झाडापखाला र टाइफाइडका विरामी बढे



नेपालगञ्ज/  गर्मी र बर्षाले नेपालगञ्ज मेडिकल कलेज नेपालगन्जमा झाडापखाला, टाइफाइड र छालाजन्य रोगका बिरामीको संख्या बढ्न थालेको छ ।

दूषित पानीको प्रयोग र घर बाहिरको अस्वस्थ खानाका कारण झाडापखाला र टाइफाइडका बिरामी अस्पतालमा बढेको चिकित्सकहरुले बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डाक्टर सुभाष योगीले बदलिएको मौसममा अस्वस्थकर खानेकुरा र सरसफाईको कमीका कारण विरामी बढेको बताए ।

सरसफाईमा ध्यान नपुग्दा बिशेष गरी बालबालिकाहरुलाई बढी झाडापखालाले सताउने गरेको नेपालगन्जका बाल रोग बिशेषज्ञ डाक्टर सकिल अहमदले बताए ।

उनका अनुसार बालबालिकाले प्याकेटका खानेकुरा धेरै खाने र खाना खानु अघि सफासित हात नधुने भएकाले उनीहरुलाई किटाणुले संक्रमण गरेको हो । छाला रोग विशेषज्ञ डा.कुमार पोखरेलले छालाका रोगी पनि बढेका बताए ।

झाडापखाला, टाइफाइड र हैजा जस्ता रोगको संक्रमणबाट बच्न खाना खानु र खुवाउनु अघि राम्रोसित सफा पानीले हात धुन, उमालेर मात्र खानेपानीको प्रयोग गर्न, दिनहुँ घरको खाना मात्र खान र बासी खानेकुरा नखान फिजिसियन डा. योगीको सुझाव छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ११ गते शुक्रबार