कविन्द्र परियार : कोहलपुर,९ बैशाख/ आधारभूत तहसम्म अनिवार्य निःशुल्क शिक्षा प्रदान गर्न भनेपनि बाँकेको राप्तीसोनारीका कतिपय समुदायिक विद्यालयले निजी स्रोत शुल्क भन्दै अभिभावकहरुबाट मनोमानी ढङ्गले चर्को शुल्क असुल्न थालेपछि अभिभावकहरु मारमा परेका छन् ।
सामुदायिक विद्यालयहरुले कुनैपनि शुल्क लिन नपाउने भएपनि विद्यालयहरुले आ—आफ्नै ढङ्गबाट शुल्क निर्धारण गरेर अभिभावकको नामबाट शुल्क लिने गरेको अभिभावकहरुले बताएका छन् ।
‘पहिले निजी विद्यालयमा छोराहरुलाई पढाईरहेकी थिए । सरकारीमा पढाउदा अलि आर्थिकभार पर्दैन होला भनेको त झनै मंहगो शुल्क तिर्नुपर्ने भो । के निशुल्क शिक्षा भन्नु’ राप्तीसोनारी —९ की अभिभावक गीता के.सी.ले भनिन् ।
अर्की अभिभावक सुष्मा परियारले पहिले सरकारी विद्यालयम भएपनि निजी विद्यालय भन्दा मंहगो शुल्क तिरेर छोरालाई विद्यालयमा भर्ना गर्नु परेको बताइन् । भर्ना निःशुल्क भनेपनि अभिभावकको नाममा रसिद काट्दा रहेछन् उनले भनिन ।
राप्तीसोनारी–९ स्थित जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक भद्र बहादुर के.सी.ले शिक्षक दरबन्दी अभाव भएर माध्यामिक तह सञ्चालनका लागि अभिभावकबाट निजीस्रोत सहायता शुल्क लिएको बताए ।
‘हामीलाई शिक्षक दरबन्दी को व्यवस्थापन गरिएमा हामी सबै शुल्क फिर्ता गर्न तयार छौँ’ उनले भने सो विद्यालयमा अहिले १० कक्षामा भर्ना हुन आउने विद्यार्थीको अभिभावकबाट १ हजार ८ सय रुपैयाँ लिने गरेको छ ।
त्यस्तै श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय महादेवाले कक्षा १ देखी नै रु १ सय ५० रुपैयाँ देखि ८ कक्षासम्म ८ सय ५० सम्म भर्ना शुल्क लिने गरेको पाइएको छ । विद्यालय सञ्चालन गर्नै कठिन भएपछि शुल्क लिनु परेको विद्यालयका प्रधानाध्यापक देवीराम थारुले बताए । विद्यालय सञ्चालन गर्नै कठिन भएपछि शुल्क लिनुपरेको विद्यालयले जनाएको छ ।
राप्तीसोनारी–९ कै गणेश माध्यामिक विद्यालयमा भने पूर्ण दरबन्दी तथा विद्यालयको कोष मजबुद हुदाँहुदै पनि कक्षा ६ देखि कम्युटर शुल्क भन्दै प्रति विद्यार्थी ५ सय रुपैयाँ सम्मका दरले रकम असुल गरेको पाइएको छ ।
गणेश मावि ढकेरी विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घन बहादुर वलीले विद्यालय व्यस्थापन समितिले निर्णय गरेरै अभिभावक सहयोग शुल्क भनेर लिने गरेको बताए । शिवशक्ति मावि पेरानीका प्रधानाध्यापक तथा गाउँ शिक्षा समितिका सदस्य ऋषीराज शर्माले ऐन निर्देशित गरे बमोमिज ९ र १० कक्षामा मात्र भर्ना शुल्क लिइएको र आधारभुत तहमा भने कुनै पनि शुल्क नलिएको बताए ।
यता राप्ती सोनारी गाउँपालिका प्रमुख तथा शिक्षा समितिका संयोजक लाहुराम थारुले राप्तीसोनारीका विद्यालयहरुले बाध्य भएर सो शुल्क लिएको बताउँदै बालबालिकाको नाम लेखाउने, मर्मत गर्ने शिक्षकलाई तलब खुवाउने जस्ता कामका लागि लिइएको भए तुरुन्त फिर्ता गराइने बताए ।
‘हामी अनुगमन गर्दैछाँै रकम लिएको भए अभिभावकलाई फिर्ता हुन्छ मैले निर्देशन दिईसकेको छु’ उनले भने । साथै शिक्षकहरुको व्यवस्थापनका विषयमा गाउँपालिकाले योजाना बनाएर जाने समेत बताए ।








प्रतिक्रिया दिनुहोस्