रास्वपाले ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गर्ने



काठमाडौँ ।

जुम्लाको अर्गानिक स्याउ बाँड्दै सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । निकट भविष्यमा हुने स्थानीय तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट समिति, विभिन्न विभागको पूर्णताका साथै पार्टी कार्यालय सार्ने र सरकारका ६ महिने कामको समीक्षा गर्दै महत्वपूर्ण निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकले पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोट गर्ने समिति गठन गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, समितिमा मिलन लिम्बु, रहबर अन्सारी, डा. तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य रहेका छन् । सबै प्रदेशलाई समावेश गर्ने गरी समिति बनाइएको प्रवक्ता खरेलले बताए । उक्त समितिमा सातै प्रदेशका सभापतिहरू पदेन सभापति रहने व्यवस्था रहेको पनि उनले बताए । बैठकले पार्टीका विभिन्न १४ वटा विभागका प्रमुखहरू मनोनयन गरेको छ । १४ वटा विभागका प्रमुख र एउटा विभागमा उपप्रमुख मनोनयन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

यस्तै बैठकले १४ वटा विभागमा विभागीय प्रमुख, उपप्रमुख र सदस्यसमेत नियुक्त गरेको छ । प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभाग प्रमुखमा मनोहर प्रधान, कानुनी, मामिला तथा संस्थागत अनुपालन विभागको प्रमुखमा मोहनलाल आचार्य नियुक्त भएका हुन् । यस्तै, सामाजिक न्याय, लैंगिक समानता तथा समावेशीता विभाग प्रमुखमा रुविना आचार्य, सुशासन तथा राज्य व्यवस्थापन विभागमा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता र श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग प्रमुखमा दीपकुमार साहलाई नियुक्त गरिएको उनको भनाइ छ ।

यसैगरी, आपूर्ती, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको प्रमुख डा. धनन्जय रेग्मी र सदस्यमा सम्राट बुढाथोकी, वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी, सामाजिक, न्याय तथा समता प्रवद्र्धन विभागमा रिमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।

यस्तै आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरू केन्द्रित ‘हामी आउँदैछौँ’ अभियान यही असोज २० गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यका साथ रास्वपाले यो देशव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको हो । अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन पार्टीका सांसदहरू तथा केन्द्रीय सदस्यहरूलाई फरक–फरक जिल्लाको जिम्मेवारी तोकिएको छ । तोकिएका नेताहरूले तोकिएकै जिल्लामा पुगेर कार्यक्रमको नेतृत्व सम्हाल्नेछन् ।

रास्वपाले सांसद र केन्द्रीय सदस्यहरूलाई निर्धारण गरिएका जिल्लाहरूको विस्तृत तालिकासमेत तयार गरी सार्वजनिक गरेको छ । यस अभियानमार्फत पार्टीका शीर्ष तथा केन्द्रीय तहका नेताहरू प्रत्यक्ष रूपमा जनतामाझ पुग्नेछन् । पार्टीको केन्द्रीय कार्यालयका लागि जमिन÷घर खोजी गर्नका लागि पार्टी सदस्य र शुभेच्छुकहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी गराएका छन् । उनका अनुसार, पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै शनिबारको बैठकले सो निर्णय गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार