काठमाडौँ ।
नेपाल पुलिस क्लबको महिला भलिबल टोली माल्दिभ्समा फेब्रुअरी ४ (माघ २१ गते) देखि सुरु हुने काभा महिला च्याम्पियनसिप (काभा महिला क्लब भलिबल) खेल्न आइतबार राति त्यसतर्फ प्रस्थान गरेको छ । पुलिसले यसपटक न्यु डायमन्डका दुई र एभरेष्ट भलिबलका एक खेलाडी समावेश गर्दै बलियो टिम बनाएर माल्दिभ्स गएको छ ।
पुलिसले न्यु डायमण्डका कप्तान सलिना श्रेष्ठ र सुमित्रा रेग्मीसहित एभरेष्टकी मिना सुनारलाई काभा भलिबलका लागि टिममा समावेश गरेको हो । सलिना घरेलु भलिबलकी उत्कृष्ट लिबेरो हुन् भने सुमिता मिडल ब्लकर हुन् । यस्तै मिनाले ओपन स्पाइकरको भूमिका खेल्नेछन् । सुमित्राले यसअघि गत वर्ष पनि माल्दिभ्समा पुलिस क्लबबाटै काभा महिला क्लब भलिबल खेलेकी थिइन् । जहाँ पुलिसले उपाधि जितेको थियो । तीन खेलाडी अनुबन्ध गरेपछि पुलिसले टिम सन्तुलित बनाएको छ ।
कप्तान कमला पुन र सरस्वती कट्टेल सेटरमा छन् भने शान्तिकला तामाङसँगै सलिना लिबेरोको भूमिकामा हुनेछन् । सलिनाको कप्तानीमा रहेको न्यु डायमण्डले यस वर्ष घरेलु भलिबलमा लगातार तीन उपाधि जित्दै ह्याट्रिक गरेको थियो । केही दिनअघि मात्रै न्यु डायमन्डले पुलिसलाई नै पराजित गर्दै पोखरामा छैटौँ टाइगर कप भलिबलको उपाधि जितेको थियो । जहाँ सुमित्रा रेग्मी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
यस्तै मिडल ब्लकर सुमित्रालाई क्विकमा कोपाल राना र एलिसा मानन्धरको साथ हुनेछ । आउटसाइड हिटरमा उषा भण्डारी, पुनम चन्द, मिना सुनार र आशिषका तामाङ छन् भने अपोजिटमा कामना विष्ट, रिमा कुँवर र लक्ष्मी चन्द हुनेछिन् । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुलिस महिला भलिबल टोलीलाई आइतबार बिदाइ गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई सिंगो नेपाल र नेपालीको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी अन्तर्राष्ट्रियस्तरमा देश र संगठनको गौरव बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना समेत दिएका थिए ।
माल्दिभ्समा यही माघ २१ देखि २७ गते (फेब्रुअरी ४–१०)सम्म हुने काभा महिला क्लब भलिबलमा नेपालको नेपाल पुलिस क्लबसहित कूल ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । सुरुमा यो प्रतियोगिता नेपालमै हुने तय थियो । तर नेपालमा जेनजी आन्दोलनपछि सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा)ले प्रतियोगिता माल्दिभ्समा सारेको हो ।
सेन्ट्रल एसियाका १४ सदस्य राष्ट्रमध्ये ६ राष्ट्रका उत्कृष्ट टिमहरू माल्दिभ्सको मालेमा भेला हुनेछन् । आयोजक माल्दिभ्सकाट क्लब वाम्को र हुरा कम्युनिटी क्लब गरी दुई क्लब छन् । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’मा नेपालको पुलिस क्लब र माल्दिभ्सको हुरा कम्युनिटी क्लबसँगै उज्बेकिस्तानको हुमो भिसी र इरानको फुलोड मोबाराकेह सेपाहान क्लब छन् ।
यस्तै समूह ‘ए’मा माल्दिभ्सको क्लब वाम्कोसहित श्रीकंकाको हिर्दारामानी स्पोट्र्स क्लब र काजखस्तानको टुरान भिसी छन् । पुलिसले आफ्नो पहिलो खेल बिहीबार उज्बेकिस्तानको हुमोसँग खेल्नेछ । नेपाल पुलिस महिला भलिबल टिममा कमला पुन (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, कोपिला राना, शान्तिकला तामाङ, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, मिना सुनार, एलिसा मानन्धर, रिमा कुँवर, लक्ष्मी चन्द, आशिका क्षेत्री र सरस्वती कट्टेल रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्