रूकुम पश्चिम ।
जिल्लाकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाका रूपमा निर्माण गरिएको स्यार्पू जलविद्युत आयोजनाले बिहीबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ । बाँफिकोट गाउँपालिका–३ स्थित स्यार्पू तालबाट बग्ने तिलिचा खोलाको पानी उपयोग गरी निर्माण गरिएको ३.३ मेगावाट क्षमताको आयोजनाले परीक्षण उत्पादन थालेसँगै जिल्लाको ऊर्जा विकासमा नयाँ चरण सुरु भएको हो ।
आयोजनाबाट उत्पादित विद्युत् परीक्षण सफल भएपछि नेपाल विद्युत् प्राधिकरणको आवश्यक अनुमति लिएर व्यावसायिक उत्पादनमा जाने तयारी गरिएको स्यार्पू पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर प्रदीप ओलीले जानकारी दिए । उनका अनुसार आयोजनाका संरचना, उपकरण तथा उत्पादन प्रणालीको प्राविधिक परीक्षणपछि नियमित रूपमा विद्युत् उत्पादन गर्ने प्रक्रिया अघि बढाइनेछ । परीक्षण उत्पादनलाई आयोजनाको निर्माण सम्पन्न भई विद्युत् प्रणालीमा जोडिनुअघिको महत्वपूर्ण चरणका रूपमा लिइएको छ ।
स्यार्पू जलविद्युत् आयोजना निर्माणमा करिब ६२ करोड रूपैयाँँ खर्च भएको कम्पनीले जनाएको छ । जिल्लाभित्रै उपलब्ध जलस्रोतलाई उपयोग गरी विद्युत् उत्पादन गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना लगानीका हिसाबले पनि स्थानीय तह र सरकारी निकायको सहभागितामा निर्माण भएको महत्वपूर्ण आयोजना हो । आयोजनाको लगानी संरचनामा संघीय सरकारको अर्थ मन्त्रालयको १ प्रतिशत र रूकुम पश्चिमका ६ वटै स्थानीय तहको ५४ प्रतिशत लगानी रहेको स्यार्पू पावर कम्पनी लिमिटेडका अध्यक्ष धनवीर ओलीले बताए ।
बाँकी ४५ प्रतिशत हिस्सा सार्वजनिक सेयरमार्फत सर्वसाधारणमा लैजाने तयारी गरिएको उनले जानकारी दिए । यसले आयोजनामा स्थानीय तथा सर्वसाधारणको प्रत्यक्ष स्वामित्व स्थापित गरेको उनको भनाइ छ । स्यार्पू जलविद्युत् आयोजनाको अर्को महत्वपूर्ण पक्ष यसको लगानीमा स्थानीय तहको उल्लेख्य सहभागिता हो । रूकुम पश्चिमका सबै ६ वटा स्थानीय तहले आयोजनामा लगानी गरेका छन् भने स्थानीय तहको लगानीबाट प्राप्त प्रतिफल जिल्लाकै विकासमा उपयोग गर्न सकिने अपेक्षा गरिएको छ ।
सार्वजनिक सेयरमा समेत हिस्सा विस्तार गर्ने तयारीसँगै आयोजना स्थानीय नागरिकको लगानी र स्वामित्वसँग जोडिने सम्भावना देखिएको छ । यसले जिल्लाभित्रै पूँजी परिचालन गर्ने र जलविद्युत्बाट प्राप्त हुने आर्थिक लाभ स्थानीयस्तरसम्म पु¥याउने बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ । रूकुम पश्चिममा जलस्रोतको सम्भावना भए पनि ठूलो क्षमताका जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनमा आउन सकेका थिएनन् । यस्तो अवस्थामा ३.३ मेगावाट क्षमताको स्यार्पू आयोजना परीक्षण उत्पादनको चरणमा पुग्नुलाई जिल्लाको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
परीक्षण उत्पादन सुरु भएसँगै अब आयोजनाको ध्यान प्राविधिक परीक्षण, विद्युत् उत्पादनको स्थायित्व र नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक प्रक्रिया पूरा गर्नेतर्फ केन्द्रित हुनेछ । परीक्षणका क्रममा उत्पादन प्रणालीले अपेक्षित रूपमा काम गरेमा प्राधिकरणको अनुमतिपछि व्यावसायिक उत्पादन सुरु गर्ने कम्पनीको तयारी छ । व्यावसायिक उत्पादनमा गएपछि आयोजनाले नियमित रूपमा ३.३ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।









प्रतिक्रिया दिनुहोस्