छन् ।’ आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता उनले बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जेष्ठ नागरिक, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्