नन्दराम जैशी । सुुर्खेत ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व चयनको रस्साकस्सी तीव्र बनेको छ । महाधिवेशनको उद्घाटनदेखि उम्मेदवारी दर्तासम्मका कार्यक्रम सार्वजनिक भएसँगै काँग्रेसभित्र सभापतिदेखि सहमहामन्त्रीसम्मका आकांक्षीहरू आफ्नो राजनीतिक स्थान सुरक्षित गर्ने कसरतमा जुटेका छन् । आजबाट काठमाडौँको खुलामञ्चमा सुरु हुने महाधिवेशनले काँग्रेसको आगामी नेतृत्व र केन्द्रीय कार्यसमितिको स्वरूप निर्धारण गर्नेछ । नयाँ विधानअनुसार २४० सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ ।
त्यसमध्ये सभापतिसहित विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य गरी १७१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६१ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ । सात प्रदेश सभापति र प्रतिनिधिसभा संसदीय दलका नेता भने पदेन सदस्य रहनेछन् । महाधिवेशनको औपचारिक उद्घाटन खुलामञ्चमा हुने भए पनि नेतृत्व चयनको निर्णायक प्रक्रिया भने राष्ट्रिय सभागृहमा केन्द्रित हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार १९ असोज सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।
मनोनयन दर्ताको समय तोकिएसँगै लामो समयदेखि भित्रभित्रै चलिरहेको पदाधिकारीको शक्ति परीक्षण अब औपचारिक प्रतिस्पर्धामा परिणत हुने देखिएको छ । महाधिवेशनमा सभापति गगन थापालाई केन्द्रमा राखेर संस्थापन पक्षले आफ्नो टिमलाई निरन्तरता दिने संकेत गरेको छ । पार्टीका पदाधिकारी तथा नेताहरूले थापाको विकल्प नरहेको दाबी गरिरहेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँको खुलामञ्चमा तयारी पूरा गर्दै उद्घाटनस्थलमा मञ्च निर्माण, कुर्सीहरू व्यवस्थापन, झण्डा लगायतका सामग्री पनि राख्ने काम सकिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि ३५ सय रूपैयाँँ तोकिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । विसं २०३३ मा जननायक वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ को जनमतसङ्ग्रहका लागि पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन यहीँबाट गरेको उनले स्मरण गराए । साथै २०४६ को राजनीतिक परिवर्तनका लागि सर्वमान्य नेता गणेशमान सिंहले पनि खुला मञ्चबाटै आन्दोलनको उद्घोष गरेको चालिसेले बताए । यता अहिलेको नेतृत्व संरचनालाई कायम राखेर अघि बढ्ने तयारी भइरहेको काँग्रेसले जनाएको छ ।
काँग्रेस महामन्त्री गुरु घिमिरेले पनि सभापतिका विषयमा पार्टीभित्र ठूलो विवाद नरहेको दाबी गर्दै सकेसम्म सर्वसम्मत ढंगले अघि बढ्ने बताएका छन् । तर पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले भने सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, थापा र राठौरबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने सम्भावनाबारे काँग्रेसभित्रै फरक–फरक आकलन छ । यसले सभापतिको प्रतिस्पर्धाभन्दा पनि पदाधिकारी र केन्द्रीय कार्यसमितिको संरचनामा हुने शक्ति बाँडफाँटलाई थप महत्वपूर्ण बनाएको छ ।
उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसालले साविककै पदमा दोहोरिने तयारी गरेका छन् । झापा–१ बाट ६३८ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका शर्मा आफ्नो पक्षमा बलियो जनाधार देखाउने नेतामध्ये एक हुन् । भुसाल पनि अर्घाखाँचीबाट खस–आर्य महिला क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् । पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ भने उपसभापति वा महामन्त्रीमध्ये कुनै एक पदमा जाने तयारीमा रहेको बताइएको छ । उनले आफ्नो उम्मेदवारी सार्वजनिक नगरे पनि निकट स्रोतका अनुसार देशभरका नेताहरूसँग परामर्श गरेर निर्णय लिने तयारीमा छिन् । यस्तै, डा. मीनेन्द्र रिजाललाई पनि उपसभापतिको सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । यद्यपि रिजालले आफू कुनै पदको होडबाजीमा नरहेको बताएका छन् । अर्कोतर्फ देउवा समूह छाडेर संस्थापनतिर लागेका ज्ञानेन्द्रबहादुर कार्कीले भने उपसभापतिमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको स्पष्ट पारेका छन् ।
सहमहामन्त्रीमा सबैभन्दा ठूलो भिडन्त
काँग्रेसको नयाँ विधानले सहमहामन्त्रीको सङ्ख्या ११ पु¥याएपछि यो पदमा आकांक्षीहरूको सङ्ख्या पनि बढेको छ । आठ जना सहमहामन्त्री विभिन्न क्लस्टरबाट निर्वाचित हुने पुरानो व्यवस्था कायम राख्दै थप तीन जनाले मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ । थपिने तीनमध्ये एक महिला हुनुपर्ने व्यवस्था छ । यही कारण १५औँ महाधिवेशनमा सहमहामन्त्री पद काँग्रेसभित्र सबैभन्दा बढी प्रतिस्पर्धा हुने पदमध्ये एक बन्न पुगेको छ । केन्द्रीय सदस्य प्रतिमा गौतमले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन् ।
विशेष महाधिवेशनमा पनि सहमहामन्त्री बन्ने आकांक्षा राखेकी गौतम त्यतिबेला व्यवस्थापनका कारण केन्द्रीय सदस्यमा सीमित भएकी थिइन् । अहिले उनले पुनः सहमहामन्त्रीका लागि दाबी अघि सारेकी छन् । मुक्ताकुमारी यादवले भने आफूलाई महामन्त्रीमा अवसर मिले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने, अन्यथा सहमहामन्त्रीमै दोहोरिने रणनीति सार्वजनिक गरेकी छन् । योगेन्द्र चौधरीले पनि हालकै सहमहामन्त्री पदमा दोहोरिने इच्छा व्यक्त गरेका छन् । काँग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले मधेशी कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले खस–आर्य समूहबाट उम्मेदवारी दिने तयारी गरेका छन् । उनले सभापति र उपसभापतिहरूलाई समेत आफ्नो उम्मेदवारीबारे जानकारी गराइसकेको बताएका छन् । पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा र जीवनबहादुर शाहीबीच पनि प्रतिस्पर्धाको सम्भावना देखिएको छ । बुढा हालकै पदमा दोहोरिन चाहन्छन् भने शाहीले पिछडिएको क्षेत्रका आवाज र अवसरबाट वञ्चित समुदायका सवाललाई प्रतिनिधित्व गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका छन् । १४औँ महाधिवेशनमा यही क्लस्टरबाट शाही बद्री पाण्डेसँग पराजित भएका थिए । दलित क्लस्टरबाट लक्ष्मी परियारले उम्मेदवारीको तयारी गरेकी छन् । जनजाति क्लस्टरबाट चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठ र पिछडिएको क्षेत्रबाट नारायण भट्टराईको पनि दाबी देखिएको छ । विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका फरमुल्लाह मन्सुर र बहादुरसिंह लामालाई पनि पुनः प्रतिस्पर्धाका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।
महामन्त्रीमा पनि आकांक्षी बढ्दै
सभापति र सहमहामन्त्रीसँगै महामन्त्री पदमा पनि प्रतिस्पर्धाको चित्र बिस्तारै खुल्दै गएको छ । काँग्रेस नेता डा. सुनिल शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । मोरङ–३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा काँग्रेसलाई जनतासँग प्रत्यक्ष जोड्ने र दूरदराजका नागरिकका समस्या राजनीतिको केन्द्रमा ल्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन् । शर्माले आफ्नो राजनीतिक यात्रालाई लोकतान्त्रिक आन्दोलनसँग जोड्दै महामन्त्रीका रूपमा नयाँ अभियान अघि बढाउने बताएका छन् ।
२०५४ सालदेखि काँग्रेस राजनीतिमा सक्रिय रहेको उनको भनाइ छ । महामन्त्रीमा डिना उपाध्यायको सम्भावित उम्मेदवारीले पनि प्रतिस्पर्धालाई थप रोचक बनाउन सक्छ । तर उनले औपचारिक निर्णय सार्वजनिक गरेकी छैनन् । काँग्रेसभित्र महामन्त्री पदलाई आगामी संगठन निर्माण, जनसम्पर्क र नेतृत्वको दोस्रो तह निर्माणका दृष्टिले महत्वपूर्ण मानिँदै आएको छ । यस्तै, १५औँ महाधिवेशनको अर्को महत्वपूर्ण पक्ष नेताहरूको समूह परिवर्तन पनि हो । पूर्वसभापति शेरबहादुर देउवा समूहमा रहेका केही नेताहरू महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापनतिर आएका छन् ।
ज्ञानेन्द्रबहादुर कार्की यसको उदाहरण हुन् । १४औँ महाधिवेशनमा देउवा समूहबाट केन्द्रीय सदस्य निर्वाचित भएका कार्कीलाई सभापति थापाले महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । अहिले उनी उपसभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । यसले १५औँ महाधिवेशनमा केवल पदको प्रतिस्पर्धा मात्रै नभई विगतका समूहगत समीकरणको पुनर्संरचना पनि भइरहेको बताउँछ । विशेष महाधिवेशनपछि बनेको नयाँ शक्ति–सन्तुलनलाई संस्थागत गर्ने चुनौती संस्थापन पक्षसामु छ भने इतर समूहले आफ्नो राजनीतिक उपस्थिति कायम राख्ने रणनीति बनाइरहेको छ ।
इतर पक्षको छुट्टै तयारी
काँग्रेसभित्रको संस्थापन इतर पक्षले भने महाधिवेशनको आफ्नै तालिका सार्वजनिक गरेको छ । इतर पक्षले मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने निर्णय गरेको जनाएको छ । चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै डा. प्रकाशशरण महतले मंसिर तेस्रो साता महाधिवेशन गर्ने तयारी भएको जानकारी दिएका छन् । उनका अनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र छोटो समयमै संगठनात्मक प्रक्रिया अघि बढाउने तयारी छ । एकताको महाधिवेशनका लागि प्रयास गरिए पनि सम्भव नभएपछि ‘आपत््कालीन मोड’मा तयारी अघि बढाउनुपरेको महतको भनाइ छ । वर्षाका कारण केही काम प्रभावित भए पनि निर्वाचन अधिकृतहरू जिल्लामा पठाएर वडा अधिवेशनलाई तीव्रता दिने रणनीति इतर पक्षले बनाएको छ ।
यसले कांग्रेसको १५औँ महाधिवेशन नियमित नेतृत्व चयनको प्रक्रिया नरहेर पार्टीभित्रको शक्ति–सन्तुलन पुनर्निर्धारण गर्ने महत्वपूर्ण राजनीतिक मोड बनेको हो । काँग्रेसको १५औँ महाधिवेशनको बाह्य दृश्य खुलामञ्चमा देखिनेछ । तर वास्तविक राजनीतिक शक्ति परीक्षण भने राष्ट्रिय सभा गृहमा हुने मनोनयन र त्यसपछि हुने निर्वाचनमा देखिनेछ । २४० सदस्यीय केन्द्रीय कार्यसमितिको संरचना, थपिएका सहमहामन्त्री, विभिन्न समावेशी क्लस्टर, पदाधिकारीका आकांक्षीको बढ्दो सङ्ख्या र विगतका समूहगत समीकरणको फेरबदलले यसपटकको महाधिवेशनलाई काँग्रेसको आन्तरिक शक्ति पुनर्संरचनाको महत्वपूर्ण अवसर बनाएको छ । सभापति थापाको नेतृत्वलाई निरन्तरता दिने संस्थापन पक्षको तयारी, सभापतिमा वैकल्पिक दाबी, उपसभापति र महामन्त्रीका सम्भावित उम्मेदवार तथा सहमहामन्त्रीमा देखिएको बहुकोणीय प्रतिस्पर्धाले अन्तिम समीकरण मनोनयनपछि अझ स्पष्ट हुनेछ ।









प्रतिक्रिया दिनुहोस्