बाँके निकुञ्जमा जंगल सफारी सुरु



कोहलपुर ।
बाँकेको प्रमुख पर्यटकीय स्थल बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी सुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार एक कार्यक्रमका बिच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका थिए । कोहलपुर नगरपालिका १३ खड्कवारमा रहेको हात्तीसारबाट मुख्यमन्त्रीसहित अधिकारीहरुले हात्ती चढेर जंगल सफारीको औपचारीक उद्घाटन गरेका हुन् । भ्रमण वर्षको अवसर पारेर निकुञ्जमा हात्ती र जीप चढेर मुख्यमन्त्री, उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरी, सांसद महेश्वर गहतराज लगायतले केहीबेर सफारी गरेका थिए ।

मुख्यमन्त्रीलगायतले हात्ती सफारी गर्दा नजिकै निलगाई र चित्तल देखिएको थियो । अबदेखि निकुञ्जमा हात्ती र जीप मार्फत सफारी गर्न सकिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । ‘बाघका लागि बाँके निकुञ्ज उपयुक्त ठाउँ रहेको छ’ उनले भने, ‘तीन सय बढी प्रजातीका चरा, चौकालगायतका वन्यजन्तु रहेको निकुञ्जमा अब जंगल सफारी गर्ने पर्यटक बढ्ने आशा लिएका छौं ।’ सफारीको लागि कोहलपुर, १३ खड्कवार र राप्तीसोनारी गाउँपालिका ९ ढकेरीमा अहिलेलाई दुई÷दुई वटा हात्ती राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी बताए ।

‘अहिलेलाई हात्ती र जीप सफारीको लागि निकुञ्जभित्र आवश्यक पुर्वाधारहरु तयार गरिसकेका छौं’ उनले भने, ‘आवश्यक प्रक्रिया पुरा गरेर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म जंगलभित्र सफारी गर्न सकिनेछ ।’ सरकारले सार्वजनिक गरेको एक सय भ्रमण गन्तव्य मध्ये बाँके राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रलाई ५७ औं गन्तव्यमा राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई नै लक्षित गरेर बाँके निकुञ्जमा हात्ती र जीप सफारी सुरु गरिएको हो । पर्यटन व्यवसायी कृष्ण चौधरीले हात्ती र जीप सफारी सुरु भएसँगै बाह्य तथा आन्तरीक पर्यटकहरु बढ्ने बताए । ‘बुधबारको कार्यक्रमले बाँके निकुञ्जलाई चिनाउन मद्धत पु¥याएको छ’ उनले भने, ‘अझै पनी सरकारी र निजी क्षेत्र लागे पर्यटकहरुको आकर्षण केन्द्र निकुञ्ज बन्न सक्छ ।’

अहिले निकुञ्जमा पर्यटकको आगमनको तथ्यांक हेर्दा भने शून्य उपस्थिति देखिन्छ । आर्थिक वर्ष ०७४÷७५ मा २ जना मात्र विदेशी पर्यटक बाँके राष्ट्रिय निकुञ्जले अवलोकनका लागि पुगेका थिए । यस्तै, गत आर्थिक वर्षमा भने १४८ नेपाली, ११ जना सार्क राष्ट्र र एक जना मात्र एसिया बाहिरका पर्यटक घुम्न आएको निकुञ्जले जनाएको छ । निकुञ्जले पर्यटन पूर्वाधार समेत तयार गरिसकेको छ । पर्यटक मचान निर्माण, प्रतिक्षालय, हात्तीसार लगायतका पूर्वाधार समेत निर्माण गरिसकेको छ । निकुञ्जका अनुसार गस्ती गर्न तथा पर्यटकलाई जंगल सफारी गर्न सहज होस् भन्ने उद्देश्यले १० किलोमिटर वनपथ पनि निर्माण गरिएको छ ।

त्यस्तै मुख्य वनपथदेखि चुनभठी जाने, खैरीदेखि गन्धेली जाने र कुसुमदेखि मलई जाने बाटो गरी जम्मा २५ किमि गोरेटो बाटो निर्माण गरिएको छ । सुतैयादेखि गन्धेलीसम्मको मुख्य वनपथ तथा राजमार्गदेखि मुगुवा मचान जाने बाटो गरी जम्मा २५ किमि वनपथ मर्मत सुधार गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज नजिक घरवास छन् । घरवासमा स्थानीय परिकार खान पाइन्छ । जैविक विविधताको संरक्षण र विश्वमै दूर्लभ मानिएको पाटेबाघको संरक्षण गर्ने उद्देश्यले निकुञ्ज स्थापना गरेको हो । विसं २०६७ वैशाख ३० गते विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदी कालापत्थरमा बसेको मन्त्रिपरिषद् बैठकबाट निकुञ्जको घोषणा भएको थियो ।

यो निकुञ्जमा ८ प्रकारका पारिस्थितिकीय प्रणाली, ६ प्रकारका वनको किसिम र २६३ प्रजातीका वनस्पति छन् । यस निकुञ्जमा पाइने जैविक विविधता निम्नानुसार रहेको छ । बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटिएको छ । बाँके निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण बासस्थानका रूपमा लिइने गरिन्छ । २०१८ को बाघ गणना अनुसार निकुञ्जमा २१ वटा पाटेबाघ छन्

  • No tags available
प्रकाशित मिति : २०७६ पुस १७ गते बिहीबार