सरकारको कार्यशैलीप्रति विपक्षी दल असन्तुष्ट



काठमाडौँ ।

संघीय संसद् अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभामा प्रतिपक्ष दलहरूले सरकारको कार्यशैलीप्रति आलोचना गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका विपक्षी दलको नेता र उपनेताले सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका हुन् । बैठकमा विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल), नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका उप–नेता प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका नेता धुव्र राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सम्बोधन गरेका थिए ।

बिहीबारको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराम आङदेम्बेले सम्बोधन गर्दै बालेन्द्र शाह नेतृत्वको बहुमतको सरकारको ६ महिनाको समीक्षा गरेका थिए । प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता थापाले वर्तमान सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । बैठकमा बोल्दै उनले सरकारको पछिल्लो गतिविधिलाई ‘फासीवादी शासन’ को संज्ञा दिँदै सत्तापक्षले संसद्लाई केवल प्रतिछाँयाका रूपमा प्रयोग गरेको आरोप लगाए । सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै उनले विधि निर्माण प्रक्रियामा सत्तापक्षले संकुचित सोच राखेको आरोप लगाएका थिए ।

संसद्मा दर्ता भएका दर्जनौँ विधेयकहरूमा प्रतिपक्षको सुझावलाई स्थान नदिई सरकारले ‘एकाधिकार’ लादेको उनको दाबी रहेको थियो । उनले भने, ‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन, हामीले यसलाई भावी विजयको अवसरका रूपमा लिएका छौँ । लोकतान्त्रिक प्रक्रिया संवाद र सहमतिमा आधारित हुनुपर्नेमा सत्तापक्षले सङ्ख्या र शक्तिको दम्भमा विधेयकहरू पेलेर पारित गर्ने काम गरेको छ ।’ प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सरकार संसद्प्रति चरम उदासीन बनेको र मुलुकलाई अधिनायकवादी दिशातर्फ धकेलेको आरोप लगाएका छन् । बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ६ महिनाको अवधिमा आफ्ना प्रतिबद्धताहरू पूरा गर्न नसकेको बताएका हुन् ।

उनका अनुसार जनसरोकारका सवाललाई बेवास्ता गरेको तथा अर्थतन्त्रलाई संकटग्रस्त बनाएको दाबी गरेका हुन् ।चालू अधिवेशनको सुरुवात नै अस्वाभाविक ढंगबाट भएको टिप्पणी गर्दै उनले संसद् अधिवेशन आह्वानलगत्तै स्थगित गरेर अध्यादेश जारी गरिएको र कार्यपालिकाले व्यवस्थापिकालाई छल्ने तथा अपमानित गर्ने प्रवृत्ति देखाएको जिकिर गरे । प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको भनी संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति तथ्यहीन रहेको दाबी गर्दै उनले सो विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे ।

हालसम्म पूँजीगत खर्च चार प्रतिशत पनि हुन नसकेको, महँगी आकासिएको, राजस्व संकलनको लक्ष्य भ्रामक रहेको र रोजगारीको अभावमा युवाहरू विदेश पलायन हुने क्रम तीव्र बनेकाले सुशासनको नारा केवल प्रचारमा मात्र सीमित भएको दाबी उपनेता हमालले गरेका छन् । प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नै सरकार ढल्ने अवस्था आउन नदिन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले आगामी अधिवेशनमा पछिल्लो अधिवेशन जसरी हेलचेक्र्याँइ नगर्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले संसदको पछिल्लो अधिवेशनमा सरकारका मन्त्रीहरूबाट जबाफ पाइए पनि सरकार प्रमुखबाट जबाफ नपाइएको बताएका थिए । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेका छन् । बैठकमा बोल्दै विद्यार्थीलाई गोली हान्ने र सिंहदरबार जलाउनेलाई कारबाही हुनुपर्ने बताए । उनले भने, ‘आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले, प्रधानमन्त्रीले घाँटी सुकाई–सुकाई कराएका हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो ? कहाँ छन् आज तिनीहरू ? त्यो ७६ जना मान्छे जो मरे, तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइनन् ।’

वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन प्रकरण, गिरीबन्ध टी स्टेट, भुटानी शरणार्थी, क्यान्टोन्मेन्ट घोटालालगायत ६५ वटा ठूला भ्रष्टाचारका काण्डको पनि छानबिन गर्न माग गरेका थिए । यस्तै उनले सरकारको गलत कदमको विरोध गर्न नछाड्ने बताएका छन् । शाहीले दल प्रतिपक्षी भए पनि सरकारको सही कामको समर्थन गर्ने तर गलत कामको विरोध गरिरहने बताएका हुन् ।

संघीय संसद्का चालू दुवै अधिवेशन अन्त्य 

संघीय संसद्का चालू दुवै अधिवेशन अन्त्य भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै चालू अन्त्य गरेका हुन् । राष्ट्रपतिको कार्यालयले एक सूचना जारी गर्दै असोज १६ गते राति १२ बजेदेखि संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी दिएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रीपरिषद्को असोज १३ गतेको सिफारिसमा अधिवेशन असोज १६ गतेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । बजेट अधिवेशन पनि भनिने प्रतिनिधिसभाको दोस्रो अधिवेशन वैशाख २८ गते सुरु भएको थियो । यो अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको ६७ र राष्ट्रिय सभाका ५१ गरी कूल ११८ वटा बैठक बसेको सघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दोस्रो अधिवेशनमा कूल ६७ वटा विधेयक दर्ता भएका जानकारी दिए । प्रवक्ता गिरीका अनुसार चालू अधिवेशनबाट ११ वटा विधेयक पारित भएका छन् । तीमध्ये १४ वटा विधेयक संसदीय समितिहरूमा विचाराधीन छन् । सैद्धान्तिक छलफल भएका विधेयकहरूको सङ्ख्या ११ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार